लन्डन । प्रधानमन्त्री टेरेजा मेको राजिनामापछि कन्जरभेटिभ दलको नेता र प्रधानमन्त्री पदका लागि बलियो दावेदार ठानिएका बोरिस जोन्सनले अध्यागमन नियन्त्रणमा जोड दिएका छन् । पूर्व विदेशमन्त्री तथा प्रधानमन्त्री दौडमा पहिलो स्थानमा रहेका जोन्सनले ब्रेक्जिटपछि अध्यागमन नियन्त्रण गर्न अष्ट्रेलिया जस्तो पोइन्टमा आधारित प्रणाली ल्याउने अठोट गरेका हुन् ।
सत्तारुढ दल कन्जरभेटिभको नेता बन्न प्रतिष्पर्धामा रहेका जोन्सन र जेरमी हन्ट अहिले विभिन्न वहसमा व्यस्त छन् । दलको नेता नै करिब महिना दिनपछि बेलायतको नयां प्रधानमन्त्री बन्नेछ ।
पूर्व विदेशमन्त्री जोन्सनले बेलायतमा पोइन्टमा आधारित अष्ट्रेलियन अध्यागमन प्रणाली अवलम्बनबारे राम्ररी हेर्न माइग्रेसन एड्भाइजरी कमिटीलाई आव्हान गर्ने बताएका हुन् । माइग्रेसन एड्भाइजरी कमिटी एउटा स्वतन्त्र निकाय हो जसले सरकारलाई अध्यागमनसम्बन्धि राय सुझाव दिने गर्छ ।
ईयू जनमत संग्रहमा बेलायत बाहिरिनुपर्ने पक्षमा नेतृत्वदायी भूमिका निर्वाह गरेका जोन्सनको अष्ट्रेलियाली प्रणालीबाट बेलायतले पनि सिक्नुपर्ने तर्क छ । तर, जोन्सनले अष्ट्रेलियन सिस्टमको कस्तो पक्ष अंगाल्न खोजेका हुन् अस्पष्ट छ । बोरिसले उच्च शिक्षा अध्ययन गर्न आउने अन्तर्राष्ट्रिय विद्यार्थी र बेलायतमा भइसकेकाको परिवार झिकाउन कस्तो नियम चाहेका हुन् त्यो स्पष्ट नभएको बीबीसीले उल्लेख गरेको छ ।
अष्ट्रेलियन प्रणालीमा उमेर, सीप, शैक्षिक योग्यता, अंग्रेजी भाषा ज्ञान, जागिर अफर आदिका आधारमा पोइन्ट दिइन्छ र उच्च स्कोर प्राप्त गर्न सक्नेले भिजा पाउंछ । त्यसो त बेलायतमा यसअघि नै ईयूबाहेकका नागरिकका हकमा पोइन्टमा आधारित भिजा प्रणाली लागू भइसकेको छ । पढ्न ‘टियर फोर’ छ भने ‘टियर टु’ भिजा अन्तर्गत बेलायतमा जागिर अफर र तलव ‘थ्रेसहोल्ड’ पुरा भए काम गर्न अनुमति (वर्क परमिट) हुनेछ ।
ब्रेक्जिट जनमत संग्रह हुनु करिब तीन साताअघि जुन २०१६ मा पनि जोन्सन, प्रिती पटेल, माइकल गोभ लगायत नेताले अष्ट्रेलियन सिस्टमको समर्थन गरि विज्ञप्ति निकालेका थिए । त्यतिबेला ब्रेक्जिट पक्षधरहरुले अर्को आम निर्वाचनसम्म पोइन्टमा आधारित अष्ट्रेलियन अध्यागमन प्रणाली अवलम्बन गर्ने बताउंदै ईयू नागरिकहरुको निर्वाध रुपमा बेलायत बस्न र काम गर्न पाउने अधिकारसहित ईयूले बेलायतको सामाजिक सुरक्षा प्रणालीमा जमाएको नियन्त्रण अन्त्य हुने जिकिर गरेका थिए ।
बेलायत सरकारको अहिलेको नीतिमा ब्रेक्जिटपछि दक्ष कामदारहरुले रोजगारदाताबाट स्पोन्सरसीपसहित वार्षिक न्यूनतम ३० हजार पाउण्ड तलव हुनुपर्ने प्रावधान छ । न्यून सीप भएका कामदारहरुलाई पनि बेग्लै स्किम छ तर उनीहरुका लागि एक वर्षको मात्र भिजा हुनेछ ।
बेलायत ईयूबाट बाहिरिनु पर्ने अभियान (लिभ क्याम्पियन) को प्रमुख मुद्दा नै अध्यागमन नियन्त्रण थियो । कन्जरभेटिभ नेतृत्वको सरकारले सन् २०१० देखि नै खुद आप्रवासन (मानिस बेलायत आउने र छाड्नेबीचको अनुपात) वर्षेनी एकलाखमा झार्ने प्रतिवद्धता व्यक्त गर्दै आएको छ । यद्यपि, सरकारको यस योजना सोचेजस्तो भएन ।
बेलायत सरकारले ब्रेक्जिटपछि ईयू नागरिकहरुलाई अहिले जस्तो बेलायत आउन र काम गर्न बन्देज लगाउने यसअघि नै घोषणा गरिसकेको छ । ब्रेक्जिट संक्रमणकाल सन् २०२१ पछि दक्ष कामदारहरुका लागि कस्तो अध्यागमन प्रणाली ल्याउने भन्नेबारे पनि परामर्श भइरहेको छ । कान्तिपुर
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’