बेलायती-अमेरिकी अध्ययन: नेपालमा चोटपटकबाट दैनिक ४६ को मृत्यु

लण्डन । बेलायतको ब्रिस्टलस्थित युनिभर्सिटी अफ द वेष्ट अफ इङ्ल्याण्ड र अमेरिकाको वाशिङ्गटन युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले पहिलो पटक संयुक्त रूपमा प्रकाशन गरेको ‘नेपालमा चोटपटकको रोगभार सम्बन्धी अध्ययन’ ले सन् २०१७ मा सबै खालका चोटपटकका कारण नेपालमा १६ हजार ८३१ जनाको मृत्यु भएको जनाएको छ । यो सन् १९९० को भन्दा ३ हजार ५०० ले बढी हो ।

विश्वव्यापी रोगभार अध्ययनको तथ्यांक प्रयोग गरिएको उक्त अध्ययनअनुसार नेपालमा एचआइभी एड्स, क्षयरोग र औलो रोगबाट मृत्यु हुने १५ देखि ४९ वर्षका मानिसहरू (३,१००) भन्दा सडक दुर्घटनाबाट मृत्यु हुने (३,४००) को संख्या ९ प्रतिशतले बढी पाइएको छ। अध्ययनअनुसार उक्त उमेर समूहका करिव ३,४०० जनाको सडक दुर्घटनाबाट मृत्यु भएको थियो भने एचआइभी एड्स, क्षयरोग र औलो रोगबाट मर्नेको संख्या ३,१०० थियो ।

अध्ययनको सारांशबारे युनिभर्सिटी अफ द वेष्ट अफ इङ्ल्याण्डका शोधकर्ता डा. पुष्पराज पन्त भन्छन् – ‘यस अध्ययनमार्फत हामीले पहिलो पटक नेपालमा कसैलाई क्षति पुरयाउने कुनै मनशाय नभए पनि हुने घटनाहरू र मनशायपूर्ण घटनाबाट हुने सबै खालका चोटपटकहरूको लेखाजोखा गरेका छौं । यसबाट सबै वर्गका पाठकहरूले चोटपटक वा इन्जरी विषयले के के बुझाउँछ र देशमा यसको रोगभार कस्तो रहेछ भन्ने कुरा थाहा पाउने अपेक्षा गरेको छु ।’

विश्व स्वास्थ्य संगठनका अनुसार शरीरको सहन क्षमताभन्दा अधिक बाह्य ऊर्जाको सम्पर्कले गर्दा मानिसको शरीरमा हुने भौतिक क्षति वा ताप र अक्सिजन जस्ता अत्यावश्यक तत्वको अकस्मात हुने कमीबाट शरीरका अंगहरूमा हुने समस्यालाई बुझिन्छ ।

नेपालमा चोटपटकको रोगभार अध्ययन २०१७ ले चोटपटकको कारणले घाइते वा मृत्यु हुने समस्या एक महत्वपूर्ण समस्या भएको उजागर गरेको छ । चोटपटकबाट नेपालमा हुने कुल मृत्युको ४५ प्रतिशत यातायात सम्बन्धी दुर्घटनाबाट, १८ प्रतिशत लडेर र १४ प्रतिशत आत्महत्याका कारण हुने गरेको पाइएको छ । तथ्यांक अनुसार एक वर्षमा सबै खालका यातायात सम्बन्धी दुर्घटनाबाट ७,५२४, मनशायविना हुने चोटपटकका कारण ६,४६५ र आत्महत्या तथा परस्पर हिंसाका घटनाबाट २,८४२ जनाको मृत्यु हुने गरेको छ । नेपालको एक लाख जनसंख्यामा चोटपटकबाट मृत्यु हुने दर ५६.३१ रहेको छ र पुरूषहरूमा त यो दर ७६ छ ।

अध्ययनमा यातायातसम्बन्धी दुर्घटनाको वर्गलाई ६ उप-शीर्षकमा वर्गीकरण गरिएको छ, जस अनुसार सबैभन्दा बढी पैदलयात्री ४८ प्रतिशत, चारपाङ्ग्रे मोटरवाहन प्रयोगकर्ता १८ प्रतिशत, मोटरसाइकल प्रयोगकर्ता १७ प्रतिशत, साइकल प्रयोगकर्ता १० प्रतिशत र अन्य सबै खालका यातायात प्रयोगकर्ताहरू ११ प्रतिशत छन् । तर, प्रहरीको तथ्यांकमा नेपालमा २०१७ मा अभिलेख भएका १०,९६५ सडक दुर्घटनामा २,५४१ जनाको मृत्यु र १२,३९१ जना घाइते भएको उल्लेख छ । तुलनात्मक रूपमा यस अध्ययनले नेपालमा उपलव्ध तथ्यांक भन्दा निकै बढी अथवा एक वर्षमा ६,७८७ वा दैनिक १८ जनाको कुनै न कुनै किसिमका यातायात दुर्घटनाबाट मृत्यु हुने देखाएको छ ।

नेपालमा निरन्तर बढिरहेका मोटरवाहनहरू, त्यसमा पनि दुई-तीनपाङ्ग्रे मोटरसाइकल मोपेडहरू, पैदलयात्रीका लागि पेटी नभएका र सडकहरूको दयनीय अवस्था, ट्राफिक नियमको फितलो कार्यान्वयन, सडक सुरक्षासम्बन्धी सचेतना र कार्यक्रमहरूको अभाव आदिलाई बढ्दो सडक दुर्घटना कारकको रूपमा लिइएको छ । त्यसै गरी चालकको ध्यान विचलन गर्ने मोबाइल फोन प्रयोग, चालकले रक्सी अथवा लागू पदार्थ सेवन गरी सवारी साधन चलाउँदा दुर्घटना हुनसक्ने जोखिमलाई बढाएको हुन्छ । ‘पक्कै पनि देशको सडक सुरक्षाको अवस्था सुधार गर्नु आजको टड्कारो आवश्यकता हो, यसको लागि सबै क्षेत्रबाट उत्तिकै माग पनि गरिएको छ, तर सडक सुरक्षाको प्राप्तीका लागि सरकारी नेतृत्वबाट देखिने गरि प्रतिवद्धता पहिलो र मुख्य आवश्यकता हो । त्यसैबाट यसको शुरूवात हुन्छ’- डा. पन्तले भने ।

त्यसै गरी यस अध्ययनले मनाशायविनाका चोटपटकका घटनाबाट घाइते र मृत्यु गराउने कारणहरूलाई पनि उल्लेख गरेको छ । यस वर्गमा हुने मृत्युको सबैभन्दा ठूलो हिस्सा लडेर (४५ प्रतिशत), डुबेर (१५ प्रतिशत), विषालु विष नभएका जनावरबाट (७ प्रतिशत), पोलेर (६ प्रतिशत), यान्त्रिक बल (५ प्रतिशत), प्राकृति विपत्ती (२ प्रतिशत) र विषको असर बाट (१ प्रतिशत) र यस्ता बाँकी कारणहरूबाट १९ प्रतिशतको मृत्यु हुने देखाइएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार लडेर हुने चोटपटक र मृत्युलाई पेशागत संलग्नता, औषधिलगायत रक्सी र लागू पदार्थको सेवन, विरामीपन, दृष्टि र शारिरीक संतुलन विगार्ने खालका स्वास्थ्य समस्यासँग सम्बन्धित गरिएको छ । नेपालमा बढ्दो वृद्धावस्थाको जनसंख्यालाई पनि लडेर हुने चोटपटकसँग दाँजिन्छ ।

चोटपटकको तेस्रो समूहमा पर्ने मनशाययुक्त हिंसाका घटनाबाट भएका सबै मृत्युमध्ये सबैभन्दा बढी आफैलाई हानी पुर्याउने वा आत्महत्या ८२ प्रतिशत, परस्पर हिंसाजन्य कारणहरू १७ प्रतिशत र बाँकी १ प्रतिशत द्वन्द्वबाट हुने गरेको छ । विश्वव्यापी रोगभार अध्ययनले तथ्यांक विश्लेषणका विशिष्ट पद्दति (मोडेलिङ) उपयोग गरेको भए पनि प्रजनन उमेर समूहका महिलाहरूका लागि उपरोक्त तथ्यांक अपूर्ण हुनसक्छ ।

चोटपटकबाट हुने स्वास्थ्य समस्या तत्काल सम्बोधन गर्नु पर्ने तर्फ इंगित गर्दै अध्ययन प्रतिवेदनको नेतृत्वकर्ता डा. पन्तले भने- ‘सबै खालका चोटपटकबाट भइरहेको क्षतिबाट राज्यको जनधनमा परेको नकारात्मक प्रभावले दीगो विकासका लक्ष्य हासिल गर्ने हाम्रो आकांक्षामा अवरोध पुरयाइरहेको छ भन्ने कुरामा कुनै शंका छैन । यस समस्यालाई जनस्वास्थ्यको प्रमुख चुनौतिको रूपमा पहिचान गर्ने र यसको नियन्त्रण तथा रोकथामका लागि प्रष्ट राजनैतिक प्रतिवद्धताको खाँचो छ ।’

उक्त अध्ययन टोलीमा अमेरिकाको वाशिङ्टन विश्वविद्यालय र इन्ष्टिच्यूट फर हेल्थ म्याट्रिक्स एण्ड इभ्यालुएसनका चोटपटक अनुसन्धान प्रमुख डा. स्पेन्सर जेम्स लगायत ब्रिष्टल स्थित वेष्ट अफ इङ्ल्याण्ड विश्वविद्यालयका प्रा. जुली मिटन, डा. सन्तोष भट्ट र अमृत बाँस्तोला तथा नेपालमा रहेका ८ जना विश्वव्यापी रोगभार अध्ययनका सहकर्ता रहेका पन्तले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री