बेलायतबाट नेपाल लगिने व्यक्तिहरुको नामावली यसै साता तयार


लण्डन । बेलायतमा कोरोना संक्रमणबाट प्रभावित भएका नेपाली स्वदेश फर्काउन संयुक्त अधिराज्य बेलायतस्थित नेपाली राजदूतावास र गैरआवासीय नेपाली संघ (एनआरएनए) युके संयुक्त रुपमा सकृय भएका छन् । पराराष्ट्र मन्त्रालयले स्वदेश फर्किने नेपालीहरुको अद्यावधिक गर्न पाँच दिनको समयसीमा दिएपछि व्यक्तिहरुको लागत लिन थालिएको छ ।

सोमबार लन्डनस्थित राजदूतावासले शुक्रबारसम्म यहाँबाट अत्यावश्यक काममा नेपाल जानु पर्ने व्यक्तिहरुको लागत संकलन गरी नेपाल सरकारलाई बुझाउने छ । गत सोमबार दुतावासले जरुरी कामले नेपाल फर्कन चाहने नेपाली नागरिकहरुलाई आफ्नो विवरण उपलब्ध गराउन आह्वान गरेको थियो । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबमोजिम नेपाल जान चाहनेहरुलाई प्राथमिकताका आधारमा फर्काइन लागेको हो । दुतावास र एनआरएनए युके दुवैले विगतमा गरेको तथ्यांकलाई पनि अद्यावधिक गरी नेपाल सरकारले तोके बमोजिम थप विवरण भर्न थालेका छन् । राजदुतावासले मंगलबारसम्म करीब २  सय व्यक्तिहरुले आफ्नो विवरण पठाएको जनाएको छ । जसमा एनआरएनए युकेले दिएका १६४ जना पनि छन् ।

नेपाल सरकारले तोकेको मापदण्डअनुसार दुतावासले नेपाल फर्कन चाहनेहरुले आफ्नो नाम, राहदानी नम्बर, स्थायी ठेगाना, नेपाल फर्केपछि बस्ने ठेगाना, नेपालको टेलिफोन सम्पर्क, आफ्नै खर्चमा तोकिएको होटल क्वारेन्टिन वा स्थानीय तहले व्यवस्थापन गरेको क्वारेन्टिन कुनमा बस्ने हो खुलाउने, नेपाल फर्कनु पर्ने कारण, हाल आफू रहेको ठेगाना, सम्पर्क नम्बर र इमेल आदि उपलब्ध गराउन अनुरोध गरेको छ । त्यस्तो विवरण दुताबासको फेसबुक पेज, ट्वीटर, इमेलमार्फत पठाउन सकिने राजदूतावासका प्रवक्ता शरदराज आरनले जानकारी दिए ।

दुतावासले कार्यालयबाटै विभिन्न माध्यमबाट सम्पर्कमा आउने व्यक्तिहरु तथा सामाजिक संजालमार्फत सम्पर्कमा आउने व्यक्तिहरुको लागत राख्नु सुरु गरिसकेको प्रवक्ता आरनले बताए । राजदूतावासले आवदेन छानविन र बर्गीकरण गरी प्राथमिकताका आधारमा सूची तयार पार्नेछ । सोही सूचीका आधारमा नेपाल सरकारले उडान तालिका  तयार गरी विदेशबाट नेपालीहरुलाई फर्काउने योजना बनाएको छ । तर पनि, बेलायतको पालो कहिले आउँछ भन्ने थाहा हुन केही साता लाग्न सक्ने बताइन्छ । नेपाल सरकारले पहिलो चरणमा २५ हजार नेपालीहरुलाई फर्काउने योजना रहेको बताईसकेको छ ।

व्यक्तिगत विवरण अद्यावधिक सुरु

यसैबीच, एनआरएनए युकेले केही समय पहिला शुरु गरेको अत्यावश्यक कामका कारण नेपाल जाने व्यक्तिहरुको नामावली संकलन तथा उद्धार अभियान तीब्र रुपमा अघि बढाइएको जनाएको छ । मंगलबारसम्म संकलन भएका १६४ जनाको विवरण पहिलो चरणमा नेपाली राजदुतावास लन्डनमा हस्तान्तरण गरिएको उपाध्यक्ष रामचन्द्र पोखरेलले जानकारी दिए । एनआरएनए युकेमा करीब २ सय जनाले नेपाल फर्किन फाराम भरेको उपाध्यक्ष पोखरेलले जनाए । ‘विगतमा गरिएका तथ्यांकलाई केही व्यक्तिगत विवरण अद्यावधिक गर्नु पर्ने भएको छ’, पोखरेलले भने , ‘त्यसका आज बुधबार हामी तीन जना म, अर्का उपाध्यक्ष मोहन कार्की र इंग्ल्याण्ड राज्य समन्वय परिषदका सचिव गोबिन्द खरेलले एनआरएनए युकेको सम्पर्कमा आएका व्यक्तिहरुको नेपाल सरकारले तोकेको विवरण अद्यावधिक गर्छौँ र बिहीबारसम्म राजदूतावासलाई हस्तान्तरण गछौं ।’

संयोजक पोखरेलले व्यक्तिगत विवरण अद्यावधिक गर्न आफ्नो फारामलाई परिवर्तन गरी नेपाल सरकारले तोके बमोजिम व्यक्तिगत विवरण राख्न मिल्ने बनाएको जनाए । यसअघि एनआरएनए आफ्नै ढंगले व्यक्तिगत विवरण संकलन गरिरहेको थियो । पोखरेललाई एनआरएनए युकेका तर्फबाट संयोजकको जिम्मेवारीसहित नामावली संकलनको जिम्मा दिइएको छ । सहसंयोजकमा अर्का उपाध्यक्ष कार्की छन् भने सदस्य सचिवमा खरेल छन । एनआरएनए यूके र अन्य सामाजिक संस्था वा व्यक्तिहरुले दिएको विवरणका आधारमा नेपाल जान जरुरी भएका व्यक्तिहरुमध्ये सरकारले तोकेको मापदण्डमा परेका व्यक्तिहरुको छनौट एनआरएनएको सहयोगमा दुतावासले गर्ने बताइन्छ ।

फारम भर्नका लागि यहाँ क्लिक गर्नुहोस ।

नेपाल सरकारका प्राथमिकता :
सुत्केरी तथा गर्भवती महिला, बालबालिका, जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरु
कोभिड- १९ बाहेक अन्य कारणले स्वास्थ्यमा गम्भीर समस्या देखिएका व्यक्तिहरु
सम्बन्धित देशमा विभिन्नि कारणले सजाय तोकिएका, आममाफी पाईसकेका व्यक्तिहरु
डिटेन्सन सेन्टरमा रहेका हाल नेपाल आउन अनुमति प्राप्त गरेका व्यक्तिहरु
श्रम करार अवधि समाप्त भएर रोजगारी गुमाएका व्यक्तिहरु
जुनसुकै कारणले बहिर्गमन भिसामा रहेका व्यक्तिहरु
अध्ययन समाप्त भएका विद्यार्थी, कलेज बन्द भएका विद्यार्थीहरु

आफन्तको मृत्यु भई काजकिरियाका लागि नेपाल आउनुपर्ने व्यक्तिहरु
सरकारी सेवामा रही तालिमको लागि विदेशमा गएका र नेपाल आउन नपाएका व्यक्तिहरु
पारिवारिक पुनर्मिलनका लागि विदेश गएका र फर्किनु पर्ने व्यक्तिहरु
पर्यटक र व्यापारी भिजामा विदेश गएका व्यक्तिहरु
अन्तर्राष्ट्रिय संघ संस्थामा कार्यरत रहेर नेपाल आउनु पर्ने व्यक्तिहरु

प्रतिक्रिया

सम्बन्धित सामाग्री