लण्डन (जीएनएन)- बेलायतस्थित एकजना अन्तर्राष्ट्रिय कानूनविद्ले नेपाल भारत सीमामा आइपुगेका सैयौं नेपालीलाई नेपाल सरकारले स्वदेश फिर्न दिनु पर्ने जनाएका छन् । ग्लोबल नेप्लिज न्युज नेटवर्क (जीएनएन) संग कुराकानी गर्दै ब्रिटेनको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक डा. सूर्य सुवेदीले नेपाल सरकारले आफ्ना नागरिकहरुलाई नेपाल-भारत सीमामा रोक्न नमिल्ने बताए ।
कोरोना संक्रमण रोक्न भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत मार्च २५ तारिख मध्य रातिदेखि तीन सातासम्म पुरै देश ‘लक डाउन’ गर्ने घोषणा गरे पछि ठूलो दुख खेप्दै श्रमिकको रुपमा भारतमा काम गरिरहेका सैयौं नेपाली सुदूर पश्चिम नेपालको नेपाल-भारत सीमामा आइपुगेका छन् । तर, नेपालमा पनि ‘लक डाउन’ भएको जनाउंदै नेपाली अधिकारीहरुले उनीहरुलाई नेपाल प्रवेश गर्न अनुमति नदिएर सीमामै रोकिरहेका छन् ।
“यो नेपालको संविधानमा उल्लेखित नागरिकको हकको भावना र नेपालले अनुमोदन गरेका अन्तर्राष्ट्रिय मानवीय कानून तथा मानवीय कानून सम्बन्धि सन्धिहरुका अनुसार गैर कानूनी हुन्छ,” प्राध्यापक सुवेदीले भने- ”सन्धि कानून र अन्तर्राष्ट्रिय कानून अनुसार पनि आफ्नो मुलुक फर्कन पाउने नेपाली नागरिकहरुको हक नेपाल सरकारले सुनिस्चित गर्नै पर्दछ ।”
प्रा. सुवेदीले कोरोना संकटका कारण एउटा राष्ट्रिय र अन्तर्राष्ट्रिय आपत्कालिन अवस्था उत्पन्न भएको र यस्तो बेला नेपाल तथा भारत दुवै मुलुकले राम्रो संयोजनका लागि तत्काल एउटा संयन्त्र बनाउनु पर्ने बताए ।
“राष्ट्रिय र अन्तर्राष्ट्रिय कानून अनुसार केन्द्रिय सरकार, स्थानीय तह तथा प्रादेशीक सरकारहरुको जिम्मेवारी उही हो । सबै तहका सरकारले यस्तो विषयमा समन्वय गर्नका लागि तत्काल एउटा कार्यविधि बनाउन समझदारीमा पुग्नु पर्छ,” उनले भने।
यसैबीच एउटा अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाचले नेपाल सरकारले आफ्ना नागरिकको स्वदेश फर्कन पाउने हक हनन गर्न नमिल्ने बताएको छ ।
न्यूयोर्कमा मुख्यालय रहेको उक्त संस्थाले नेपाली अधिकारीहरूले पर्याप्त क्वारन्टीनको व्यवस्थापन नहुँदा आफ्ना नागरिकलाई स्वदेश फर्काउन खासै पहल नगरेको आरोप लगाएको छ । नागरिकको आवश्यकतालाई सम्बोधन नगरी घर फर्कनबाट प्रतिबन्ध लगाइनु आधारभूत मानवअधिकारको उल्लंघन भएको ह्युमन राइट्स वाचले जनाएको छ ।
उसले नेपाल सरकारलाई आफ्ना नागरिकलाई तत्कालै घर फर्कन दिन र विदेशमा रहेका आफ्ना नागरिकको रक्षा गर्न पनि आग्रह गरेको छ।
महाकाली नदीपारि धार्चुलामा अहिले सैयौं नेपाली नागरिक अलपत्र परेका छन् । उनीहरुलाई स्थानीय भारतीय अधिकारीहरु तथा सामाजिक संस्थाहरुले खानाको प्रवन्ध मिलाउन थालेका छन्, तर त्यो अपर्याप्त भएको अलपत्र परेका नेपालीहरु बताउंछन् ।
ज्यानको बाजी लगाएर महाकाली नदी पार गरेर नेपाली सीमामा प्रवेश गरेका केही नेपालीहरुलाई पक्राउ गर्ने नेपाल प्रहरीको कामको सामाजिक संजालमा व्यापक आलोचना भएको छ ।
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा