लन्डन । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले युरोपेली संघ (ईयू) बाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) बारे युरोपेली नेताहरूसँग छलफल गर्ने भएका छन् । जोन्सन पछिल्लो समय ब्रेक्जिटका कारण अप्ठ्यारोमा परेका छन् ।
जोन्सनले सोमबार ईयू प्रमुख जाँ क्लाउड यान्करसँग भेटवार्ता गर्ने बेलायती प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । ‘प्रधानमन्त्री जोन्सन सोमबार दिउँसो लक्जम्वर्ग जाने र ब्रेक्जिटबारे यान्करसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ,’ प्रधानमन्त्रीको कार्यालयका प्रवक्ताले बताए ।
ईयू प्रमुखबाट बिदा लिन लागेका यान्करसँग जोन्सनको प्रधानमन्त्रीका हैसियतमा यो पहिलो बैठक हुने छ । यद्यपि, आगामी बैठकबाट कुनै समाधानको अपेक्षा भने नगरिएको बेलायती सञ्चारमाध्यमले जनाएका छन् । यान्करसँगको कुराकानीपछि जोन्सनले लक्जम्वर्गका प्रधानमन्त्री जेभियर बेट्टेलसँग भेटवार्ता गर्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ । जोन्सनको लक्जम्वर्ग भ्रमण ब्रेक्जिट सम्झौताका लागि हुने युरोपेली प्रमुख नेताहरूसँगको अन्तिम भेट हुनेछ ।
यसअघि उनले जर्मनी, फ्रान्स तथा युरोपेली परिषद्का प्रमुख डोनाल्ड टस्कलगायतसँग छलफल गरेका थिए । ‘हामीले ब्रेक्जिट सम्झौताका लागि कडा गृहकार्य गरिरहेका छौं, छलफलहरू भइरहेका छन् तर यसका लागि लामो समय बितिसकेको छ त्यसैले वार्ताहरूबाट ठोस उपलब्धि हुने सम्भावना घटेर गएको छ,’ प्रधानमन्त्री कार्यालयका प्रवक्ताले भने ।
जोन्सन सम्झौतामार्फत् वा बिनासम्झौता तोकिएको समयभित्रै ईयूबाट अलग हुने पक्षमा छन् । बेलायत ईयूबाट बाहिरिने सयमसीमा अक्टोबर ३१ तोकिइसकेको छ । जोन्सनले ब्रेक्जिटको समयसीमा थप्न आफूले ईयू मुख्यालयलाई आग्रह नगर्ने बताउँदै आएका छन् । बेलायतकी पूर्वप्रधानमन्त्री टेरेजा मेले ईयूसँग गरेको सम्झौता बेलायती सांसदहरूले अनुमोदन नगरेपछि यसअघि दुई पटकसम्म ब्रेक्जिट प्रयास विफल भएका थिए ।
बेलायत कुनै पनि हालतमा ईयूबाट अलग हुनुपर्ने पक्षमा विपक्षी लगायतले विरोध जनाएपछि प्रधानमन्त्री जोन्सनले संसद्मा मध्यावधि चुनाव गराउने प्रस्ताव गरेका थिए । तर गतसाता संसद्मा भएको मतदानमा जोन्सन दोस्रोपटक असफल भएका थिए ।
बेलायतले आगामी अक्टोबर ३१ भित्र सहमतिसहित गरेर वा बिनाकुनै सहमति ईयूबाट बाहिरिनुपर्ने छ । तर गत सोमबार मात्रै महारानीले स्वीकृत गरेको एक कानुनले त्यसलाई परिवर्तन गरिदिएको छ ।
नयाँ प्रावधानअनुसार ईयूबाट बेलायतको बहिर्गमनबारे सम्झौता भए वा नभए पनि त्यसलाई सांसदहरूले अनुमोदन गर्नुपर्ने छ । सांसदले अनुमोदन नगरेसम्म प्रधानमन्त्रीले सन् २०२० को जनवरीसम्म ब्रेक्जिट प्रक्रिया लम्ब्याउन बाध्य हुने छन् । इकान्तिपुर
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’