लन्डनमा नेपाल चिनाउंदै मिस नेपाल

लन्डन । डिसेम्बर दोश्रो साता हुने ‘मिस वर्ल्ड प्रतियोगिता’ मा प्रतिष्पर्धा गर्न यतिखेर लन्डन छन् 
१११ देशका सुन्दरी । बन्द प्रशिक्षण (कोरियोग्राफी), विभिन्न विद्याका प्रतियोगिता र नयां नयां ‘आइकोनिक’ ठाउं घुमघाम । विगत १२ दिनदेखि यसरी नै बितेको छ उनीहरुको दैनिकी । त्यही भीडमा मिस नेपाल अनुष्का श्रेष्ठ भने नेपाल चिनाउने प्रयत्नमा छिन् । विश्वभरका साथी बनाइरहेकी छन् र तिनलाई नेपालको विशेषता घोकाउंदै छिन् । ‘ताज जित्ने आत्मविश्वास नलिइ त को आउंछ र ?’ उनले भनिन्, ‘त्यसबाहेक म फर्कंदा नेपाल नचिन्ने कोही नहोस् भन्ने मेरो उद्देश्य छ ।’

अधिकांश प्रतियोगीसंग उठबस हुंदा कतिपयलाई सबैभन्दा अग्लो हिमाल ‘सगरमाथा’ नेपालमा छ । जीवित देवी ‘कुमारी’ नेपालमै छिन् । भूकम्पपछि पुननिर्माण कार्य पनि जारी छ, देश १८ घण्टा अन्धकारमा 
रुमल्लिएको छैन् जस्ता कुरा हेक्का रहेनछ । मिस नेपाल त्यो भ्रम चिर्न प्रयत्नशील छन् ।

‘प्राकृतिक सौन्दर्य नै नेपालको पहिचान हो । हामीसंग संस्कृति, भेषभूषा, धर्म, जातजाती र मौसमको विविधता छ भनिरहेकी छु’, उनले सुनाइन् ।

६९ औं मिस वर्ल्ड प्रतियोगिता भइरहंदा नेपाललाई उत्कृष्ट ताज अहिलेसम्म मिलेको 
छैन् । यद्यपि अनुष्कालाई नेपालले हारिरहेको कत्ति अनुभव हुन्न र पालो आउंछ भन्ने लाग्छ । ‘विश्वका सबै देशबाट सर्वोत्कृष्ट प्रतियोगी नै आएका हुन्छन् । उनीहरुलाई मेरै देशले जिते हुन्थ्यो भन्ने हुन्छ । तर, मलाई सके ताज जिऔं नत्र फर्कंदा कम्तीमा नेपाल नचिन्ने कोही नहोस् भन्ने लाग्छ’, उनी 
भन्छिन् ।

प्रतियोगिताका लागि मिहेनत भने गरिरहेको उनले बताइन् । आफ्नो बुद्धि विवेक र क्षमताले भ्याएसम्म मिस वर्ल्डमा आफ्नो बलियो उपस्थिति जनाउने उनको प्रण छ । विशेष गरि मल्टी मिडिया र ‘हेड टु हेड च्यालेन्ज’ विद्यामा अनलाइन मत दिएर सहयोग गर्न देश विदेशस्थित नेपालीलाई उनको आग्रह छ । ‘ब्यूटी वीथ अ परपोज’ अन्तर्गत आफ्नो परियोजनालाई अझ समर्थन गरिदिए उनी कृतज्ञ हुनेछिन् ।

‘विशेष गरि सकारात्मक प्रभाव फैलाउने मेरो ध्येय छ । आफ्नो क्षमताले एकजना मान्छेको जीवनमामात्र सुधार गर्न सकियोस् अनि विस्तारै 
परिवार, समाज, देश र विश्वलाई नै परिवर्तन गर्ने सोच हामीमा हुनुपर्छ’, ‘मिस इन्टेलेक्चुअल’ उपाधिकी विजेता समेत रहेकी अनुष्काले भनिन् ।

लन्डनको क्रिसमस श्रृंगार र उज्यालोले उनको मन तानेको छ । यहांका पौराणिक अनि अत्याधुनिक भवनहरुको समिश्रण र विकास देखेर दंग छिन् उनी । फूर्सदको समय बेलायतका नेपालीसंग भेटघाट पनि जारी छ । एनआरएनए पदाधिकारीपछि अनुष्काले सप्ताहन्त लन्डनस्थित नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीसंग भेटघाट गरिन् । आउनुअघि प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकामा नेपाली 
राजदूतसंग पनि उनको भेटघाट माहोल बनेको थियो ।

‘नेपाल सरकारको सकारात्मक धारणा छ । उहांहरुले तपाईं नेपालको राष्ट्रिय दूत नै हो भनेर ममा भूमिका निभाउन सक्ने क्षमता देख्नुभएकाले मिस नेपाल 
परिवर्तन र प्रभाव पार्न सक्ने पद रहेछ भन्ने लाग्छ’, उनी आफ्नो जितलाई उपलब्धि ठान्छिन् । अहिले नेपालमा पनि मिस नेपाल प्रतियोगितालाई प्रभावकारी र सामाजिक योगदान पुरयाउन सक्ने पदका रुपमा बुझ्न थालिएको अनुष्काको धारणा छ ।

‘मिस वर्ल्ड प्रतियोगिता’ यही डिसेम्बर १४ तारिख लन्डन एक्सेलमा हुने तयारी छ । कान्तिपुर

तस्बिर- शंकर श्रेष्ठ

प्रतिक्रिया

सम्बन्धित सामाग्री