काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘युद्धबन्दी गोर्खाली सैनिकका लोकगाथाहरू’ प्रकाशित गर्ने भएको छ ।
आजभन्दा एक सय वर्षअगाडि प्रथम विश्वयुद्धमा जर्मनीमा युद्धबन्दी बनाइएका गोर्खाली सैनिकहरूका आवाजमा रेकर्ड गरिएका लोकसामग्रीहरूको खोज–अन्वेषण गरी प्रज्ञा–प्रतिष्ठानले उक्त लोकगाथा प्रकाशन गर्न लागेको हो ।
अस्ट्रियाको भियाना विश्वविद्यालयकी प्राध्यापक डा. अलका आत्रेय चूडालद्वारा सङ्कलित तथा सम्पादित ती दुर्लभ लोकगाथाहरू आफ्नो विभागको संयोजनमा प्रकाशनमा ल्याउन लागिएको प्रज्ञा–प्रतिष्ठान, साहित्य (बालसाहित्य र लोकवार्ता) विभागका प्रमुख प्राज्ञ डा. देवी नेपालले जानकारी गराउनुभयो ।
नेपालले भन्नुभयो– “आजभन्दा एक सय वर्ष अगाडि अर्थात् सन् १९१४ देखि १९१८ का बिचमा जर्मनीको बर्लिनदेखि ४० किमी टाढा रहेको बुनस्फोट सहरको हाल्बमोन्डलागर नामक क्याम्पमा बन्दी बनाइएका गोर्खाली सेनाहरूले कहेका नेपाली लोककथा, लोकगाथा, लोकगीत, लोककविता र गाउँखाने कथाहरूको रेकर्ड गरेर जर्मनीको हुम्बोल्ट विश्वविद्यालयको ध्वनि सङ्ग्रहालयमा राखिएको रहेछ र त्यो आजसम्म पनि सुरक्षित रहेछ । यो जानकारी प्राप्त हुनासाथ उक्त सामग्री नेपाल र नेपालीका लागि अत्यन्त दुर्लभ, अज्ञात र आश्चर्यलाग्दो सम्पत्ति भएको हुनाले सङ्कलन गरी प्रकाशन गर्न लागिएको हो ।”
प्राज्ञ नेपालका अनुसार ‘जर्मन शिक्षक विलहेल्म डोगेनको सल्लाहमा सन् १९१५ अक्टुबरमा स्थापना भएको ‘रोयल प्रसियन फोनेटिक्स कमिसन’ संस्थाले विश्वका भाषाहरूको ध्वनि, उच्चारण र गीतसङ्गीत आदिको ध्वन्यात्मक रेकर्ड राख्ने उद्देश्यअनुसार सङ्कलन गरिएका १६०० भन्दा बढी सामग्रीहरूमा १०० भन्दा बढी लोकसामग्रीहरू गोर्खाली सेनाका स्वरमा रहेछन् ।
गोर्खालीहरूको रेकर्डको जिम्मा प्रा. हाइनरिख लुडर्स (१८६९—१९४३) लाई दिइएको रहेछ । संस्कृत, बङ्गाली, पास्तो भाषाका ज्ञाता र पछि गुरुङ भाषा पनि सिकेका उनले रेकर्ड गरेका सामग्रीहरूमा २६ लोककथा, ५० भन्दा बढी लोकगीत, लोकगाथा र लोककविता तथा केही गाउँखाने कथा गरी १०० भन्दा बढी सिर्जनाहरू रहेका छन् । तिनिहरुलाई ध्वनिबाट लिपिमा उतार्ने काम भइसकेको छ, अब चाँडै नै यसलाई प्रकाशनमा ल्याइने छ ।’
उक्त ऐतिहासिक महत्त्वको सामग्री सङ्कलनको जिम्मा पाएकी डा. आत्रेयका अनुसार ‘यी लोकसामग्रीहरूमा गोर्खाली सेनाका वेदना, परिवारको माया र गाउँको सम्झना जस्ता संवेदनशील कुराहरू समेटिएको हुनाले एकातिर यसको भाषिक, साहित्यिक र सामाजिक महत्त्व छ भने अर्कातिर आजभन्दा एक सय वर्ष पुरानो रेकर्ड भएको हुनाले यसको ऐतिहासिक र पुरातात्त्विक महत्त्व पनि रहेको छ ।’
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते