साउथइष्ट लण्डनमा नेपाली समुदायसंग अन्तरक्रिया गर्दै पत्रकार महासंघ यूके

लण्डन । नेपाल पत्रकार महासंघ बेलायतले साउथइष्ट लण्डनको नेपाली समुदायसंग एक वृहत अन्तरक्रिया गर्ने भएको छ । 

बेलायतमा नेपालीहरुको उल्लेख्य बसोबास रहेका क्षेत्रहरुमा पुगेर स्थानीय समुदायसंग अन्तरक्रिया गर्ने योजनाअनुरुप पहिलो कार्यक्रम यही डिसेम्बर १६ तारिख आइतबार साउथ इष्ट लण्डनमा गर्न लागिएको हो । 

प्लमस्टिडस्थित गेसो हल (चौतारी रेष्टुरेन्टसंगै) मा मध्यान्ह १२ देखि दिउंसो ३ बजेसम्मका लागि कार्यक्रम निर्धारित छ । 

कार्यक्रम संयोजक तथा शाखाका वरिष्ठ उपाध्यक्ष ध्रुबराज अर्यालका अनुसार, अन्तरक्रियामा साउथ इष्ट लण्डनस्थित नेपाली संघसंस्थाका प्रतिनिधि, समाजका अगुवा, बुद्धिजिवी, व्यवसायीहरुका साथै बेलायतमा क्रियाशिल नेपाली पत्रकारहरुको सहभागिता रहनेछ । 

समुदाय र पत्रकारहरुबीचको सम्बन्ध सुदृढ गर्ने, आपसी सहकार्य गर्ने, व्यवसायिक पत्रकारिताको विकासमा सहयोग गर्ने लगायतका विषयमा अन्तरक्रिया केन्द्रित रहने संयोजक अर्यालले जनाए । 

अन्तरक्रियाको सुरुमा बिबिसीमा कार्यरत अग्रज पत्रकार भगिरथ योगीले कार्यक्रमको विषयवस्तु तथा अवधारणापत्र प्रस्तुत गर्नेछन् । अन्तरक्रियाका सबै सहभागीले सम्बन्धित विषयमा पालैपालै आफ्नो विचार व्यक्त गर्न मौका पाउनेछन् । सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स यूकेका पूर्व अध्यक्ष समेत रहेका युनिभर्सिटी कलेज लण्डन (युसिएल) का एशोसिएट प्रोफेसर डा तेजेन्द्र फेरालीले अन्तरक्रियामा व्यक्त विचारहरुमाथिको टिप्पणीसहित विश्लेषण प्रस्तुत गर्नेछन् ।

कार्यक्रमको अन्त्यमा अन्तरक्रियामा व्यक्त सुझावहरु निष्कर्षका रुपमा प्रस्तुत गरिनेछ । 

शाखा अध्यक्ष नरेश खपांगीमगरले अन्तरक्रिया कार्यक्रममा सहभागिताको लागि साउथ इष्टस्थित नेपाली समुदाय र बेलायतमा कार्यरत सबै पत्रकारहरुलाई आव्हान गरेका छन् । समुदाय र पत्रकारहरु एक अर्काबाट के कस्ता अपेक्षा राख्छन् ? उनीहरुबीच के कसरी सहकार्य हुन सक्छ ? दुवै पक्षबाट एक अर्कालाई के कस्तो सहयोग हुन सक्छ ? जस्ता विषयमा पत्रकार र समुदाय संगै बसेर गरिने छलफल उपयोगी बन्ने उनको विश्वास छ । 

कार्यक्रमका लागि साउथ इष्टस्थित नेपाली संघसंस्थाका प्रतिनिधि र समुदाय गरी झण्डै १ सय जनालाई निमन्त्रणा पठाइसकिएको शाखाका महासचिव सञ्जयभक्त कंडेलले बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री