वेल्समा भ्रमण वर्ष प्रवर्धन गर्न ३ दिने पैदल यात्रा

ब्रेकन (वेल्स) । नेपाल भ्रमण बर्ष २०२० प्रवर्धन गर्ने उद्देश्यले वेल्सको ब्रेकनमा अगस्ट २ देखि ४ तारिखसम्म ३ दिने क्याम्पिङ र हाइक फर नेपाल (लामो दुरीको पैदल यात्रा) भएको छ। पोखरेली मन्च यूके र वी विल राइज फाउन्डेशनको संयुक्त आयोजनामा आयोजित हाइक फर नेपालको सो कार्यक्रमले संयुक्त अधिराज्यको वेल्सलाई करिव चार घण्टा नेपालमय बनायो । बेलायतभरबाट सहभागी हुन आएका विभिन्न उमेर समूहका करिब ३०० जना पैदल यात्रीहरुले वेल्सको लाङ्गघोर्स माउन्टेनमा ९ किलोमिटर लामो पैदल यात्रा बडो उत्साह र उमंगका साथ पुरा गरे। जसमा कान्छो उमेर ४ बर्ष देखि थुप्रै स्वदेशी तथा बिदेशी सिनिएर सिटिजनको पनि उपस्थिति थियो।

नेपाल सरकारले घोषणा गरेको पर्यटन प्रर्वद्धन अभियानलाई सक्दो सहयोग गर्ने दायित्व संसारभर रहेका प्रवासी नेपालीहरुको पनि रहेको उल्लेख गर्दै हाइकिङ कार्यक्रमका प्रमुख संयोजक खुशीमान गुरुङले आगामी वर्षहरुमा पनि यसलाई निरन्तरता दिइने बताएका छन् ।

आयोजना स्थलमा नेपालको मानचित्र, शान्तिका अग्रदूत भगवान गौतम बुद्धको आकृती र भूकम्पले तहसनहस पारेको ३ करोड नेपालीको अमूल्य धरोहर ‘धरहरा’ निर्माण गरी विश्व शान्तिका लागी दीप प्रज्वलन समेत गरिएको थियो । भूकम्पमा ज्यान गुमाउनेहरुको स्मृति सँगै नेपालकै पहिचान बनेको उक्त धरहरा यथासक्य छिटो निर्माण सम्पन्न गरियोस भन्ने सन्देश स्वरुप सोको प्रतिमूर्ती बनाइएको पोखरेली मंचका अध्यक्ष मानप्रसाद गुरुङले बताए । आयोजना स्थललाई नेपालमय बनाउन र सो सन्देश दिन करिब ६ मिटर (१८ फिट) अग्लो धरहरा गुरुङ आफैले निर्माण गरेका थिए।

कार्यक्रममा मुख्य अतिथी बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुबेदीले यस्ता कार्यक्रमले निरन्तरता पाइरहनु पर्ने उल्लेख गर्दै माउन्ट एभरेष्ट नामाकरण गर्ने सर जर्ज एभरेष्ट बेलायतकै भएकाले पनि दुई देशको सम्बन्ध थप गहिरो बनेको बताए । 

‘नेपालका लागि सँगसँगै पाईला चालौं’ भन्ने नाराका साथ भूकम्पपछि थलिएको नेपालको पर्यटन प्रर्वद्धन हेतु वि विल राइजको पहलमा हङकङबाट सुरु भएको हाइक फर नेपाल तेस्रोपटक बेलायतको वेल्समा आयोजना गरिएको हो । बिदेश बसेपनि नेपालप्रति हरेक नेपालीले आफ्नो देशको लागि केही गर्नुपर्छ भन्ने दायित्वबोध गराउने खालका यस्ता कार्यक्रम संसारभर आयोजना गर्न सकिने जनाउँदै हङकङबाट सहभागिता जनाउन आएका फाउण्डेसनका संस्थापक तुलसी गुरुङले सबैलाई आ-आफ्नो स्थानबाट मुलुकका लागी सकेको पहल गर्न अनुरोध गरे ।

आयोजक पोखरेली मञ्चका अध्यक्ष मानप्रसाद गुरुङले यस्ता कार्यक्रमले नेपालीहरुबीच सद्भाव, भातृत्व र सौहार्द्रता बढाउने मात्र नभएर नेपालप्रति चासो र चिन्तन जगाउने एवं पर्यटनको विकासमा पनि महत्वपूर्ण भूमिका खेल्ने जनाए ।

कार्यक्रममा अन्य स्थानीय विशेष अतिथीहरुमा ब्रेकनका मेयर काउन्सिलर एन माथिएज, धम्पूस र ब्रेकन ट्वीनिङ कमिटी यूके का अध्यक्ष काउन्सिलर डेविड मेडिरिथ, गत मे १९ मा सर्बोच्च सिखर सगरमाथाको सफल आरोहण गरेका क्याप्टेन गेथिन डेभिस, एनआरएन यूके उपाध्यक्ष श्रीमती पुनम गुरुङ, ‘मिस्टर यूके नेपाल २०१९’ मनन गुरुङ थिए ।

त्यस्तै नेपालबाट आएका अतिथीहरु डाइरेक्टर अफ ईस्टर्न यूनिभर्सिटी प्रोफेसर डाक्टर बिजु थपलिया, नेपाल संस्कृत विश्व विधालयका नगेन्द्रराज रेग्मी, नारदप्रसाद पौडेल, नेपाल प्रज्ञा प्रतिष्ठानका भरतकुमार सुवेदी, परराष्ट्र मन्त्रालयका कृसु क्षेत्री लगायत अन्य थुप्रै स्थानीय र बिदेशी ब्यक्तित्वहरुको समेत सहभागिता थियो । 

यसपटकको ‘हाइक फर नेपाल’ मा ब्यक्ति, परिवार अलावा केही संस्थाहरु पनि सामूहिक रुपमा जोडिन आएका थिए । जसमा तमुधि यूकेका उपाध्यक्ष हरि गुरुङ, सहारा यूके परिवार र पीपल मोर्ट्गेजको ठूलो समूह थियो । सहारा यूकेले वर्षेनी जुलाईमा गर्ने आफ्नो क्याम्पिङ कार्यक्रम यो पटक थाती राखी अध्यक्ष कुमार गुरुङको अगुवाईमा हाइक फर नेपालमै जोडिन आएका थिए । साथै पीपल मोर्टगेजका डाइरेक्टर सूर्यप्रकाश गुरुङ आफ्ना सहकर्मीहरुको ठूलो यूवा जमात लिएर सम्मिलित भए । सबै सहभागी टिमप्रति आयोजकले हार्दिक आभार प्रकट गरेको छ । साथै भविष्यमा थप संस्थाहरु जोडिन आउने आशा पनि राखेको छ । यस पटकको हाइकिङमा उल्लेख्य संख्यामा यूवा जमातको सहभागिता रहनु सकारात्मक पक्ष मानिएको छ ।

आयोजनास्थल सुन्दर शहर ब्रेकन र धम्पुसबीच गत फेब्रुअरीमा मुख्य संयोजक मेजर गुरुङको पहलमा मितेरी साइनो पनि गाँसिएकोले ब्रेकनबासीको मनमा नेपाल प्रति थप माया, सद्भाव र चासो बढेको छ । 

गत बर्ष १५० जतिको सहभागिता रहेको ‘हाइक फर नेपाल’ मा यस पटक आयोजकले ३०० जति सहभागीको अपेक्षा गरे अनुरुप ठ्याक्कै दोब्बरकै संख्यामा सहभागिता बढ्नु एकदमै सकरात्मक पक्ष रहेको र कार्यक्रम बेलायतबासीमाझ लोकप्रिय बन्दै गएको ज्वलन्त उदाहरण हो भन्ने कुरा सो क्याम्पेनका लागि अहोरात्र खटिएका संयोजक मेजर गुरुङले  बताए । आगामी वर्षहरुमा यसलाई अझ बृहत र थप ब्यवस्थित बनाउदै लैजाने उनले बताए ।

ब्यस्त बेलायती जीवनशैलीबाट केही दिन उम्किएर ३ दिने क्याम्पिङ र हाइकिङमा बेलायतभरबाट आएका सहभागीले भरपूर आनन्द उठाए । शहरको कोलाहलबाट टाढा शान्त, सुन्दर डाडाकाडांले घेरिएको ब्रेकनको लोङ्गघार्स चढ्दा अधिकांशले गांउघरको तिर्सना मेटिएको बताए भने नयां पिढीका युवावर्ग र बालबालिकाले कम्तीमा बर्षको एकपटक स्वदेश जानुपर्छ भन्ने प्रेरणा मिलेको बताए ।

कार्यक्रममा प्रायोजकहरु सूर्य गुरुङ (पीपल मोर्ट्गेज), एक आले (गोर्खा रेस्टुरेन्ट), सूर्य गुरुङ (गोर्खा प्यालेस फार्नबोरो), सीता गाहा
(प्याराडाइज हेयर एन्ड ब्यूटी सलुन, ब्रेकन), सेरा गुरुङ (याक एन्ड यति रेस्टुरेन्ट, बाथ), कमल र पुनम गुरुङ (गोर्खा सेफ, न्यूबरी) धनु थकाली र जगन गुरुङ (डी एन्ड जे हिटिङ एण्ड बोइलर) र फोटो पत्रकार मिलन तमु (एभरेष्ट टाइम्स र गोर्खा मिडिया) लाई आयोजकले धन्यबाद दिए । 

हाईकिङपश्चात ब्रेकन हाई स्कूलमा रात्रीभोज र सांस्कृतिक कार्यक्रम गरिएको थियो । जसमा स्थानीय कलाकारहरु सिमरन बयम्बू, साईमन बयम्बू र सोनिया पुनले नृत्य प्रस्तुत गरेका थिए भने लोकप्रिय नेपथ्य ब्यान्डका पूर्व गायक रबिन श्रेष्ठको अगुवाईमा अन्य स्थानीय कलाकारहरु ममता गुरुङ, लालप्रसाद गुरुङ, राजु गुरुङ, बिनय पुन, जीवन गुरुङ आदिले भरपूर मनोरन्जन दिलाए । स्टेज शो पश्चात डिजे दिपु गुरुङको ननस्टप गीत संगीतमा राती १२ बजेसम्म सबै झुमे । 

क्याम्पिङको पहिलो दिन औपचारिक कार्यक्रम पश्चात् पनि कलाकारहरुले नेपाली राष्ट्रिय र अन्य राष्ट्रिय स्वाभिमानका गीतहरु गाउँदा वातावरण रमणीय बनेको थियो । क्याम्पिङको दुबै रात भोजन बन्दोबस्त ब्रेकनस्थित द न्यू गोर्खा इनले मिलाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री