बेलायतका बाल नक्षत्रहरुले देखाए यस्तो प्रतिभा

लन्डन । नेपालको झल्को दिने गरी बेलायतको चाल्टन मेरिडियन स्पोर्टस क्लबमा आयोजित प्रतिभा नक्षत्र २०१९ को उपाधि मुस्कान घिमिरे र मुस्कान श्रेष्ठले जितेका छन् । साना–साना बालबालिकाले विभिन्न नेपाली पहिरनमा तोते अङ्ग्रेजी लवजमा नेपालीमा आफ्नो परिचय दिंदै बुद्ध नेपालमा जन्मिएका हुन्, विश्वको उच्च शिखर सगरमाथा नेपालमा पर्छ भनिरहंदा कार्यक्रममा उपस्थित धेरैको आंखा रसाएका थिए । प्रवासी जीवनयापन गरिरहंदा हरेक दिन जसो आफ्नो मातृभूमिको याद आइरहेको हुन्छ । विदेशमै जन्मिएर यहीं हुर्किरहेका दोस्रो पुस्ताका साना बालबालिकाले नेपालको वर्णन गरिरहंदा अविभावक र उपस्थित अन्य व्यक्तिहरु भावुक हुनु स्वभाविक थियो ।

बेलायती नेपाली समुदायमा वर्षेनी कयौं कार्यक्रम आयोजना गरिंदै आएको छ तर सम्भवतः प्रतिभा नक्षत्र पहिलो कार्यक्रम हो जसले बेलायतमा हुर्किरहेका बालबालिकालाई समेट्दै नेपालको हरेक जात, धर्म, कला संस्कृतिसहित सिङ्गो देशको प्रतिनिधित्व गर्छ । जस्का कारण कार्यक्रम अन्य भन्दा वृहत र पृथक रह्यो ।

प्रवासमा रहेपनि नेपाली भाषा, भेषभुषा, कला, संस्कृति, साहित्य, परम्परा र नेपालीपन जोगाई राख्नुका साथै यसलाई युवा पुस्तामा हस्तान्तरण गरी सम्पूर्ण नेपाली समुदायलाई एक ढिक्का बनाई राख्ने उद्देश्यले राजेन्द्र खसको परिकल्पना र कलाकार मनिष श्रेष्ठको संयोजनमा प्रतिभा नक्षत्र सन् २०१७ मा स्थापित भएको हो ।

संस्थाकी अध्यक्ष सिमी पुनको सभापतित्वमा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीको प्रमुख आतिथ्य रहेको सो कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङ, विशिष्ठ गायकद्वय दीप श्रेष्ठ र योगेश्वर अमात्य, ग्रीनवीच बरोका लेबर पार्टी सांसद म्याथ्यू पेनिकुक, ग्रीनवीच काउन्सिलका डेप्युटी लिडर डेभिड गार्डनर लगायत अन्य व्यक्तिहरुको उपस्थिति थियो ।
स्थानीय सांसददेखि काउन्सिलका प्रतिनिधि समेत उपस्थित कार्यक्रममा खादा, भाषणका लागि समय उपलब्ध नगराइने भएकाले होला आफूलाई नेपाली समुदायको अगुवा, बरिष्ठ समाजसेवी, एनआरएन अभियन्ता मान्ने र विभिन्न सघं संस्थाका प्रतिनिधिहरुको उपस्थिति भने न्यून रह्यो ।

विगतका वर्षमा हलभित्र आयोजना गरिंदै आएको प्रतिभा नक्षत्र यस पटक खुल्ला मैदानमा मुख्य दुई अवधारणामा विभाजित थिए । पहिलो, खुल्ला मैदानमा भएका विभिन्न व्यापारिक, सूचना, स्वास्थ्य, नेपाली खानाहरु, नेपाली साहित्यिक घर, प्रतिभा नक्षत्र घरका प्रदर्शनीहरु थिए, जसले स्थानीय समुदाय एकता र आफ्ना मौलिकताहरु विभिन्न समुदायमा आदानप्रदान गराउने काम गरेका थिए ।

दोस्रो स्टेजमा विभिन्न कला क्षेत्रमा प्रतिसपर्धा गर्न बाल र युवा गरी २१ जना प्रतिस्पर्धीले भाग लिएका थिए । बालबालिका तथा युवायुवतीको प्रतिभा प्रदर्शनले उपस्थित सबैमा रोचकता छाएको देखिन्थ्यो । यस प्रतियोगितामा बाल विद्यातर्फबाट पहिलो, दोस्रो र तेस्रो क्रमशः मुस्कान श्रेष्ठ, नित्याश्री खरेल र माया इबिरे वारिका भएर नगद पुरस्कार क्रमशः ३००, २०० र १०० पाउण्ड सहित गिफ्ट हयाम्पर प्राप्त गरे साथै बांकी सबैले ट्रफी र प्रमाण पत्र प्राप्त गरेका थिए । त्यस्तै बाल विद्यामै बेष्ट पर्फर्मेन्समा आर्या अधिकारी र वेष्ट नृत्य प्रस्तोतामा निश्चलता राईले त्रमशः ५० पाउण्डसहित प्रमाण पत्र र मायाको चिनो प्राप्त गरेका थिए ।

युवा विद्यातर्फ पहिलो, दोस्रो र तेस्रो क्रमशः मुस्कान घिमिरे, निश्चल गुरुङ र रुपा चाम्लिङ राई भई ५००, ३०० र २०० पाउण्ड नगद सहित पहिलोले पेन्टिङ, गिफ्ट हयाम्पर, ट्रफी र प्रमाणपत्र पाए भने बांकी सबैले ट्रफी र प्रमाण पत्र प्राप्त गरे । बालबालिका, युवाहरुको प्रतिभालाई प्रोत्साहन गर्न कम उमेरमा पुस्तक लेख्ने बाल प्रतिभा निशान्त कार्कीलाई सम्मानपत्र र युवातर्फ वेष्ट नृत्यमा एरोन गुरुङले ५० पाउण्ड नगद सहित प्रमाण पत्र र मायाको चिनो प्राप्त गरे । सोही अवसरमा वरिष्ठ गायक दीप श्रेष्ठ र गायिका मिरा राणालाई चित्रकार निमा दोर्जेद्वारा बनाइएको गायक गायिका स्वयंकै ‘पोट्रेट’ चित्रकला प्रदान गरी सम्मान गरिएको थियो ।

निर्णायक मण्डलको भूमिका प्रख्यात वरिष्ठ गायिका मिरा राणा, गायिका शर्मिला बर्देवा, सञ्चारकर्मी श्रद्धा अर्याल साथै नृत्य निर्देशक शान्त कुमार थापा मगरले निभाएका थिए । कार्यक्रममा बेलायतका विभिन्न शहर स्कटल्याण्ड, वेल्स, मिडल्याण्ड, ससेक्स, इसेक्स, केन्ट लगायत युरोपबाट पनि विभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थिति थियो ।

प्रमुख अतिथि, विशेष अतिथिहरुले कार्यक्रम निकै प्रभावकारी र उद्देश्यमुलक भएको प्रतिक्रिया दिए । त्यस्तै गायक योगेश्वर अमात्यले नेपाली कला संस्कृति प्रवर्धन गर्ने उदेश्यले आयोजना गरिएको यस्ता किसिमका कार्यक्रमलाई नेपाली दूतावासबाट आर्थिक सहयोग हुनु पर्ने र यदि आर्थिक सहयोग गर्न नसके राजदूत आफैं टिकट काटेर उपस्थित हुनुपर्ने जिकिर गरे ।

विजया दहाल भण्डारीको संयोजन रहेको प्रतिभा नक्षत्र २०१९ को पहिलो चरणको कार्यक्रम संस्थाका महासचिव लक्ष्मण गुरुङले सञ्चालन गरेका थिए भने दोस्रो चरणको प्रतियोगितात्मक कार्यक्रम सूर्य गुरुङ र सोफिया महर्जन कार्कीले सञ्चालन गरेका थिए । स्टेज कार्यक्रम सञ्चालन गर्न पोक्त सोफियालाई सोही कार्यक्रमका लागि भनेर आयोजकले बेल्जियमबाट झिकाएका थिए ।

मध्यान्ह १२ देखि सांझ ७ बजेसम सञ्चालन भएको कार्यक्रममा उपस्थित सबैले नेपाली खाना, कला, साहित्य लगायत कुरामा आफूलाई भुलाई पूर्ण मनोरञ्जन लिएका थिए ।

बेलायती नेपाली समुदायमा फरक पहिचान सहित स्थापित संस्था प्रतिभा नक्षत्रले यस वर्ष बिग लोट्रीले प्रदान गर्ने कम्युनिटी फन्डबाट केही रकम प्राप्त गरेको थियो । बिग लोट्रीले स्थानीय स्तरमा कुनै पनि संस्थाले गर्दै आएको कार्य हेरेर ‘कम्युनिटी फन्ड’ प्रदान गर्ने गर्छ । तस्वीर-आशिष महर्जन

प्रतिक्रिया

सम्बन्धित सामाग्री