दुई सय ५९ जना नयाँ सङ्क्रमित, उपत्यकामा ६२

corona

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । योसँगै हालसम्म जम्मा सङ्क्रमितको सङ्ख्या २१ हजार ९०० पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले देशभरका प्रयोगशालामा सात हजार ६८७ पिसिआर नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको बताए । हालसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ९२५ रहेको छ ।

त्यसैगरी काठमाडौँ उपत्यकामा विभिन्न सात परीक्षण केन्द्रमा गरिएको परीक्षणमा पछिल्लो २४ घण्टामा ६२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमा काठमाडौँमा ४८, ललितपुरमा एक तथा भक्तपुरमा १३ व्यक्तिलाई कोरोना सङ्क्रमण देखिएको हो । हालसम्मा चार लाख छ हजार ५९४ को परीक्षण गरिएको छ ।

सङ्क्रमितमध्ये १५ हजार २६ जना उपचार पछि निको भएर घर फर्केका छन् । आज थप एक जनाको कोरोनाको कारण मृत्यु भएको छ । मोरङ जिल्ला घर भएका ७७ वर्षका पुरुषको कोरोना सङ्क्रमणको कारण हिजो मृत्यु भएको हो । योसँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट ५८ जनाको मृत्यु भएको छ ।

सरकारले पछिल्लो समय काठमाडौँ उपत्यका प्रवेश गर्ने नाकामा पनि परीक्षण गर्न थालेको छ । परीक्षणको क्रममा आज नागढुङ्गामा एक हजार ३०७ जनामा गरिएको परीक्षणमा १६, फर्पिङमा तीन हजार ४८२ जनामा गरिएको परीक्षणमा १३ र साँगामा छ हजार ६४ जनामा गरिएको परीक्षणमा ११ जनामा पोजेटिभ देखिएको मन्त्रालयले जानकारी गराएको छ । हाल दश हजार ४५२ जना क्वारेन्टिनमा रहेका छन् । विगत २४ घण्टामा ६५ जना निको भएर घर फर्केका छन् ।

बालुवाटार, अख्तियार र परराष्ट्रका कर्मचारीको कोभिड–१९ परीक्षण

यसैवीच, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले तीन सरकारी कार्यालयमा काम गर्ने कर्मचारीको आज कोभिड–१९ को परीक्षण गर्नका लागि स्वाब सङ्कलन गरेको छ ।

महाशाखाले प्रधानमन्त्री निवास बालुवाटार, परराष्ट्र मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारीको कोभिड–१९ परीक्षणका लागि आज स्वाब सङ्कलन गरेको महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिए । उनकाअनुसार प्रधानमन्त्री निवास बालुवाटारका ६०, अख्तियारका ६० र परराष्ट्र मन्त्रालयका १८ जनाको स्वाब सङ्कलन गरिएको छ ।

महाशाखाका मेडिकल टेक्नोलोजिष्ट धनप्रसाद पौडेलका अनुसार बालुवाटारमा सुरक्षाकर्मी र कर्मचारी, अख्तियारमा थुनुवा र सङ्क्रमितको कन्याक्ट टे«सिङ गर्दा नजिक रहेका कर्मचारीको तथा परराष्ट्रमा जापानबाट आएका एक जनामा सङ्क्रमण भेटिएपछि उनी नजिकका कर्मचारीको परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ । यसअघि महाशाखाले अग्रपङ्क्तिमा काम हुने कार्यालय बैंक, मालपोत तथा नापी, यातायात कार्यालयमा काम गर्ने पाँच हजार कर्मचारीको पिसिआर परीक्षण गरेको थियो ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री