
काठमाण्डौ । नेपालयले आयोजना गर्दै आएको सांगीतिक कार्यक्रम ‘पलेँटी शृङ्खला’ मा संगीतकार शान्ति ठटालले धुन भरेको मुना-मदन प्रस्तुत भएको छ । कालिकास्थानस्थित नेपालयको ‘आर’शालामा प्रस्तुत भएको मुना-मदनले प्रेक्षायलमा उपस्थित श्रोता, दर्शक भावुक बनेका थिए । गायक, गायिका र वाद्यवादकका बीच हार्मोनियमका साथ उपस्थित शान्ति ठटालको मुहारमा पनि भावुकताको झलक पाइन्थ्यो ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको कृति मुना-मदनमा शान्ति ठटालले सन् ७७ ताका संगीत भरेकी थिइन् । उनकै अगुवाइमा गान्तोकमा यसको प्रदर्शन पनि भएको थियो । गीति-नाटककै स्वरुपमा प्रदर्शित भएको सो कृतिका धुनको अभिलेख भने थिएन । नेपालयको अनुरोधमा शान्ति ठटालले मुना-मदनका पुराना धुनलाई परिमार्जन गर्दै पलेँटी टीमका साथ प्रस्तुत गरेकी हुन् ।
यसपालीको पलेँटीलाई शान्ति ठटालको लामो सांगीतिक जीवनको उत्सवको रुपमा प्रस्तुत गर्ने उद्घोष गरिएको कार्यक्रमलाई दुई भागमा विभाजन गरिएको थियो । कार्यक्रमको पहिलो चरणमा ठटालको गायन-यात्राको चर्चा गर्दै उनका चारवटा गीत प्रस्तुत भएका थिए । पलेँटीबाटै आफ्नो सांगीतिक जीवनलाई सक्रिय बनाएकी मीना निरौलाले ठटालका पुराना गीत सुनाएकी थिइन् ।
‘म सानैदेखि गीत गाउनमा रुचि राख्थेँ, कुनै सभा-समारोहबाट गाउने निम्ता आयो भने स्कुल पोसाकमै दौडन्थेँ । संगीतको त्यही मोहले संगीतका हस्तिहरूसँग संगत गर्ने मौका जुर्यो । त्यही क्रममा संगीतकार अम्बर गुरुङले रचेर धुन भरेको ‘सम्हालेर राख’ गाउने मौका जुर्यो । उहिल्यै राजा महेन्द्रको जन्मोत्सवमा काठमान्डौ आएका बखत रेडियो नेपालमा रेकर्ड भएपछि यो गीतले मलाई यता पनि चिनायो ।‘ शान्ति ठटालले जानकारी गराएसँगै मीनाले सुनाइन्- ‘सम्हालेर राख; संगालेर राख, फेरि फुल्ने हो कि होइन जीवनको फूल’ ।
कार्यक्रमको दोस्रो गीत कवि बैरागी काइँलाले रचेको मधुर गीत थियो । कवि काइँला दार्जिलिङमै विद्यार्थी छँदा अम्बर गुरुङले नै संगीत भरेको ‘मेरो दुखी मन’ रेडियो नेपालमा एक्कै दिन रेकर्ड भएका थिए । ‘त्यो दिन काठमाण्डौ घुमेर थाकेकै अवस्थामा रेडियो नेपाल घुम्न पुगेका थियौं । त्यही दिन अरुणाको स्वरमा पनि सात वटा गीत रेकर्ड भएका थिए ।‘ यो जानकारीसँगै शान्तिले आफूहरूलाई शहर घुमाएर रेडियो नेपाल पुर्याउने गायक पुष्प नेपालीको सम्झना गरिन् । उनको यो सम्झनासँगै मीनाकै स्वरमा ‘मेरो दुखी मन, सपना नखोज’ गुञ्जिएको थियो । शान्ति ठटालको गायन यात्राको चर्चासँगै प्रस्तुत भएको तेस्रो गीत ‘आकाश झुक्यो, धरती उठ्यो, खेल हो कि मेल हो, तृष्णा मेट्ने पानी पाए, पिउने हो कि भेल हो’ ले ‘आर’शाला गुञ्जायमान भयो ।
त्यसपछि शान्ति ठटालको संगीत सृजनाको पाटोको चर्चा भएको थियो । कार्यक्रम संचालन गरिरहेका पलेँटी संयोजक आभासले गायिकाबाट संगीतकारमा प्रवेश गर्दाको क्षण सम्झन अनुरोध गरे । ‘मैले सबैभन्दा पहिला धुन भरेका गीतमा मेरी भाउजू शशी ठटाल र अम्बर गुरुङका गीत पर्छन् । भाउजूले भानु जयन्तिका निम्ति भानुभक्त सम्बन्धि गीत लेख्नु भएको थियो । अम्बर गुरुङले रचेको गीत भने ‘म अचानक नै अडेँ’ थियो । संचालकको अनुरोधमा उनले सोही गीतको स्थाई गाएर सुनाउँदा उपस्थित दर्शक, श्रोताको तालीले ‘आर’शाला गुञ्जायमान भएको थियो । कार्यक्रम संचालकले ‘अम्बर गुरुङ आफैँ सफल संगीतकार हुनुहुन्थ्यो; उहाँले लेखेको गीत तपाईंको धुनमा सजिन कसरी आइपुग्यो ? भन्ने जिज्ञासा राख्दा शान्तिले भनिन्- ‘खै के लागेर हो ? अम्बर गुरुङले मलाई धुन भर भनेर यो गीत दिनुभयो । मैले धुन भरेँ । अम्बर गुरुङकै सामुन्नेमा सुनाउने आँट भने आएन । एउटा सांगीतिक जमघटमा मैले अम्बर गुरुङका सामुन्ने सुनाउन अनकनाएपछि, उहाँ अर्को कोठामा जानुभयो र मैले सुनाएँ । ‘हँसमुख शान्तिले अगाडि थपिन्- ‘नेपथ्यमा बसेर गीत सुनिरहेका अम्बर गुरूङको प्रतिक्रिया भने आज नभनूँ ! मेरै मुखबाट यो कुराभन्दा अलि बडप्पन हुन्छ ।‘ ठटालको यो धारणाको लगत्तै दर्शकदीर्घाबाट कवि मञ्जुलको आवाज सुनियो- ‘भन्नुस् न ! अम्बर दाइले त्यतिबेला के भन्नुभयो ?’ हिचकिचाइरहेकी शान्तिले भनिन्- ‘अनि ! भन्नु नै ?’ ‘भन्नुस् न !’ अम्बर गुरुङले भन्नुभयो- ‘यो गीतमा मैले नै धुन भरेको भए पनि यत्तिको राम्रो हुनेथिएन !’ अम्बर गुरुङ जस्तो मूर्धन्यको त्यो प्रतिक्रियाले मलाई संगीतकार बन्ने आत्मबल दियो ।‘ शान्तिको अभिव्यक्तिसँगै हल फेरि तालीले गुञ्जियो ।
ठटालको सांगीतिक जीवनको चर्चाकै क्रममा उनले संगीत भरेको चलचित्र ‘परालको आगो’ र ‘बाँच्न चाहनेहरू’को पनि सन्दर्भ उठेको थियो । कार्यक्रममा ‘बाँच्न चाहनेहरू’ चलचित्रकी मूल गायिका शान्ति ठटालको दाहिलेतिर बसिरहेकी थिइन् । शान्ति ठटाललाई नेपाली चलचित्रमा संगीत भर्ने प्रथम महिला संगीतकारको रुपमा पनि लिइन्छ । चलचित्र संगीतमा उनको संलग्नताको सन्दर्भकै क्रममा अरुणा लामाको स्वरमा रेकर्ड भएको गीतलाई मीनाले नै सुनाइन्- ‘उडी जाऊँ भने म पन्छी होइन; बस्नलाई हे लै मन छैन’ ।
कार्यक्रमको दोस्रो चरणमा प्रस्तुत भएको थियो मुना-मदन । महाकवि लक्ष्मीप्रसाद देवकोटाको गीति नाटक मुना-मदनलाई ठटालले आफूले पहिले रचेको धुनलाई सम्झँदै परिमार्जन गरेकी हुन् । सिक्किममा बसेर परिमार्जन गरेको यो धुनमा मुना-मदनको झ्याउरे भाकाको लोकप्रिय शैलीकै झलक रहेको छ । नारायण गोपालले आफैँले धुन भरेर गाएको मुना-मदनमा पनि झ्याउरे भाकाको उही लोक शैलीको रङ्ग समेटिएको पाइन्छ ।
पलेँटीमा ठटालको धुनमार्फत् प्रस्तुत भएको मुना-मदन कथा वाचन शैलीमा प्रस्तुत भएको थियो । त्यसैले मुना-मदनलाई चरित्र केन्द्रीत नगरी कथा वाचनको रुप प्रदान गरिएको थियो । प्रस्तुति र कथालाई एकसाथ समेट्नका निम्ति भूषिता वशिस्ठले सूत्रधारको भूमिका निभाएकी थिइन् । मुना-मदनको शुरुवातमा भूषिताले मुना-मदनलाई वर्तमान नेपाली समाजको अवस्थासँग तुनला गर्दै भनिन्- ‘महाकवि देवकोटाले नेवारी लोक रचनाबाट प्रभावित भएर रचेको मुना-मदनको सन्दर्भलाई भोटतिर नजोडी खाडी मुलुकतिर जोड्यो भने यो कथा अहिले पनि उत्तिकै सान्दर्भिक लाग्छ’ । मुना-मदनका धुन भरिएका हरफहरूलाई बिमला सेञ्चुरि प्रधान, मीना निरौला, बलराम समाल र आभासले स्वर दिएका थिए । झण्डै ४५ मिनेटमा समेटिएको कथालाई प्रस्तुत गर्ने क्रममा मुना-मदनको वियोगान्त कथाले सबैलाई भावुक बनाएको देखिन्थ्यो । सूत्रधारकै आँखाका गहसमेत टिलपिल देखिन्थे ।
अन्तिममा प्रस्तुत भएका हरफ- ‘हे मेरा भाइ ! ती तिम्री मुना मरेकी छैनन् ती, ज्योतिको स्वरुप लिएर गइन् बगैँचा बसन्ती !’ को प्रस्तुतिपछि ‘आर’शालामा भावुक मौनता फैलिएको थियो । मौनतालाई तोड्दै दर्शकदीर्घामा रहेकी कवि शिरोमणि लेखनाथकी नातिनी डा. प्रतिभा पाण्डेले भनिन्- ‘झण्डै रोइएन !’ पुराना कुटनितिज्ञ डा. भेष बहादुर थापा र डा. रिता थापा पनि थप्दै थिए- ‘साँच्चै पावरफूल, एक्सिलेन्ट !’
पलेँटीको वाद्यवादनतर्फ कीबोर्डमा दिनेश रेग्मी, बाँसुरीमा बलराम समाल, तबलामा सन्देश महर्जन, गिटारमा सुरज प्रधान र प्रकसनमा सुन्दर कुमार महर्जन रहेका छन् ।
शुरुमा अँग्रेजी महिनाको अन्तिम शुक्रवार एक दिन मात्र हुने गरेको पलेँटी कार्यक्रम केही महिनादेखि महिनाको अन्तिम सप्तान्त- शुक्रवार, शनिवार र आइतबार गरी तीन दिन संचालन हुँदै आएको छ । त्यसैले यसपालीको पलेँटी पनि शनिबार र आइतबार समेत निरन्तर छ ।
फोटो- अविरा श्रेष्ठ / नेपालय
‘स्ट्रेट अफ हर्मुज’ पुनः सञ्चालनका लागि बेलायत र फ्रान्सले पहल गर्ने
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
नेपालका राष्ट्रपति पौडेलद्वारा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीलाई शपथ
ठगीमा परेका ५१ नेपालीको कम्बोडियाबाट उद्धार
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
कसरी भयो बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च ?
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री
एनआरएनए नेतृत्वद्वारा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु