तमु समाज युके आमा समूहले गरयो बुद्ध पुजा

लन्डन । तमु समाज युके आमा समूहले २५६३ औं बुद्ध जयन्ती तथा पूजा कार्यक्रम गरेको छ ।

शान्तिका अग्रदूत, एसियाका तारा तथा नेपालका राष्ट्रिय विभूति भगवान गौतम बुद्धको जन्म, बोधीलाभ (बुद्धत्व 
प्राप्ति) तथा महापरिनिर्वाण भएको पुण्यतिथि बैशाख पूर्णिमा तथा बुद्ध जयन्तीको अवसरमा लन्डन वेम्ली बरहाम पार्कस्थित तमु समाज युके नेपलिज कम्युनिटी सेन्टरमा कार्यक्रम भएको हो ।

आमा समूहको संयोजकत्वमा कार्यक्रमका प्रमुख अतिथि तथा लामा टुल्कु मिग्मार छेरिङलाई कार्यक्रम स्थलमा भव्य स्वागत गरिएको थियो । त्यसपश्चात प्रमुख अतिथि, तमु समाज युकेका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ र आमा समूहकी अध्यक्ष बिन्दु घलेले दीप प्रज्वलन गरि कार्यक्रम शुभारम्भ गरेका थिए ।

बुद्ध जयन्ती तथा पूजा कार्यक्रममा तमु समाज युकेका सल्लाहकारहरु, कार्यसमितिका पदाधिकारीहरु तथा सदस्यहरु, आमा समूहका पदाधिकारी, सदस्यहरु लगायत लण्डन वरपरका जेष्ठ नागरिक र श्रद्धालु भक्तजनहरुको उल्लेख्य संख्यामा उपस्थिति थियो ।

तमु समाज युकेले स्थापनाकाल देखि निरन्तररुपमा बैशाख पूर्णिमा तथा बुद्ध जयन्तीको अवसरमा बुद्ध जयन्ती पूजा गर्दै आएको छ । विगत वर्षहरुझैं यस वर्षको बैशाख पूर्णिमा तथा २५६३ औं बुद्ध जयन्ती पूजा कार्यक्रम पनि आमा समूहको सकृयतामा निशुल्क प्रवेश र खानपिनको ब्यवस्थापन आमाहरु आफैंले गरेका थिए । यसका निम्ति समूहका सबै आमाहरु मन, वचन र कर्मले कार्यक्रम गर्न जुटेका थिए ।

बैशाख पूर्णिमा तथा २५६३ औं बुद्ध जयन्ती पुजा कार्यक्रम आयोजनाका निम्ति थुप्रै दानवीर महानुभावहरुले स्वस्फूर्त श्रद्धाभावले आर्थिक, भोजन, पेय पदार्थ तथा अन्य आवश्यक सामाग्री दान सहयोग स्वरुप उपलब्ध 
गराएका थिए ।

अहिंसा, सत्य र संयमलाई मूल मन्त्र ठानेर 
सदैव सदभाव र सत्कर्ममा लागी जीवन बिताउनुनै बुद्धधर्मको सार संक्षेप हो । यिनै 
कुरा बुझेर सत्यमार्गमा लागि कुविचार, कुदृष्टि, कुसंस्कार र कुलतबाट टाढा रहे मात्र हामीले पवित्र र सरल जीवन प्राप्त गर्न सकिन्छ र साथै मनमा डाहा र 
डरबाट सहज ढंगले मुक्ति पनि पाउन सकिन्छ । पीडा र भयबाट मुक्त मानवको मनमा मात्रा सधैं शान्ति छाउंछ । शान्तिबाट मात्र मानिसले विकास र मोक्ष प्राप्त गर्दछ भन्ने बुद्धवाणी छ । यही शान्ति, मोक्ष प्राप्ति र भगवान बुद्धको श्रद्धाका निम्ति आयोजना गरिएको २५६३ औं बुद्ध जयन्ती पूजापाठको सञ्चालन श्रद्धेय लामा टुल्कु मिग्मार छेरिङ र उनका सहयोगी रविन्द्र गुरुङले गरेका थिए ।

टुल्कु मिग्मार छेरिङ न्यिङमा सम्प्रदायका छोक्लिङ तेर्सार परम्पराका एकजना विशेष लामा हुन् । नेपालको गोर्खा सामागाउंमा सन् १९७६ सालमा जन्मिएका टुल्कु मिग्मार पुनग्येन लामा न्यिमाको अवतारीको रुपमा पहिचान दिई सानो उमेर देखिनै बौद्ध धर्माको शिक्षामा लागेका हुन् ।

बिहान १० बजे आरम्भ गरिएको बुद्ध जयन्तीको विशेष पूजापाठ सम्पन्न पछि लामा टुल्कु मिग्मार छेरिङले बुद्ध जयन्तीको महत्व र बुद्धको जीवनी, उपदेश र सादगी जीवनको बारेमा प्रवचन दिएका थिए । प्रवचनपछि उपस्थित भक्तजनहरुले प्रमुख लामासंग बुद्ध धर्म संग सम्बन्धित विविध विषयमा अन्तरक्रिया गरेका थिए । त्यसपछि उपस्थित सबै भक्तजनहरुले लामा गुरुबाट अभिषेक र प्रसाद ग्रहण गरेका थिए ।

तमु समाज युकेका पूर्व महासचिव तथा सल्लाहकार रामचन्द्र गुरुङले स्वागत मन्तब्य राख्दै सञ्चालन गरेको 
औपचारिक कार्यक्रममा समाजका अध्यक्ष शिवचन्द्र गुरुङले शुभकामना मन्तब्य दिएका थिए । त्यसैगरि आमा समूहकी अध्यक्ष श्रीमती बिन्दु घले र समाजका उपाध्यक्ष शिव कुमार गरुङले कार्यक्रममा धन्यवाद मन्तब्य राखेका थिए ।

पहिलो खण्डमा पुजापाठ र प्रवचन, त्यसपछि दोस्रो खण्डमा खानपिनको ब्यवस्था गरिएको बुद्ध जयन्ती पुजा कार्यक्रमको संयोजनमा आमा समूहलाई खेलकुद सचिव हरिमान गुरुङ र संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले विशेष सहयोग गरेका थिए ।

अन्तमा आफ्नो मुल नबिर्सिकन भाषा, धर्म, संस्कार र संस्कृतिको संरक्षण र सम्वर्धन गर्ने पवित्र उद्देश्य लिई, नेपाली तथा तमु समुदायको सेवामा सदैव समर्पित भई, विकास र समृद्धिको क्रममा निरन्तर अगाडि बढिरहेको तमु समाज यूकेको आमा समूहद्वारा शान्ति, मोक्षप्राप्ति तथा भगवान बुद्धको श्रद्धाका निम्ति आयोजित २५६३ औं बुद्ध जयन्ती विशेष पुजा कार्यक्रम भव्य रुपमा सम्पन्न भएकामा आयोजक समिति तथा सबै उपस्थित भक्तजनहरुले खुशी व्यक्त गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री