हेलिकप्टर दुर्घटनामा हराएको पेस्तोल फेला

ताप्लेजुङमा बुधबार हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाको शव घटनास्थलबाट सुकेटार विमानस्थलमा ल्याइँदै नेपाली सेनाको हेलिकप्टर । तस्बिर- नारायण ढुंगाना, रासस

काठमाडौँ, २२ फागुन – ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० स्थित तारेभीरको जङ्गलमा एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना हुँदा हराएको पेस्तोल फेला परेको छ । यही फागुन १५ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित चढेको हेलिकप्टर दुर्घटना हुँदा उहाँका अङ्गरक्षक नेपाली सेनाका जमदार अर्जुन घिमिरेले बोकेको नाइन एमएमको पेस्तोल हराएको थियो ।

ताप्लेजुङको अस्थायी प्रहरी चौकी माथिल्लो फेदी र नेपाली सेनाको टोली घटनास्थलमा गई खोजी गर्ने क्रममा उक्त पेस्तोलसहित दुई थान म्याग्जिन, तीन थान साबुत गोली, तीन वटा खोका र मोबाइल जलेको अवस्थामा फेला परेको प्रहरीले आज जानकारी दिएको छ । सो दुर्घटनामा मन्त्री अधिकारी र जमदार घिमिरेसहित सात जनाको निधन भएको थियो । तेह्रथुमको एक कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्कने क्रममा खराब मौसमका कारण हेलिकप्टर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री