नेपाल फर्कन ठिक्क परेकी मेनुका एक वर्षदेखि बेलायती अध्यागमनको थुनामा

लण्डन । ‘बेलायतमा नेपाली घरभाडा तथा रोजगारका अवसरहरु’ नामक फेसबुक ग्रुपमा सोमबार दिउँसाे १२ बजे किरण भण्डारीको नामबाट एउटा सूचना पोष्ट भयो -मेरी श्रीमती एक वर्षदेखि हराइरहेकी छिन् कृपया खोज्नमा सहयोग गरिदिनुहोला ।

हातैले लेखिएको एक पेजको निवेदनमा उनले आफ्नो श्रीमती मेनुका बोहोरा क्षेत्री २०१९ मे २९ तारिखका दिन बेलायतबाट ओमान एयरमार्फत नेपाल आइपुग्नु पर्नेमा आइनपुगेको र परराष्ट्र मन्त्रालयमा सम्पर्क गर्दा पनि कुनै खबर नआएकाले फेसबुक ग्रुपका सदस्यहरुसित उनले खोजीका लागि गुहार मागेका थिए ।

भण्डारीका अनुसार उनकी श्रीमती २०७१ साल चैत ४ गते बेलायत आएकी थिइन् । यसबीचमा श्रीमान श्रीमतीका बीचमा फोनमा कुराकानी हुने गरेका थियो । सम्बन्ध राम्रै थियो । उनी नेपाल फर्कने पनि पक्का भएको थियो तर नेपाल फर्कने एक साताअघिबाट श्रीमतीको फोन लागेन । उनले युकेमा रहेका साथीहरुमार्फत श्रीमतीको खोजीको कोसिस गरे तर सफल नभए पछि फेसबुक ग्रुपमा सहयोग माग्न बाध्य भए ।

उनले श्रीमतीको तस्वीर र अन्य कागजातहरु पनि पोष्ट गरेका थिए । त्यसपछि ग्रुपका सदस्यहरुले बोहोरालाई चिनेको, सँगै बसेको, खोज्नमा सहयोग गर्ने आदि कमेन्ट गरे ।

झट्ट हेर्दा विश्वासिलो सूचना हो कि होइन भन्ने जस्तो लागे पनि भण्डारीले पोष्ट गरेको आफ्नो फोन नम्बरका अलावा अन्य कागजातले उनको याचना विश्वसनीय नै लाग्थ्यो।

मंगलबार दिउँसो उनले सोही ग्रुपमा एक म्यासेज लेख्दै नेपाली दुताबास लण्डनबाट खबर आएको र उनी कस्टडीमा रहेको बताइएको अपडेट गराए ।

नेपाली दुताबास लण्डनका प्रवक्ता शरदराज आरनले पनि वीनेपालीसितको कुराकानीमा मेनुका बोहोरा क्षेत्री बेलायतको अध्यागमनसम्बन्धी कानुन उल्ल‌ंघन गरेको अभियोगमा बेलायतमा थुनामा रहेको मंगलबार पुष्टी गरे । उनले दुताबासले उनीसित सम्पर्क गरिसकेको पनि बताए ।

बोहोरा विरुद्ध लागेको अभियोगका बारेमा अब अदालतबाट फैसला भएपछि मात्र नेपाल फर्कन मिल्ने पनि आरणले जानकारी दिए । फैसला हुन ८ महिनादेखि १८ महिनासम्म लाग्न सक्ने बताइएको छ । परिवारलाई सम्पर्क गर्नका लागि परिवारको फोन नम्बर पनि बोहरोलाई उपलब्ध गराइएको आरणले बताए ।

तर यहाँनिर श्रीमतीको खोजीका लागि भण्डारीले किन एक वर्षसम्म लगाए ? अनि परराष्ट्र मन्त्रालयले पनि किन बोहोराको अवस्था पत्ता लगाउन सकेन भन्ने चाहिँ सोचनीय छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री