मेची पुल उद्घाटन, ६६ वर्षदेखिको सपना पूरा

बिहीबार गृह जिल्ला झापा आइपुग्नु भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चन्द्रगढी विमानस्थलमा स्वागत गरिँदै । तस्वीर- चन्द्रकला भण्डारी, झापा, रासस

भद्रपुर, १७ माघ – बहुप्रतिक्षित मेची पुलको उद्घाटनपछि छैसठ्ठी वर्षदेखिको सपना पूरा भएको भन्दै भद्रपुरका राजनीतिज्ञ, उद्योगी, व्यवसायी र सर्वसाधारण हर्षित भएका छन् ।

प्रधानमन्त्री केपी ओलीले आज साँझ भद्रपुर–५ मा भारतको गलगलियासँग सीमा जोडिएको मेची पुलको उद्घाटन गर्नुभएको हो । धेरैपल्ट शिलान्यास भएको पुलका रुपमा पनि मेची पुल चर्चित छ । पञ्चायती कालमा यो पुलको निर्माणका लागि जनस्तरमा सङ्कलन गरिएको चन्दा रकम हिनामिना भएको विषयमा आन्दोलनसमेत भएको थियो । विसं २००९ मा भद्रपुरका सुरजमल अग्रवालको अध्यक्षतामा मेची पुल निर्माणका लागि पहिलोपल्ट समिति गठन भएको इतिहास पाइएको छ ।

प्रधानमन्त्री केपी ओलीले आज साँझ पुलको पश्चिमी मुखमा रिबन काटेर पुलको उद्घाटन गर्नुभयो । हुलाकी राजमार्ग निर्माण परियोजनाले रु ३७ करोडको लागतमा मेची नदीमा ५६० मिटर लम्बाइ र ९.८ मिटर चौडाइ भएको पक्की पुलको निर्माण गरेको हो । “लामो समयदेखि प्रतीक्षा गरिएको मेची पुलको निर्माण मेरो पनि सपना थियो”, प्रधानमन्त्री ओलीले उद्घाटन समारोहलाई सम्बोधन गर्दै भन्नुभयो, “विसं २०१९ तिर रेल हेर्नका लागि म यहीँबाट मेची खोला तरेर गलगलिया गएको थिएँ ।”

उहाँले पुलको पूर्वी भागसम्म भारतीय सडकलाई तत्काल जोड्नका लागि भारतीय प्रधानमन्त्री नरेन्द्रकुमार मोदीसँग अनुरोध गर्नेसमेत बताउनुभएको छ । उहाँले अब आफूले जस्तो रेल हेर्नका लागि खोलो तरेर भारततिर जानु नपर्ने र आफ्नै कार्यकालमा पूर्वपश्चिम रेल दौडाउने सपना साकार पार्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले विगतका सरकारको ध्यान नगएर मेची पुल र हुलाकी राजमार्ग निर्माणमा पट्यारलाग्दो ढिलाइ भएको जनाउँदै अब भद्रपुरलाई आर्थिक केन्द्र बनाउन सरकारले सघाउने बताउनुभयो ।

प्रदेशसभा सदस्य तथा नेपाल भारत मैत्री सङ्घका पूर्वअध्यक्ष ओमप्रकाश सरावगीले विसं २००९ मा मेची पुल बनाउनुपर्ने आवाज पहिलोपल्ट उठेको जानकारी दिनुभयो । उहाँले पुलको निर्माणपछि दक्षिणी झापाको विकासले काँचुली फेर्ने धारणा राख्दै भद्रपुरवासीले हसिलो अनुहार लगाउने र करतल ध्वनिले प्रधानमन्त्रीको स्वागत गर्ने अवसर भएको बताउनुभयो ।

प्रदेश सांसद सरावगीका अनुसार विसं २०२४ मा तत्कालीन अञ्चलाधीश मनमोहन मिश्र, विसं २०४१ मा तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द र विसं २०६६ मा तत्कालीन उपप्रधानमन्त्री विजयकुमार गच्छदारले पुलको शिलान्यास गर्नुभएको थियो ।

तीन जनाले तीन पटक शिलान्यास गरेको यो पुलको निर्माण कार्य भने पछिल्लोपटक प्रधानमन्त्री माधवकुमार नेपाल रहनुभएको बेलामा तत्कालीन उपप्रधानमन्त्री गच्छदारले शिलान्यास गरेपश्चात् तीव्र गतिमा भएको पत्रकार गोपाल थिरी बताउनुहुन्छ ।

नेपाल चेम्बर अफ कमर्शको १ नं प्रदेशका अध्यक्ष राजेन्द्र घिमिरे मेची पुलको उद्घाटनलाई ऐतिहासिक खुशीको क्षण भएको बताउनुभएको छ । कहिल्यै नबन्ने सपनाजस्तो भइसकेको थियो, मेची पुलको कथा चेम्बरका प्रदेश अध्यक्ष घिमिरे भन्नुहुन्छ, “ढिलै नै भए पनि अब पुल बनेको छ, यो ऐतिहासिक क्षण हो ।”

झापा उद्योग सङ्घका अध्यक्ष टीकाराज ढकालले ‘मृत शहर’को उपमा पाएको भद्रपुर नगरले मेची पुलको उद्घाटनपश्चात् अब चोला फेर्ने आशा गर्नुभएको छ । उहाँले पुलसँग हुलाकी राजमार्गलाई समेत द्रुत गतिमा निर्माण गर्न आवश्यक भएको औल्याउँदै हुलाकी मार्ग र मेची पुलका कारण भद्रपुरमा व्यापार–व्यवसाय फस्टाउने वातावरण बन्ने बताउनुभयो ।

झापा जिल्ला समन्वय समितिका अध्यक्ष सोमनाथ पोर्तेल मेची पुलको उद्घाटन र चन्द्रगढी विमानस्थलमा रात्रिकालीन उडान शुरु भएको दिनलाई झापाको इतिहासमा सुनौलो अक्षरले लेखिने बताउनुहुन्छ । उहाँले वर्तमान सरकार सुखी नेपाली र समृद्ध नेपालको अभियान लिएर अघि बढेको उल्लेख गर्दै मेची पुलको उद्घाटनले आर्थिक विकासको नयाँ ढोका खुलेको अनुभूति भएको बताउनुभयो ।

भद्रपुर नगरपालिकाका नगर प्रमुख जीवनकुमार श्रेष्ठ १७ किलोमिटर नजीकको दूरीमा रहेको बङ्गलादेश जोड्ने व्यापारिक नाका सञ्चालनमा ल्याउन सके मेची पुलको महत्व अझ बढ्ने बताउनुहुन्छ । उहाँले पुलको सपना साँचेर ६५ वर्ष निराशपूर्वक बिताएका भद्रपुरवासीले मेची पुलको उद्घाटन भएपछि यहाँको आर्थिक र सामाजिक चहलपहल अभिवृद्धि हुने आशा राखेको बताउनुभयो ।

भद्रपुरस्थित चन्द्रगढी विमानस्थलको रात्रिकालीन उडानसमेत आजैदेखि शुरु भएको प्रसङ्ग जोड्दै उहाँले भद्रपुरबाट बङ्गलादेशसम्म हवाई उडान सञ्चालन हुनुपर्ने आवश्यकता औँल्याउनु भएको छ । पुल निर्माणले नेपालको पुरानो शहर भद्रपुरलाई भारतको सीमावर्ती बजार गलगलियालाई जोड्नेछ । पुल उद्घाटन भएता पनि भारततिर गलगलियासम्म जोड्ने सडकलाई पुलसँग जोड्न बाँकी भएको हुँदा पुल पूर्ण क्षमताका साथ सञ्चालन हुन अझै चुनौती छ ।

नेपाल चेम्बर अफ कमर्शका प्रदेश अध्यक्ष राजेन्द्र घिमिरे पुलको उद्घाटन नै भइसकेपछि पारिपट्टि कनेक्सन रोड निर्माणका लागि भारतलाई स्वतः दबाब पर्ने धारणा राख्नुहुन्छ । हुलाकी राजमार्ग परियोजनाले जनाएअनुसार नवनिर्मित पुललाई हुलाकी राजमार्गको प्रस्थान विन्दु झापाचोकमा जोड्नका लागि नेपालतिर एक हजार ३०० मिटर फराकिलो सडक बनाउन रु चार करोड ४२ लाखमा ठेक्का लागिसकेको छ । पुल जोड्ने हुलाकी मार्गको सो भागमा परेका घर तथा जग्गाधनीले मुआब्जा नपाएको भन्दै असन्तुष्टि व्यक्त गरिरहेको नगरप्रमुख जीवनकुमार श्रेष्ठ बताउनुहुन्छ ।

भद्रपुर–५ का वडाध्यक्ष बन्धु कार्की नेपाल सरकारले सडक क्षेत्रमा रहेका घर तथा जग्गाहरुको मुआब्जा दिएर मेची पुलको सञ्चालन हुने वातावरण बनाउनुपर्ने बताउनुहुन्छ । उद्घाटन भएको मेची पुलबाट एक किलोमिटरको दूरीमै भारतको विहार राज्यको गलगलिया व्यापारिक केन्द्र रहेको छ । गलगिलयामा भन्सार, रेल्वे, बस टर्मिनल, बजार लगायतका सुविधा रहेको स्थानीय व्यवसायी रामकिसन यादव बताउनुहुन्छ । भद्रपुर नाकामा यसै वर्षदेखि छोटी भन्सारलाई स्तरोन्नति गरेर प्रमुख भन्सार स्थापना गरिएको हुँदा अब व्यापारिक गतिविधि बढ्ने आशा सबैले गरेका छन् ।

रात्रिकालीन हवाई उडान उद्घाटन 

प्रधानमन्त्री ओलीले भद्रपुरस्थित चन्द्रगढी विमानस्थलको रात्रिकालीन उडानको आज साँझ उद्घाटन गर्नुभएको छ ।

विसंं २०२६ मा स्थापना भएको चन्द्रगढी विमानस्थल पचास वर्षमा मात्र रात्रिकालीन उडानका लागि आधुनिक प्रविधिले सुविधायुक्त भएको हो । पन्ध सय मिटर लामो धावनमार्गमा रहेको रनवे लाइटको ‘स्विच अन’ गरेर प्रधानमन्त्री ओलीले रात्रिकालीन उडानको उद्घाटन गर्नुभयो ।

उहाँ आज साँझ यती एयरलायन्सको रात्रिकालीन उडानमार्फत भद्रपुरबाट काठमाडौँ जानुभएको छ । चन्द्रगढी विमानस्थलबाट हाल यती एयरले दैनिक दुई, बुद्ध एयरले दैनिक दुई, श्रीएयरले दैनिक दुई र नेपाल एयरलायन्सले सातामा तीन दिन काठमाडौँसम्मको हवाई यातायात सञ्चालन गर्दै आएका छन् ।

विमानस्थलका प्रमुख पूर्ण चुडालका अनुसार अब राति जुनसुकै बेला हवाई यातायात सञ्चालनका लागि चन्द्रगढी विमानस्थल सुविधायोग्य बनेको छ । यती एयरलायन्सले आजैदेखि सन्ध्याकालीन एक उडान नियमित रुपमा गर्ने जनाएको छ भने बुद्ध एयरले दश दिनपछि नियमित रात्रि उडान गर्ने भएको छ ।

ट्राभल्स सङ्घ झापाका उपाध्यक्ष गोपाल खनालले चन्द्रगढीबाट पोखरा र अन्य गन्तव्यमा हवाई यातायात सञ्चालन गर्न सके पर्यटक लाभान्वित हुने बताउनुहुन्छ ।

होटल हिकोला हेरिटेजका प्रबन्ध निर्देशक देवीभक्त श्रेष्ठले रात्रिकालीन उडान शुरु भएपछि झापाको ट्राभल्स र होटल व्यवसायीले प्रत्यक्ष रुपमा लाभ पाउने र पर्यटक बढ्ने बताउनु भएको छ ।

बुद्ध एयरका सेफ्टी डाइरेक्टर रञ्जन शर्माले चन्द्रगढी विमानस्थलमा कम्तीमा अब दुई हजार २०० भिजिबिलिटीसम्म हवाईजहाज उडान भर्न र अवतरण गर्न सुरक्षित भएको बताउनुभएको छ ।

उद्घाटन अवसरमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, पूर्वाधार विकास तथा भौतिक योजनामन्त्री रघुवीर महासेठ लगायतको उपस्थिति रहेको थियो ।

मेचीमहाकाली रेल दौडाएरै छाड्छौँ – ओली

बनियानी, १७ पुस – प्रधानमन्त्री केपी शर्मा ओलीले देशको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म रेल दौडाएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

झापाको भद्रपुर–५ स्थित मेची पुलको आज उद्घाटन गर्दै उहाँले भन्ननुभयो, “सरकारले पूर्वपश्चिम रेलमार्ग सञ्चालन गर्ने सङ्कल्प गरेको छ, मेचीदेखि महाकालीसम्म रेल दौडाएरै छाड्छौँ ।”

रेल र पानी जहाजका कुरा हावा नभएको बताउँदै प्रधानमन्त्री ओलीले जनताका सपना पूरा गर्न सरकार अठोटका साथ लागिपरेको बताउनुभयो । सरकारले नेपाल र भारतसँगको नजीकको बन्दरगाहबाट पानी जहाज सञ्चालन गर्न लागेको बताउँदै उहाँले कोशी नदीमा पनि पानी जहाज सञ्चालनका लागि अध्ययन भइरहेको जानकारी दिनुभयो ।

मेचीपुलको उद्घाटनसँगै लामो समयदेखि भद्रपुरवासीको सपनाका पूरा भएको उहाँले उल्लेख गर्नुभयो । पुल सञ्चालसँगै भद्रपुर विकासको गतिमा एक कदम अघि बढेको उहाँले बताउनुभयो । “अब मेचीपुल सञ्चालन भएपछि यहाँको व्यापार–व्यवसाय बढ्नेछ”, उहाँले भन्नुभयो, “समृद्धिको मार्गमा भद्रपुर अघि बढ्नेछ ।”

तत्कालीन उपप्रधानमन्त्री विजयकुमार गच्छदारले विसं २०६८ माघ २१ गते मेची पुलको शिलान्यास गर्नुभएको थियो । कूल रू ३३ करोडको लागतमा निर्माण भएको पुलको लम्बाइ ५६० मिटर र चौडाइ ११ मिटर रहेको छ । पुल निर्माण भएसँगै भारतको बङ्गाल तथा विहार राज्यसँग सडकमार्फत सोझो सम्पर्क स्थापित भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री