शनिबार, जेठ २४ २०७७ | Sat, June 06, 2020
नेपालको समय: १७:०६ | UK Time: 12:21

कोरोनाले ल्याउन सक्ने सामाजिक असर

भाइरसबाट कुनै समुदाय बढी प्रभावित भएको पुष्टी भएमा उनीहरुमाथि दुरदुर गरिन सक्छ ।

डा तेजेन्द्र फेराली
२०७७ वैशाख ५ गते ७:३९

हालै एउटा तथ्यांक बाहिर आएको छ, युकेका विभिन्न अस्पतालमा कोरोना संक्रमणबाट सघन उपचार कक्षमा उपचाररत बिरामीहरुका सम्बन्धमा । इंग्ल्याण्ड र वेल्समा एसिएन र अफ्रिकन मूलका मानिसहरुको कुल जनसंख्या क्रमशः ७.५ प्रतिशत र ३.३ प्रतिशत छ । तर अहिले कोरोनाका कारण अस्पतालमा गम्भीर अवस्थाका बिरामीहरुको अनुपात एसिएन र अफ्रिकन मूलका मानिसहरुको क्रमश १४.४ प्रतिशत र ११.९ प्रतिशत रहेको तथ्यांकले देखाएको छ । कुल गम्भीर बिरामीहरुमध्ये ३४ प्रतिशत ननह्वाइट रहेका छन् । यो तथ्यांकले युकेको सामाजिक आर्थिक अवस्थालाई पनि कोरोना भाइरसको असरले प्रतिविम्बित गर्छ कि भन्ने मेरो बुझाइ हो ।

यसो हुनुको पहिलो कारण अल्पसंख्यक जातिहरु (इथ्निक माइनरिटजहरु) बेलायतका आधारभूत सेवामा काम गर्ने गरेका छन् । अहिले संकटको समयमा आधारभूत सेवा प्रवाह गर्ने राष्ट्रिय स्वास्थ्य सेवा (एनएएचएस), क्लिनिङ, ग्रोसरी, सुपरस्टोर्स, होम डेलिभरी, बस चालक सबै क्षेत्रमा एसिएन, अफ्रिकन मूलका नै छन् । यस्तो बेलामा पनि आधारभूत सेवा उपलब्ध गराउन र समाजलाई जीवन्त बनाइराख्न उनीहरुको महत्वपूर्ण योगदान छ तर यस्ता सेवामा रहँदा धेरै मानिसहरुसित सीधा सम्पर्क हुनुपर्ने खतरा हुन्छ । त्यसले गर्दा उनीहरुको जनसंख्याको अनुपात नमिल्ने गरी बिरामी भएको अवस्था देखिएको हुनसक्छ ।

दोस्रो, युकेमा कुन समुदायको कति मृत्यु भयो भन्ने संख्या उपलब्ध छैन तर अमेरिकामा त्यस्तो तथ्यांक बाहिर आएको छ । जस्तै, एउटा तथ्यांक मैले देखेको थिएँ । अमेरिकाको सिकागोमा कुल जनसंख्याको एकतिहाइ संख्या अफ्रिकन मूलका मानिसहरुको छ । तर कोरोनाका कारण मृत्यु हुनेहरुमा उनीहरुको ७० प्रतिशत हिस्सा देखाउँछ । यसमा अरु कुराहरु मेडिकल, इपिडिमेलोजिकल, बायोलोजिकल कुराहरु जातिय समूहअनुसार फरक त होला । त्यसको म विज्ञ होइन तर सामान्य रुपमा हेर्दा गरिब समुदायमा बढी अफ्रिकन र एसिएनहरु बस्ने गरेको देखिन्छ । जहाँ भौतिक दुरी कम हुने हुन्छ । स्थानीय काउन्सिलले उपलब्ध गराएको घरहरुमा बस्दा भीडभाड हुने, धेरै परिवारहरु एकै ठाउँमा बस्दा आपसमा सामाजिक दुरी (सोसल डिस्ट्यान्सिङ) कायम राख्न गाह्रो हुने हुन्छ । गरिबीका कारण सरकारले भनेको भाइरस सर्न र फैलन नदिने विधि सामाजिक दुरी कायम गर्न नसकेको कारण पनि जातिय अल्पसंख्यकहरुको बिरामी संख्या बढी हुन सक्छ ।

तेस्रो, सामाजिक–आर्थिक रुपमा पछि परेको समुदायको सामाजिक सम्बन्ध अति नजिकको हुन्छ । एक आपसमा नजिक बस्ने प्रवृत्ति हुन्छ । उनीहरुको सामाजिक निकटता कुलिन र मध्यम वर्गको भन्दा फरक हुन्छ । चौथो, धेरैजसो एसिएन अफ्रिकन मूलका वृद्धवृद्धाहरुमा स्वास्थ्यसम्बन्धी सूचनाको पहुँच नपुगेकोले हुनसक्छ । स्वास्थ्यसम्बन्धी सूचनाहरु अंग्रेजी भाषाको अज्ञानताका कारण पनि अपुग भएको हुनसक्छ । भाषागत ज्ञानको कमीले अस्पतालमा भर्ना भएर पनि कहाँनिर दुख्यो, आफ्नो समस्या के हो भन्ने बताउन नसक्दा बिमार अझ गम्भीर भएको हुन सक्छ । पाँचौँ, ‘जिन’को कुरा पनि आउन सक्छ । जस्तो अमेरिकामा भएको एक अध्ययनले श्वेत किशोरहरुभन्दा अफ्रिकन मूलका किशोरहरुमा दम रोग लाग्ने सम्भावना तीन गुणा हुने देखाएको छ । त्यसको मतलब दम रोगबाट अफ्रिकन मूलका मानिसहरुको मृत्यु हुने सम्भावना श्वेतहरुभन्दा तीन गुणा बढी रहन्छ । पहिल्यै दीर्घ रोगहरु हुने र कोरोनाले भेट्नासाथ रोग प्रतिरोधात्मक क्षमता पर्याप्त नहुँदा सञ्चो हुनुको साटो झन् गम्भीर बिरामी भएको हुनसक्छ ।

गरिबीको कुरा गर्दा कहिलेकाहीँ मानिसहरुको तर्क के हुने गर्छ भने कोरोना भाइरस सबैलाई लाग्न सक्छ चाहे धनी होस् गरिब । ठूलो होस् वा सानो जसलाई पनि लाग्नसक्छ । मलाई चाहिँ समग्रमा हेर्नुपर्छ जस्तो लाग्छ । त्यसको मतलव श्वेतहरुलाई लाग्दैन भन्ने होइन । जसलाई पनि लागिरहेको छ । तर समग्रमा हेर्दा एसिएन र अफ्रिकन मूलका धेरै प्रभावित भएको देखिन्छ । मेरो विचारमा गरिब कामदार वर्गका श्वेतहरुमा पनि यो समस्या हुनसक्छ । तर बढी कसलाई प्रभाव पार्छ भन्दा जो सबैभन्दा बढी सामाजिक र आर्थिक रुपमा पछाडि परेको छ, जसले अहिलेको लक डाउनको अवधिमा पनि सामाजिक दुरी (सोसल डिस्ट्यान्सिङ)को नीतिलाई पूर्णरुपमा पालना गर्न सकेका छैनन्, जो अरुमा निर्भर छन् त्यस्तो वर्गलाई बढी लाग्नसक्ने देखिन्छ । त्यस वर्गमा एसिएन र अफ्रिकनहरुको संख्या उच्च भएकाले उनीहरु जोखिममा छन् भन्न खोजिएको हो । अहिले धेरै तथ्यांक आइसकेको छैन तर गरिब क्षेत्रमा बस्ने श्वेत जनसंख्यालाई पनि यस खालको प्रभाव परेको हुनसक्छ ।

मैले अन्य ठाउँमा पनि हेरिरहेको छु, जस्तो म लेबनान, जोर्डनमा पनि काम गर्छु । त्यहाँ शरणार्थी बस्तीहरुमा स–साना कोठा हुन्छन् । धारा, शौचालयहरु सार्वजनिक हुन्छन् र अरुसित सेयर गर्नुपर्ने हुन्छ । कतिपय पालहरुमा बस्छन् । घरहरु पनि नजिक–नजिक हन्छन् । त्यस्तो ठाउँमा यो महामारी पुग्यो भने भयावह अवस्था ल्याउन सक्छ । सुकुम्बासी बस्तीहरुमा यो महामारी फैलियो भने बिकराल अवस्था हुनसक्छ । थोरै आय भएका मुलुकहरुमा यो भाइरस फैलियो भने त्यहाँ स्वास्थ्यसेवा पनि कमजोर हुन्छ अनि गरिबहरुले स्वास्थ्य सेवाका लागि पैसा तिर्न नसक्ने अवस्था हुन्छ । त्यस्तो अवस्थामा धेरै मानिसहरुलाई भाइरस सर्न सक्ने र रेखदेख, हेरविचार गर्ने मानिसलाई पनि आवश्यक सुरक्षायुक्त उपकरण दिन नसक्ने अवस्थामा सजिलै सर्न सक्ने, अक्सिजन र भेण्टिलेटर नहुँदा उमेरमै ज्यान त्याग्न बाध्य हुनपर्ने अवस्था आउँछ ।

कोरोना यसरी धेरै फैलनुमा हाम्रो साँस्कृतिक पक्ष पनि केही हदसम्म जिम्मेवार छन् कि जस्तो लाग्छ । सरकारले लकडाउन नै घोषणा गरिसकेपछि त नेपाली समुदायले त्यसलाई पालना गरेजस्तो लागेको छ । तर युके सरकारले सोसल डिस्ट्यान्सिङको नीति ल्याउन अरु देशहरुको तुलनामा भन्दा ढिला गर्यो । त्यो बेलासम्म हाम्रो आउने–जाने, सबै मिलेर खाने, बस्ने, विहा पार्टी चलिरहेकै थियो । त्यसले गर्दा पनि सोसल डिस्ट्यान्सिङको नियम आउनुभन्दा पनि अघि नै हामीमा भाइरस सरिसकेको अनुमान लगाउन सकिन्छ । कतिपय विहावारी, वर्थ डे पार्टीमा कोरोनाको संकेत नदेखिएका साथीहरु आउने नै भए । संकेत नै नदेखिई त थाहा हुने कुरा पनि भएन ? त्यो हिसाबले थाहा नपाइकन सारेको र सरेको पक्कै हो । तर नियम नै लागू भएपछि सोसल डिस्ट्यान्सिङ कायम भयो जस्तो लाग्छ । कतिपय साथीहरुमा तपाईलाई पनि छैन, मलाई पनि छैन आऔँ -खाऔँ -बसौँ भन्ने भइरहेको अनुमान लगाउन सकिन्छ । तर सोसल डिस्ट्यान्सिङ हाम्रो लागि गाह्रो कुरा हो । हाम्रो सँस्कार, साँस्कृतिक व्यवहार त हात मिलाउने, अँगालो हाल्ने, सँगै मिलेर खाने–बस्ने हो । त्यो हिसाबले साँस्कृतिक कारणले पनि अलि कोरोना फैलिएको हो कि भन्ने पनि लाग्छ ।

मानव जातिको चरित्र भनेको एकआपसमा नजिक हुने, सम्बन्ध नजिक बनाउन उद्यत हुने हो । टाढाभन्दा नजिक हुने चाहना हो । डिस्ट्यान्सिङलाई नकारात्मक अर्थमा हामीले लिने गरेका थियौँ । हाम्रै देशमा डिस्ट्यान्सिङले गर्दा भेदभाव र बहिष्करणको सामाजिक असर देखिएकै छ । त्यसकारण हामी सामाजिक स्वीकार र सामाजिक आत्मीयताको दिशामा अग्रसर भइरहेको बेलामा यो महामारीले सोसल डिस्ट्यान्सिङलाई कायम गर्नुपर्छ भन्ने ल्यायो । यस्ता महामारीबाट बच्न हामीले जे जे उपाय अपनाउनु पर्छ त्यो समाजका सबै खालका मानिसहरुले गर्नैपर्ने हुन्छ । मलाई चाहिँ यस्तो लाग्छ यसले दुई/चार वर्षसम्म नै सामाजिक सम्बन्धमा मनोवैज्ञानिक असर ल्याउन सक्छ जस्तो लाग्छ । उदाहरणका लागि हामी लकडाउनमा छौँ सरकारले बिस्तारै खोल्ला । कोरोना भाइरस सकियो सबै सामान्य अवस्थामा फर्कौँ भन्ने त हुँदै हुँदैन । सरकारको नीति पनि स्वास्थ्य सेवा (एनएचएस)ले थेग्न सक्ने र हाम्रो अर्थतन्त्रले भ्याउन सक्ने गरी बिरामीको चापलाई सन्तुलन राख्न सकियो भने कमभन्दा कम स्वास्थ्य र आर्थिक असरबाट देशलाई अगाडि लैजान सकिन्छ कि भन्ने छ र लक डाउन खुले पनि डर भने रहिरहने देखिन्छ । हामी नेपालीहरुमा साथीभाइलाई घरमा बोलाउने, साथीभाइको घरमा जाने जुन किसिमको स्वतस्फूर्त सामाजिक वातावरण थियो त्यो खालको वातावरण प्राप्त गर्नलाई लामै समय लाग्ने देखिन्छ । कसलाई बोलाउने, कसलाई नबोलाउने, कसकोमा जाने, कसकोमा नजाने ? एउटा बैठकबाट कोही बिरामी भयो र फेरि भाइरस फैलिन थाल्यो भने त्यसपछिको अवस्थालाई कसरी सम्हाल्ने भन्ने जोखिम रहेको हुनाले हाम्रो निकटता लामै समयसम्म कम हुन्छ कि जस्तो लाग्छ ।

एउटा इस्यु के हुनसक्छ भने कुनै एउटा समुदायका धेरै मानिसहरु कोरोनाबाट प्रभावित भए भने वा मृत्युदर कुनै समुदायमा उच्च भयो भन्ने तथ्यांक आयो भने त्यसले सामाजिक लाञ्छना (सोसल स्टिग्मा)लाई बढाउन सक्छ । लक डाउनपछि पनि कल्पना गरौँ, एसिएन र अफ्रिकनमा कोरोना भाइरस बढी फैलँदो रहेछ, उनीहरु बढी पीडित हुँदा रहेछन् भन्ने सार्वजनिक ज्ञान (पब्लिक नलेज)का रुपमा बाहिर आयो भने त्यसले सामाजिक लाञ्छना निम्त्याउन सक्छ । उदाहरणका लागि कतिपय चिनियाँहरुलाई कोरोना भाइरस फैलन शुरु हुँदा आक्रमण गरियो । अबका दिनमा आक्रमण नै नभए पनि यस भाइरसबाट कुनै समुदाय बढी प्रभावित भएको सार्वजनिक भएमा उनीहरुमाथि एक किसिमको दुरदुर गर्ने प्रवृत्ति आउन सक्छ । अहिले धेरैजसो कोरोनाबाट स्वास्थ्य र आर्थिक असरको बारेमा मात्रै कुरा भएको देखिन्छ । तर सामाजिक असर कस्तो हुन्छ, युकेको समाज एक किसिमले समानता र समताको आधारमा अगाडि बढिरहेको थियो त्यसमा कस्तो असर पर्छ भन्ने बारेमा बहस भएको देखिँदैन ।

अनि अर्को कुरा एउटा रिपोर्टमा लक डाउनपछि घरायसी दुर्ब्यबहार १२० प्रतिशत बढ्यो भन्ने पनि आएको छ । जहाँ अभाव, गरिबी र सामाजिक समस्या हुन्छ, त्यहाँ मानसिक र व्यवहारजन्य समस्याहरु पनि हुन्छ । मदिरासम्बन्धी समस्या आउन सक्छ । कमाइ गुमेको, जागिर गुमेका कारण पनि समस्याहरु आएका हुन सक्छन् । घरमा बस, सुरक्षित होउ भनिएको छ तर जो घरेलु हिँसाबाट पीडित छन् उनीहरुका लागि त घर बस्न झनै असुरक्षित छ ।

यस्तै, सोसल डिस्ट्यान्सिङले मानिसहरुबीच अन्तरक्रिया कम हुँदा मनोवैज्ञानिक समस्या परेको देखिन्छ । टिनएजर्स बच्चा हुने परिवारका लागि ठूलो आँगन भएको घर छ भने त शारीरिक कसरत गर्नका लागि पर्याप्त ठाउँ हुने भयो तर फ्लाट वा कोठा नै साझेदारी गरेर बस्नु परेको छ भने दिक्दार पनि लाग्न सक्छ । तनावहरु पनि आउन सक्छ ।

अर्को महत्वपूर्ण कुरा, अहिले बच्चाहरु विश्वविद्यालय जाने तयारी गर्दैछन् । ‘ए’ लेबलको परीक्षा नै नहुने भएपछि अनुमानित ग्रेडका आधारमा विश्वविद्यालयमा भर्ना दिने भन्ने नीति छ । यसले अन्तिम समयमा धेरै मिहिनेत गरेर उच्च ग्रेड ल्याउँछु भन्ने विद्यार्थीहरुलाई असर पार्ने देखिएको छ । अझै पनि सेप्टेम्बरमा विश्वविद्यालय खुलेर सबै बच्चाहरु अध्ययन गर्न जालान् कि नजालान् भनेर भन्न सकिने अवस्था छैन । विश्वविद्यालयहरुले पहिलो सेमेस्टर अनलाइन पढाउने भन्ने योजना बनाइरहेका छन् । कतिपय नेपालबाट यहाँ पढ्न आउने योजना बनाइरहेका विद्यार्थीहरुलाई यसबाट असर पार्न सक्छ । पहिलो सेमेस्टर नेपालमै पढ्ने र अर्को समेष्टरदेखि स्थिति हेरी यहाँ आउने अवस्था आउन सक्छ । यहीँकै बच्चाहरुले पहिलो सेमेष्टर घरबाटै पढ्नपर्ने अवस्था मैले देख्छु । त्यसका लागि सबै बच्चा र अभिभावकहरु तयारी हुनपर्ने देखिन्छ । स्कुलहरु लामो समयसम्म बन्द हुनसक्ने अवस्था अर्कोतिर छ । हुन त यो गाह्रो कुरा हो । स्कुलहरु खुल्नु अभिभावकहरु काममा जानुसित पनि सम्बन्धित छ । स्कुल खुल्यो भने फेरि संक्रमण फैलने र अक्टोबरतिर फेरि अर्को ‘पिक’ अवस्था आउने खतरा पनि छ । यदि स्कुल नखुले अर्थतन्त्र तहसनहस हुने अवस्था पनि देखिन्छ । अहिले एकदमै समस्याग्रस्त समय छ । यदि सोसल डिस्ट्यान्सिङले प्रभावकारी रुपमा काम गरेन भने गरिब देशहरु जहाँ बिनायोजना शहरीकरण भएका छन् ती ठाउँले ठूलो जोखिम भोग्नपर्ने हुनसक्छ ।
(लेखक लण्डनस्थित युनिभर्सिटी कलेज लण्डनमा एसोसिएट प्रोफेसर हुनुहुन्छ । यो सामग्री कुराकानीमा आधारमा तयार गरिएको हो)

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक