नेपाली दूतावासद्वारा पार्कमा सुतिरहेका नेपालीको उद्धार

लन्डन । संयुक्त अधिराज्य बेलायतस्थित नेपाली राजदूतावासले पार्कमा सुतिरहेका एक जना नेपालीको उद्धार गरेको छ ।

घर मालिकसँग सामान्य घर झगडा भएपछि घर छाडी हिँडेका ती नेपालीको आफन्त नभएकाले पार्कमा सुतिरहेको अवस्थामा राजदूतावासले उद्धार गरेको हो । ‘घरेलु कामदारका रुपमा बेलायतमा काम गरिरहेका एक नेपाली घरमा सामान्य मनमुटाव भएपछि घर छाडेर हिँडनु भएको रहेछ । उहाँको कसैसँग व्यक्तिगत चिनजान नभएकाले एक रात पार्कमै बिताउनु भएछ, थाहा पाएर उद्धार गरियो,‘ राजदूतावासका प्रवक्ता शरदराज आरनले वीनेपालीसँग भने ।
पश्चिम लण्डनको एक पार्कमा एक रात बिताएका ती नेपालीलाई उद्धार गर्न र पूर्ववत् घरमै फर्काउन प्रवक्ता आरनले प्रयास गरे पनि सफल भएनन् । भारतीय घर मालिकले एक रात बाहिर बसिसकेको अवस्थामा घर ल्याउँदा आफ्ना बृद्धबृद्धा आमावुवालाई कोरोना संक्रमणको उच्च जोखिम हुने भएकाले कामदार फर्काउन अस्वीकार गरेको आरनले बताए ।

उनले घरमालिकसँग लामो वार्तालाप गर्दा पनि प्रयास सफल नभएपछि बेलायतस्थित एक जना सामाजिक अभियन्तासँग सम्पर्क गरी खान र बस्ने व्यवस्था गरेका थिए । वीनेपालीको सम्पर्कमा आएका ती सामाजिक अभियन्ताले आफूलाई सम्पर्क गरेर राजदूतावासले समस्या बारेमा बताएपछि ती नेपालीलाई जागिरसहित खान र बस्न व्यवस्था गरेको बताए ।

‘ती नेपालीको नाम गोप्य राखिदिन म तपाईलाई अनुरोध गर्छु,’ सामाजिक अभियन्ताले भने, ‘मेरो नाम पनि नलेखी दिनुहोस, सस्तो प्रचार नगरौँ होला । मैले सकेको सहयोग नेपालीहरुका लागि सधै रहन्छ ।’ उनले भने । राजदूतावासले समेत नाम सार्वजनिक नगर्न अनुरोध गरिएका ती नेपालीलाई पहिले काम गरेको स्थानमा भन्दा दोव्वर तलवसहित बस्न र खान व्यवस्था मिलेको छ । ‘उनको भिजा पनि लकडाउनपछि थप्ने मिल्ने रहेछ भने त्यो पनि गर्न प्रयास गर्छु,‘ ती सामाजिक अभियन्ताले थपे ।
त्यसबाहेक थप चार जना घरेलु कामदार नेपालीहरु आफूले काम गरिरहेको घर छाडी हिँडेकामा सम्झाई बुझाई काम गरेकै स्थानमा फर्काएर सहयोग गरेको प्रवक्ता आरनको भनाइ थियो । उनले घरलु कामदारका रुपमा आएका नेपालीहरुमा यस्तो समस्या देखिएको जनाए । ‘घरेलु कामदारका रुपमा ६/ ६ महिनामा बेलायत आउने र भारत फर्कने उहाँहरुका चलन रहेछ । पारिवारिक मनमुटावले घर छाड्दा लकडाउनका बेला समस्या देखिएको छ’ उनले भने । ‘यस्ता अवस्थामा कतिपय कुराहरुमा छलफलबाटै समाधान गर्नुपर्छ, घर छाडेर हिँडनु हुदैन भनेर उनीहरुलाई बर्तमान परिस्थितिका बारेमा सम्झायौँ,’ आरनले भने, ‘घरमालिकसँग पनि कुरा गरे, उहाँहरुले पनि दुतावासको अनुरोधलाई स्वीकार गर्नु भयो’ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री