काठमाडौँ। आमनागरिकसँगै सुरक्षाकर्मीमा देखिएको पछिल्लो सङ्क्रमणले समेत जोखिम बढेको महसुस गर्न सकिन्छ । नेपाल प्रहरीको मुख्यालय प्रहरी प्रधान कार्यालयमा साउन ११ गते चार जनामा कोभिड–१९ देखियो । त्यसपछि कन्ट्रयाक्ट ट्रेसिङ गर्दा मङ्गलबारको परीक्षणमा थप ३१ जनामा कोभिड–१९ पुष्टि भयो ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक नीरजबहादुर शाही पछिल्लो चरणमा प्रहरीमा कोभिड–१९ सङ्क्रमण बढेको बताउनुहुन्छ । “पहिले पनि सुरक्षा मापदण्ड बनाएर काम गरिएको थियो, हेडक्वाटरमै सङ्क्रमण देखिएपछि अझै थप सावधानीका साथ खटिन निर्देशन दिएका छौँ”, शाहीले भन्नुभयो । मङ्गलबार सशस्त्र प्रहरीमा पनि एकजनामा कोभिड–१९ देखिएको छ । प्रहरीमा अहिलेसम्म २०६ जनामा सङ्क्रमण भइसकेको छ ।
अहिलेसम्मको प्राप्त विवरणअनुसार चार सुरक्षा निकाय (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग) का कूल ३८२ जनामा सङ्क्रमण देखिइसकेको छ । अझै पनि १४१ जना उपचाररत रहेका छन् तर जटिल खालका बिरामी भने नभएको जनाइएको छ । हालसम्म नेपालमा १९ हजारमा कोभिड–१९ देखिएकामा झण्डै १४ हजार निको भएर घर फर्किसकेका छन् । पाँच हजार उपचारमा छन् । कोरोनाका कारण ४९ जनाको निधन भएको छ ।
पहिले कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सरकारले जारी गरेको बन्दाबन्दीको आदेश कार्यान्वयन गर्न सुरक्षाकर्मी अग्रपङ्क्तिमा थिए । साउन ६ गतेदेखि लकडाउन अन्त्य भएसँगै मानिसको चहलपहल बढ्दा र व्यवसाय सञ्चालन हुँदा पनि अग्रपङ्क्तिमा खटिने सुरक्षा निकाय नै हो । त्यसकारण सुरक्षाकर्मी थप जोखिम हुने स्वास्थ्य विज्ञको भनाइ छ ।
सुरक्षाकर्मीले उपलब्ध व्यक्तिगत स्वास्थ्य सुरक्षा अपनाउँदै कार्यस्थलमा काम गरिरहे पनि कतिपय सुरक्षाकर्मीलाई कोभिड–१९ को सङ्क्रमण भएको छ । आम समुदायसँग नियमित सम्पर्कमा पुग्ने सुरक्षाकर्मीमा सङ्क्रमण हुँदा नागरिकमा सर्ने सम्भावना बढी हुन्छ ।
मानिसको भीडभाड रोक्नुपर्ने अवस्थामा सुरक्षाकर्मीले चाहेर पनि भौतिक दूरी कायम गर्न सकेका हुँदैनन् । अझै पनि सुरक्षामा अपनाउनुपर्ने मापदण्ड पूर्णरुपमा प्रयोग गर्न सकेका छ्रैनन् । सामान्य कपडाको मास्कमै कार्यस्थलमा खटिएका छन् । सङ्क्रमणको जोखिम हुन्छ भन्ने आँकलन गरेरै प्रहरीले उच्च मनोबलका साथ काममा खटिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल बताउनुहुन्छ । जोखिम रोक्न नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले आवश्यक क्वारेन्टिनको व्यवस्थापन गरेका छन् । घर बिदाबाट आएकालाई क्वारेन्टिनमा राखेर स्वास्थ्य मापदण्डअनुसार राखिन्छ ।
आजसम्मको प्राप्त विवरणअनुसार नेपाल प्रहरीका २०६ जनामा सङ्क्रमण देखिएको छ । अहिलेसम्म ९९ जना निको भएर घर फकिए पनि १०७ उपचाररत छन् । सीमा क्षेत्रको सुरक्षामा खटिएको सशस्त्र प्रहरीका ९२ जनामा कोभिड–१९ सङ्क्रमण भएको छ । उनीहरुमध्ये अझै २८ जना उपचाररत रहेका छन् । सीमा क्षेत्रमा प्रत्यक्षरुपमा मानिससँग सम्पर्कमा पुग्नुपर्ने भएकाले पनि सङ्क्रमण देखिएको सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक राजु अर्याल बताउनुहुन्छ ।
नेपाली सेनामा पनि सङ्क्रमण बढिरहेको छ । नेपाली सेनामा पहिलोपटक गत जेठ ३ गते सङ्क्रमण देखिएको थियो । त्यसयता अहिलेसम्म कूल ७९ जनामा सङ्क्रमण भइसकको छ । अहिलेसम्म ७२ जना उपचारपछि निको भएको र सात जनाको उपचार जारी रहेको नेपाली सेनाका सूचना अधिकारी सन्तोषबल्लभ पौडेल बताउनुहुन्छ ।
उहाँका अनुसार जनमानसमा सम्पर्कमा जानुपर्ने भएकाले पनि सुरक्षाकर्मीमा जोखिम कायमै छ तर पनि सेनाले कन्ट्रयाक ट्रेसिङ युनिटमार्फत नियन्त्रणको काम जारी राखेको छ । मुख्यगरी नेपाली सेनालाई भारतबाट आउने र तेस्रो मुलुकबाट आउने नेपालीलाई सुरक्षितरुपमा होल्डिङ सेन्टरमा ल्यएर सम्बन्धित क्षेत्रमा पठाउने जिम्मेवारी छ ।
त्यसपछि क्वारेन्टिन व्यवस्थापन र शव व्यवस्थापन सेनाको अर्काे जिम्मेवारी हो । सरकारले तोकेको अन्य काममा पनि नेपाली सेना सक्रिय छ । नागरिकको सम्पर्कमा जाँदा आवश्यक सावधानी अपनाउँदाअपनाउँदै पनि केहीलाई सङ्क्रमण देखिएको र त्यो नियन्त्रणमै रहेको पौडेलले राससलाई बताउनुभयो । उता राष्ट्रिय अनुसन्धान विभागका चार जनामा कोभिड–१९ देखिएको जनाइएको छ ।
मुलुकको शान्ति सुरक्षा कायम गर्न, आपराधिक घटना रोक्न, अन्य घटना हुँदा आम नागरिकले पहिले सम्झने नेपाल प्रहरीलाई नै हो । सामान्य भीडभाड, झै–झगडा, दुर्घटना, चोरी, झडप, मुलुकका महत्वपूर्ण निर्णय कार्यान्वयनमा नेपाल प्रहरी अग्रपङ्क्तिमा हुन्छ । त्यसैले अरु निकायमा भन्दा बढी प्रहरीमा सङ्क्रमण देखिएको छ । कोभिड–१९ को नियत्रणका लागि नेपालभर ४४ हजार बढी प्रहरी खटिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सुरक्षाको दोस्रो घेरामा सशस्त्र प्रहरी र त्यसपछि नेपाली सेनाले काम गरिरहेको छ ।
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
अक्टुबरको पलेँटीमा आउनुहुँदै ज्ञानु राणा
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान