हारेर झन् चर्चा बटुले धन सार्कीले

Dhan Sarki

धनबहादुर सार्की

लन्डन । यसपटक एनआरएनए यूके चुनावमा दुई प्यानल बने । गुट उपगुट, आरोप प्रत्यारोप । दुवै पक्षले सामाजिक, धार्मिक तथा जातीय ‘ट्याग’ भिडाउन कन्जुस् गरेनन् । तर, त्यो भिडमा अपवाद रहे उपाध्यक्ष पदमा स्वतन्त्र लडेका एक्ला उम्मेदवार धनबहादुर सार्की । उनले चुनाव जितेनन् तर बेलायतवासी सारा नेपालीको मन जितेका छन् ।

कुनै प्यानलको सहारा नलिइ सार्कीले अल्डरसटबाट ६५३, बेजिङस्टोकबाट १३७, बेलफास्टबाट ८, बर्मिङहमबाट ७२, कार्डिफबाट २४, एडिनबराबाट ५८, ग्लास्गोबाट ५८, हयारोबाट २६६, केन्टबाट १३२, लेस्टरबाट ८८, प्लमस्टिडबाट २४३, रेडिङबाट २६८ र स्वीन्डनबाट १७७ गरि २१२४ मत ल्याए । चुनावी सरगर्मी बढिरहंदा उनी खुट्टा भांचिएर बैशाखीको सहारामा थिए, हिंडडुल गर्न असहज । प्रचार प्रसार उस्तो हुन पाएन । तर, मतदाताले उनलाई स्वतस्फूर्त 
आफ्नो अभिमत जाहेर गरे ।

एनआरएनए यूके इतिहासमा स्वतन्त्रबाट उपाध्यक्षमा त्यति धेरै मत ल्याउने सम्भवतः उनी पहिलो उम्मेदवार हुन् । ‘यसलाई मैले जितकै रुपमा लिएको छु, यति धेरै नेपालीले मलाई विश्वास गर्नुभयो । म उहांप्रति एकदमै आभारी छु’, सार्की भन्छन् । मत परिणाम आएपछि प्रमुख निर्वाचन आयुक्त मेजर (रिटायर्ड) डमर घलेले सार्कीलाई भने, ‘धन भाई तपाईंले धेरैको मन जित्नुभएको छ । म स्यालुट गर्न चाहन्छु । तपाईं जस्ता निस्वार्थ र निस्कलंक समाजसेवी बेलायतलाई खांचो छ ।’

त्यसो त आफ्नो शपथ ग्रहण कार्यक्रममा नवनिर्वाचित अध्यक्ष पुनम गुरुङले सार्कीको साहसिक र निस्वार्थ उम्मेदवारीको प्रशंसा गर्दै आफूलाई साथ चाहिने बताएकी थिइन् ।

दलित, उत्पीडित जातीको प्रतिनिधित्व गरेको भनिएका शेर सुनार पक्षमा पनि सार्की लागेनन्, न महिला र तमुहरुको पकडमा रहेकी पुनम गुरुङको पक्षमा लागे । ‘मलाई दलित भनेर सान्त्वना मत तान्नु पटक्कै थिएन किनकि म नेपाली हुं । त्यसकारण कतैतिर नलागी एक्लै लडें’, उनले भने ।

लन्डनस्थित सामाजिक अभियन्ता सार्की हारेर पनि समाजसेवामा आफ्नो क्रियाशिलता झन् बढि हुने विश्वास दिलाउंछन् । ‘अवसर पाए एनआरएनए यूकेभित्र कुनै त कुनै जिम्मेवारी लिएर कार्यसम्पादन गर्न तयार छु’- उनले बताए ।

सिर्जनशील नेपाली समाज यूकेका पूर्व अध्यक्ष सार्कीले गत मार्चमा पहिलो पटक यूकेमा संयुक्त राष्ट्रसंघले मनाउंदै आएको अन्तर्राष्ट्रिय जातीय रंगभेद विरुद्ध कार्यक्रम गरेर चर्चा बटुलेका थिए । उनी अन्य विभिन्न सामाजिक संघसंस्थामा समेत आवद्ध छन् ।

गोरखा पुर्खेउली घर भएका सार्की १७ वर्षको उमेरमा ब्रिटिश आर्मीमा भर्ती भएका थिए । १५ वर्ष सेवा गरेर ब्रिटिश आर्मीबाट अवकास लिएपछि उनी उच्च शिक्षा हासिल गर्न सन् २००१ मा यूके आएका थिए । उनले आइल अफ म्यान कलेजबाट ‘होटल एण्ड विजनेश म्यानेजमेन्ट’ बाट ब्याचलर्स डिग्री गरेपछि सन् २००४ मा यूकेको ‘वर्क परमिट’ लिइ काम र समाजसेवा संगै थालेका थिए ।

कोहीप्रति कुनै आग्रह/पूर्वाग्रह नराख्ने उनको पहिचान बेलायतमा सालिन, निडर, कर्मठ र स्वच्छ छविका रुपमा स्थापित छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री