विधानले रोकेपछि समिति नबनाइ मेक्सिकन खाएर फर्कियो एनआरएनए यूके टोली

लन्डन । एनआरएनए यूकेको इंग्ल्याण्ड राज्य समन्वय परिषद गठन अघि नै लिभरपुलमा क्षेत्रीय समिति बनाउने योजना रोकिएको छ । भेलामा विधानमा क्षेत्रीय समितिको कुनै प्रावधान नभएको कुरा जोडदार उठेपछि लिभरपुल पुगेको एनआरएनए यूके टोली क्षेत्रीय समिति नबनाइ खाली हात फर्किएको हो । त्यस्तो समिति आवश्यक भए पहिले विधान संशोधन गर्नुपर्ने कुरा भेलामा उठेको थियो ।

भेलामा विधानको परिच्छेद ८ अनुसार गठित राज्य समन्वय परिषद अन्तर्गत काउन्टी समितिको व्यवस्था गर्न सकिने उल्लेख भएपनि क्षेत्रीय समिति विधान विपरित हुने आवाज आएपछि स्थानीय व्यवसायी गोपाल अधिकारीलाई अर्को भेला बोलाउन संयोजक तोक्ने निर्णय मात्र गरिएको त्यहां सहभागी एनआरएनए यूके सल्लाहकार दयानिधि सापकोटाले जानकारी दिए । ‘तर, महासचिव आर के त्रिपाठीले भेलाबारे गलत र भ्रामक समाचार फैलाउनु खेदजनक छ’- उनले आक्रोश पोखे ।

शनिबार सांझ लिभरपुल पुगेको टोली घुमघाम र मेक्सिकन खानामै चित्त बुझाएर फर्किएको छ ।

यसअघि पनि इंग्ल्याण्ड राज्य समन्वय परिषद गठन रोकेर क्षेत्रीय समिति बनाउन खोजिएपछि मिडल्याण्डका एनआरएनहरुले सशक्त विरोध गरेका थिए । एनआरएनए यूके सल्लाहकार तथा समाजसेवी दयानिधि सापकोटासहित मिडल्याण्डका ७ नेपाली संघसंस्था र नर्दन आयरल्याण्ड राज्य समन्वय परिषदले समेत विधान विपरित जान खोजेको भन्दै केन्द्रप्रति असन्तुष्टि जनाएका थिए ।

उक्त कार्यक्रममा एनआरएनए यूके अध्यक्ष योगकुमार फगामी, उपाध्यक्षहरु ललितकुमार न्यौपाने, प्रेम गाहामगर, शेरबहादुर सुनार, महासचिव आर के त्रिपाठी, उपमहासचिव विनय अधिकारी, एनआरएनए यूके धर्म विभाग प्रमुख होमनाथ पौडेल, एनआरएनए यूकेका सल्लाहकार कमल पौडेल, 
प्राध्यापक डा. पदम सिंखडा, डा. पुरुषोत्तम पौडेल, डा. हेमराज शर्मा, भक्त गुरुङ, वेल्स राज्य समन्वय परिषदका अध्यक्ष रामचन्द्र पोखरेल लगायत सहभागी थिए ।

लिभरपुलस्थित नेत्र गैरेको ‘द गोर्खा रेष्टुरेन्ट’ मा गरिएको उक्त कार्यक्रममा लिभरपुलकै नेपाली भने दशजना भन्दा बढि नभएको एक सहभागीले बताए ।

इंग्ल्याण्ड राज्य समन्वय परिषदको नेतृत्व लिन धेरैको रुची भएका कारण प्रक्रिया रोकिएको एनआरएनए यूकेले बताउंदै आएको छ ।

तस्विर- शिव भण्डारी

प्रतिक्रिया

सम्बन्धित सामाग्री