केन्द्रिय नेताहरु साक्षी राखेर एनआरएनए यूकेको नवौं महाधिवेशन

लन्डन । गैर आवासीय नेपाली संघ युकेको नवौं राष्ट्रिय महाधिवेशन शनिबार अल्डरसटमा सम्पन्न भएको छ । अध्यक्ष योगकुमार फगामीको अध्यक्षतामा भएको अधिवेशन प्रमुख अतिथि बेलायतका लागि नेपालका 
राजदूत डा. दुर्गाबहादुर सुबेदी र गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष डा. शेष घलेले उद्घाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै राजदूत डा. सुबेदीले विगत दुई वर्षमा गैर आवासीय नेपाली संघ युकेले धेरै राम्रा कार्य गरेको बताए । उनले दक्षिणको डोभरदेखि उत्तरको एबरडिनसम्म संघलाई पुरयाएको र नेपालीलाई एकतावद्ध बनाएकामा अध्यक्ष फगामीलाई बधाई पनि दिए । 
राजदूतले नेपालीबीच एकतावद्ध र नेपालको आर्थिक सामाजिक सहयोगका लागि मन्थन गर्न एवं 
सधैं नेपाली भएर बांच्न, नेपाली भएर हांस्न अनि हांचेर बांच्न पनि आग्रह गरे ।

कार्यक्रममा संघका पूर्व अध्यक्ष शेष घलेले संघले स्थानीय मुलुकमा अब देखिने काम गर्नुपर्ने सुझाव दिए । संघको आगामी नेतृत्व निष्ठा भएको हुनुपर्ने पनि उनले बताए । घलेले गैरआवासीय नेपाली संघका हरेक कामलाई प्रभावकारी बनाएर लैजान आवश्यक भएको बताए । आगामी कार्ययोजनाको फेहरिष्त बनाई त्यसमा बृहत छलफल गरी एक आपसमा हातेमालो गर्दै अघि बढ्नुपर्नेमा उनले जोड दिए । केन्द्रको चुनावमा युकेबाट जाने करिब दुईसय प्रतिनिधिहरुलाई संघको बारेमा विशेष ध्यान दिन पनि उनले सुझाव दिए ।

टोकियो समितिको अधिवेशन सकेर १८ घण्टाको यात्रापछि कार्यक्रममा आइपुगेका संघका केन्द्रिय उपाध्यक्ष आचार्यले बेलायत एनआरएन पन्जिकृत सदस्यका हिसाबले विश्वकै ठूलो शाखा बनेकामा आफूलाई भाग्यमानी लागेको 
बताउंदै बेलायतको शिर उचो राखिराख्न नयां नेतृत्वलाई शुभकामना दिए । बेलायत एनआरएनको एउटा सशक्त देश हुनु गर्वको कुरा रहेको पनि उनले बताए । ‘एनआरएन हाम्रो, बनाउं राम्रो’ भन्ने आफ्नो नारा अहिले धेरै उम्मेदवारले बोकेकामा खुशी लागेको उनले उल्लेख गरे ।

एनआरएनए केन्द्रिय अध्यक्षका प्रत्यासी आचार्यले १२ वर्षसम्म कमिटीमा रहेर काम गर्दा आफ्नो आत्मालाई धोका दिने र नराम्रो काम कहिल्यै नगरेको बताउंदै भने, ‘म तलबाट आएको मान्छे, सिक्दै छु । अझै सिकेर केही गर्ने इच्छा छ, यसमा मलाई साथ दिनुहोस् ।’

बेलायतमा आफूले धेरै च्यारिटी कार्य गरेको स्मरण 
गर्दै ग्लोवल च्यारिटी टास्क फोर्सका संयोजक आचार्यले एनआरएनए यूके समितिलाई फाउण्डेशनको अवधारणा ल्याउन सुझाए । संविधानले गैर आवासीय नेपाली नागरिकता व्यवस्था गरेपनि कानून बन्दै गर्दा त्यसमा चनाखो हुन पनि उनले जोड दिए । डायस्पोरासंग भएको पूंजी, ज्ञान सीप नेपाल लैजान अनुकुल कानून बनाउन सबैको सहयोग आवश्यक रहेको उनको धारणा थियो ।

आगामी नेतृत्वका लागि अहिले देश दौडाहामा लागेका आचार्यले कुमार पन्त र आफ्नो सहमति भइसकेको भन्ने हल्ला नफैलाउन पनि आग्रह गरे । ‘राम्रोसंग हांसी खुशीले चुनाव लड्ने र जित्नेलाई सहयोग एवं 
हार्नेलाई सम्मान गर्ने हाम्रो सहमति भएको हो’- उनले भने, ‘मैले १२ वर्ष कमिटीमा काम गर्दा नराम्रो गरेको भए गाली गर्नुहोस् । तर, संस्थामा मैले निष्ठापूर्वक काम गरेको मुल्यांकन गर्ने जिम्मा अब तपाईंहरुलाई छोडेको छु ।’

कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष एवं आगामी कार्यकालको अध्यक्षका प्रत्यासी कुमार पन्तले निवर्तमान अध्यक्ष शेष घलेले अघि सारेको ‘भिजन २०२० एण्ड वियोन्ड’ को एजेण्डा आफ्नो मुख्य कार्ययोजना भएको बताए । ‘हामीले लगानीको कुरा, च्यारिटीको कुरा गर्छौं, नागरिकताको कुरा गर्छौं, श्रमिकको हक हित, कल्याणकोष, महिला र युवा सबैको कुरा त्यसैसंग जोडिएको छ’, उनले भने ।

फगामीले आफ्नो दुई वर्षे कार्यकालमा सहयोग 
गर्ने सम्पूर्ण कार्यसमिति र सबैप्रति आभार व्यक्त गरे । ‘हाम्रो एनआरएन राम्रो एनआरएन’ बनाउन आगामी नेतृत्वलाई शुभकामना दिंदै उनले नेतृत्वलाई बढि दोष दिनुभन्दा पनि के सहयोग गर्न सकिन्छ त्यसबारे सोच्न सुझाए । निर्वाचन एउटा प्रक्रिया भएपनि एनआरएनए यूकेको गरिमा थप उचाईंमा पुरयाउन उनले सामूहिक एकतामा पनि जोड दिए ।

समारोहमा संघका सल्लाहकार डा. हेमराज शर्मा, युरोप क्षेत्रका संयोजक शिब कुमार बरुवाल, संघका यूकेका पूर्व अध्यक्षहरु मेजर रिटायर्ड डमर घले, सुर्य गुरुङ र योगेन्द्र छेत्री, युकेबाट आइसीसी सदस्य कुमारी गुरुङ र रामशरण सिम्खडा, संघका पूर्व सल्लाहकार विश्वआदर्श पण्डित, संघका पूर्व प्रवक्ता मन छेत्री लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

सो अवसरमा संघले प्रकाशन गरेको मुखपत्र एनआरएन भ्वाइसको पनि विमोचन गरिएको थियो । मुखपत्रको सम्पादन प्रवक्ता रमेशसिंह सराङकोटीले गरेका छन् । त्यसैगरी मिस इंग्ल्याण्डकी सेकेण्ड रनर अप प्रतिष्ठा राउत र खेलाडी सिद्धार्थ 
गुरुङलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा उपमहासचिव विनय अधिकारीले स्वागत मन्तब्य दिएका थिए । उद्घाटन समारोहपछि बन्द सत्रमा कोषाध्यक्ष सचिन श्रेष्ठले संघको आर्थिक र महासचिव आरके त्रिपाठीको वार्षिक प्रतिवेदन पेस गरिएको थियो । साथै विधान संशोधन पनि पेश गरिएको थियो ।
संघको नयां नेतृत्वका लागि आगामी सेप्टेम्बर १४ मा हुने चुनावमा अध्यक्ष पदमा पुनम गुरुङ र शेरबहादुर सुनारबीच प्रतिष्पर्धा छ ।

तस्विर एभरेष्ट मिडिया

प्रतिक्रिया

सम्बन्धित सामाग्री