सय दिनपछि इ‌ङ्गलिस प्रिमियरसिप फुटबल आज शुरु हुँदै

लण्डन । विश्वकै सर्वाधिक हेरिने फुटबल प्रतियोगितामध्ये एक इंगलिस प्रिमियरसिप कोरोना भाइरसको कारण एक सय दिन रोकिएपछि आज शुरु हुँदैछ ।

आज साँझ आस्टोन भिल्ला र सेफिल्ड युनाइटेड तथा म्यानचेष्टर सिटी र आर्सनल भिड्दै छन् । तर फुटबल म्याच पहिलेजस्तो दर्शकहरुको खचाखच भीडमा हुने छैन । न त खेलाडीहरुले हात मिलाउन नै पाउने छन् ।

बाँकी खेलहरु खाली स्टेडियममा खेलाइने छ । बढीमा ३०० जनालाई स्टेडियममा प्रवेश गर्न दिइने छ । स्टेडियममा रातो, पहेँलो र हरियो क्षेत्र छुट्याइएको छ । जहाँ जोसुकैले प्रवेश पाउने छैन ।

पहिले एक खेलमा तीन जना मात्र खेलाडी फेर्न पाइनेमा अब पाँच जनासम्म फेर्न पाइने छ । पहिले जगेडामा सातजना खेलाडी राखिने गरेकोमा अब नौ जना राख्न पाइने छ । खेलाडीहरुको खेलमैदानमा प्रवेश पनि सामाजिक दुरी कायम राखेर गराइने छ । त्यस्तै कर्नरमा राखिने झण्डा, गोलपोष्ट, खेलाडी फेर्न देखाइने बोर्ड र फुटबललाई खेल सकिएपछि र खेल शुरु हुनुअघि विशेष रुपमा सफा गरिने छ ।

खेलमा आउँदा र खेल सकिएपछि खेलाडीहरु फर्कँदा समेत सामाजिक दुरी कायम गरेर फर्कन पर्ने छ । अब खेल सकिएपछिको अन्तरवार्ता पनि भर्चुअल मात्र हुने छ ।

आजको पहिलो खेल शुरु हुनुपूर्व कोरोना भाइरसबाट बितेकाहरुको सम्झनामा एक मिनेट मौन धारण गरिनेछ भने मुटु आकारको बिल्ला एनएचएसका कर्मचारीहरुको अद्वितीय कार्यको सम्मानस्वरुप लगाइने छ ।

पहिलो १२ वटा खेलमा हरेक खेलाडीको जर्सीमा नामको स्थामा ब्ल्याक लाइफ म्याटर लेखिएको हुनेछ ।

प्रिमियर लिगका खेलाडी तथा अन्य कर्मचारीहरुको कोरोना परीक्षण हरेक सातामा दुई पटक गरिने गरिएको छ । जसमा पोजिटिभ देखिएकालाई सात दिन क्वारेन्टीनमा राखिने गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री