ओलम्पिक आयोजनाको दाबी गर्दै भारत

नयाँ दिल्ली । कोरोना भाइरसको महामारी अन्त्य हुने बित्तिकै भारतले सन् २०३२ मा हुने ओलम्पिक खेलकुद आयोजना सञ्चालन गर्न दावेदारी दिने भएको छ ।

भारतीय ओलम्पिक कमिटीका अध्यक्ष नरिन्दर बत्राले यति ठूलो खेलकुद मेला आयोजना गर्न भारतले अझै धेरै सिक्नुपर्ने भए पनि आफूहरू निरुत्साहित भने नभएको बताउनुभएको छ । दस वर्षअघि भारतले कमनवेल्थ प्रतियोगिता आयोजना गरिसकेको छ ।

अध्यक्ष बत्राले ‘हामी ठूला खेलकुद मेला सञ्चालन गर्न गम्भीर छौँ । सन् २०२६ को युथ ओलम्पिक र सन् २०३२ मा हुने ओलम्पिकको आयोजनाको दावेदारी दिने योजना छ’ भन्नुभयो । भारतले आफ्नो इच्छाका बारेमा अन्तराष्ट्रिय ओलम्पिक कमिटीलाई लिखित पत्र बुझाइसकेको छ । सन् २०२६ मा आयोजना हुने युथ ओलम्पिकका लागि थाइल्यान्ड, रुस र कोलम्बियाले पनि दावेदारी दिँदैछन् ।

यसैगरी सन् २०३२ मा हुने ओलम्पिक खेलकुदका लागि अष्ट्रेलियाको क्विन्सल्यान्ड, चीनको साङघाई र दक्षिण कोरियाको सोल  र प्योङयाङ (संयुक्त) ले पनि दावेदारी दिने बताइसकेका छन् ।

अहिले कोरोना भाइरसका कारण यी सबै दावेदारी राष्ट्र शान्त छन् । अन्तर्राष्ट्रिय हकी महासङघका समेत अध्यक्ष रहनुभएका बत्राले ‘सन् २०३२ का लागि सबै कागजात तयार भइरहेको तर कोरोनाको महामारीले अहिले यो सबै फ्रिज भएर बसेको छ’ भन्नुभयो । ”अहिले हामीसँग टिम छ । जसले थुप्रै आयोजना स्थलको सम्भाव्यता अध्ययन गरिरहेको छ । हामी सो टिमसँग छलफल गरिरहेका छौँ । सो टिमले रिपोर्ट पेस गर्नेछ । मलाई लाग्छ यस सम्बन्धमा आगामी डिसेम्बरसम्म केही क्रियाकलाप हुने छैनन्”, भारतका सबभन्दा प्रभावशाली खेलकुद पदाधिकारीका रूपमा मानिनुभएका बत्राले भन्नुभयो ।

नयाँ दिल्लीले सन् २०१० मा कमनवेल्थ खेलकुद आयोजना गरिसकेको छ यद्यपि सो समय भौतिक पूर्वाधार समयमै नसकिनु मात्र होइन भारतीय ओलम्पिक कमिटीलाई आर्थिक घोटालाको पनि आरोप लागेको थियो । त्यसपछि नयाँ दिल्लीले सन् २०२१ मा हुने विश्व बक्सिङ च्याम्पियनसिपको आयोजना गुमाएको थियो । बक्सिङको सर्वोच्च सङघले आयोजकले आयोजना शुल्क समयमा नतिरेको भन्दै भारतलाई विश्व बक्सिङको आयोजनाबाट वञ्चित पारेको थियो ।

बत्राले ओलम्पिक होस् वा अन्य ठूला खेलकुद हुन् भारतसँग आयोजना गर्ने क्षमता रहेको बताउनुभयो ।

अहिले खेलकुद ठप्प हुँदा सन् २०३२ को ओलम्पिक आयोजना गर्ने राष्ट्रको निर्णय भने सन् २०२५ मा मात्र हुने सम्भावना धेरै छ । भारत एक अर्ब ३० करोड जनसङख्या भएको ठूलो राष्ट्र हो । यद्यपि क्रिकेटमा मात्र बढी ध्यान दिने भारतले सन् २०१६ को रियो ओलम्पिकबाट मात्र दुई पदक हात पारेको थियो । एएफपी

प्रतिक्रिया

सम्बन्धित सामाग्री