लन्डन । बेलायतको संसदीय निर्वाचनमा हालसम्म एकमात्र उम्मेदवार बनेपनि स्थानीय तहमा भने नेपालीमुलका उम्मेदवार सफलतान्मुख छन् ।
बेलायतमा बिहीबार सम्पन्न स्थानीय निर्वाचनमा करिब आधा दर्जन नेपालीले काउन्सिलर पद जिते । हार्ने क्षेत्र रोजेर नेपालीलाई उम्मेदवार बनाइने चर्चा चल्ने गरेपनि यसपटक भने केही उम्मेदवारले पुरानो पकडलाई तोडेर सफलता चाखे ।
नेपालीहरुको उल्लेख्य बसोवास रहेको बेलायतको अल्डरसटमा युवा व्यवसायी प्रवेश केसीले ३२८ मत ल्याएर काउन्सिलर पद जितेका छन् ।
केसीले कन्जरभेटिभ पार्टीका तर्फबाट रसमोर बरो अन्तर्गत अल्डरसट टाउन, वेलिङटन वार्डको काउन्सिलर पदमा उम्मेदवारी दिएका थिए । उनका प्रतिद्वन्द्वी लेबरका उम्मेदवारले २८६ र लिब्डेम उम्मेदवारले जम्मा ८५ मत ल्याए । यसअघि उक्त क्षेत्रमा लेबरले जित्दै आएको थियो ।
त्यसैगरि, केन्टको मेडस्टोन बरो काउन्सिलमा
लिबरल डेमोक्रयाट्स पार्टीका उम्मेदवार दिनेश खड्काले ८५२ मत ल्याएर विजयी हासिल गरे । उनका प्रतिद्वन्द्वी कन्जरभेटिभका उम्मेदवारले ३६० र लेबर उम्मेदवारले ३४६ मत ल्याएका थिए ।
जितपछि कान्तिपुरसंग कुरा गर्दै काउन्सिलर खड्काले समाज विकास र वातावरणीय व्यवस्थापनमा काम गर्ने अठोट व्यक्त गरेका छन् ।
फुड साइन्स्मा पिएचडी गरिरहेका खड्का १८ वर्षदेखि बेलायतमा छन् । सन् २०१० देखि लिब्डेममा लागेका उनले बेलायतको राजनीतिमा माग भएपनि नेपालीमा दक्षता र श्रोत साधनको अझै कमी रहेको टिप्पणी गरे ।
हेमेल हयाम्सटेड अन्तर्गत डेकोरम बरो काउन्सिलको काउन्सिलर पदमा गोवर्धन सिलवाल ‘सागर’ दोश्रो पटक निर्वाचित भए । कन्जरभेटिभ पार्टीबाट तर्फबाट सिलवालले ७ सय २४ मत प्राप्त गरेका थिए । ललितपुर गोदावरी निवासी सिलवाल विगत २० वर्षदेखि बेलायत बस्छन् ।
उता, नर्थ योर्कसायरको कोलबर्न टाउन काउन्सिलबाट डा. जगन्नाथ शर्मा तेश्रो पटक काउन्सिलर पदमा निर्वाचित भए । कञ्जरभेटिभ पार्टीका उनी उक्त काउन्सिलको पूर्व डेपुटी मेयर हुन् । यही मे २० तारिख हुने मेयर निर्वाचनका लागि पनि उनले उम्मेदवारी दिएका छन् ।
त्यसैगरि, केन्टको मिडवेबाट कन्जरभेटिभका टासी तामाङ भुटियाले पनि काउन्सिलर पद जितेका छन् ।
यसपटकको निर्वाचनमा नेपाली मुलका कतिपय उम्मेदवारले लज्जास्पद पराजय पनि भोगेका छन् ।
बेलायतमा नेपाली समुदायबाटै पहिलोपटक सन् २००७ मा काउन्सिलर जितेका धन गुरुङ यसपटक भने पराजित भएका छन् । फोक्सटन एण्ड हिथ
डिष्ट्रिक्ट काउन्सिलमा कञ्जरभेटिभ पार्टीबाट उम्मेदवार रहेका उनी पहिलोपटक जित्दा लिब्डेममा आवद्ध थिए ।
त्यस्तै, हयाम्पसायरको हार्ट डिष्ट्रिक्ट काउन्सिलमा लिला सेलिङ माबो पनि काउन्सिलर पदमा पराजित भइन् । लेबर पार्टीकी उम्मेदवार लिलाले जम्मा १ सय २९ मत पाउंदा विजयी उम्मेदवारले १८ सय ३२ मत ल्याए । लिलाले यसअघि पनि पराजय भोगेकी थिइन् ।
उता गिल्डफोर्डबाट निर्वाचन लडेकी लेबर पार्टीकी उम्मेदवार २२ वर्षीया आकांक्षा गुरुङले पनि पराजय भोग्नु परेको छ । निर्वाचित कञ्जरभेटिभ पार्टीका उम्मेदवारले ३ सय ९२ मत ल्याएकामा उनले ६३ मतमात्र पाइन् ।
पूर्व काउन्सिलर स्वर्गीय गमबहादुर गुरुङकी छोरी आकांक्षाले उम्मेदवारी दिंदा कलिलै उमेरमा राजनीतिमा प्रवेश गरेको भन्दै निकै चर्चा भएको थियो ।
एनआरएनए केन्द्रिय उपाध्यक्ष कुल आचार्य बेलायतको राजनीतिमा प्रवासी नेपालीहरुको बढ्दो सहभागिताले नेपाली डायष्पोरा थप बलियो हुंदै जाने विश्वास व्यक्त गर्छन् ।
इंग्ल्याण्डका २४८ काउन्सिलमा भएको निर्वाचनमा ८ हजार ४२५ सिटका लागि प्रतिष्पर्धा भएको थियो । सत्तारुढ कन्जरभेटिभले यसपटक विगत तुलनामा १२ सय भन्दा बढि काउन्सिलमा हारेको छ ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?