ब्रेक्जिट सम्झौता ईयू नेताहरुद्वारा अनुमोदन

लन्डन । बेलायत युरोपियन युनियन (ईयू) बाट बहिगर्मन सम्बन्धि सम्झौता ईयू नेताहरुले अनुमोदन गरेका छन् । ब्रसेल्समा आइतबार आयोजित शिखर सम्मेलनमा २७ देशका ईयू नेताले ३८ मिनेटभित्रै उक्त सम्झौता अनुमोदन गरेको अखवारहरुले जनाएका छन् ।

जनमत संग्रह भएको २८ महिनामा विभिन्न चरणका वार्तापछि सम्झौताले अन्तिम रुप लिएको हो । यूकेले ‘आर्टिकल ५०’ लागू गरेपछि बेलायत र ईयूबीच १८ महिनामा विभिन्न चरणका गम्भीर वार्ताहरु भएका थिए ।

युरोपेली संघ गठन गर्न गरिएको सन्धिको धारा ५० मा सदस्य मुलुकहरुले कस्तो अवस्थामा संघ त्याग्न सक्दछन् भन्ने उल्लेख छ । ब्रिटेनले मार्च २०१७ मा सोही धारा अनुसार आफू युरोपेली संघबाट बाहिरिन चाहेको सूचना संघलाई दिएको थियो ।

युरोपियन काउन्सिल अध्यक्ष डोनाल्ड टस्कले स्पेनले अन्तिम समयमा जिब्रलटार विषय छाडेपछि ब्रेक्जिट र बहिगर्मनपछि बेलायत ईयू भविष्य सम्बन्धि राजनीतिक सहमति अनुमोदन भएको घोषणा गरेका छन् । गत बिहीबारमात्र युरोपेली परिषद्ले ब्रेक्जिटपछि व्यापार, सुरक्षा लगायतका विषयहरुले कसरी काम गर्नेछन् भनी ‌एउटा राजनीतिक घोषणामा सैद्धान्तिक सहमति भएको जनाएको थियो ।

ब्रेक्जिट सम्झौतालाई बेलायतको संसदले अनुमोदन 
गर्नुपर्नेछ तर यसप्रति धेरै सांसदले विरोध जनाएका छन् । डिसेम्बर दोश्रो साता ब्रिटिश सरकारले यो सम्झौता अनुमोदनकालागि संसद समक्ष प्रस्तुत गर्नुपर्नेछ । तर प्रमुख प्रतिपक्षी दल लेबर, लिब्डेम, स्कटिस नेशनल पार्टी, डियूपी र सत्तारुढ कन्जरभेटिभ पार्टीकै सांसदहरु सम्झौताविरुद्ध मत हाल्ने तयारीमा छन् ।

यदि संसदले उक्त सम्झौता अनुमोदन नगरे ‘नो डिल’ अर्थात् बिना सम्झौता ब्रिटेनबाट बाहिरिनु पर्ने, ईयूसंग फेरि सम्झौता गर्न प्रयास गरिने वा ब्रिटेनमा नयां चुनाव हुने सम्भावना रहेको विश्लेषकहरु बताउंछन् ।

ब्रिटेन युरोपेली संघबाट बाहिरिने सम्झौता (ब्रेक्जिट) को ५८५ पृष्ठ लामो दस्तावेज अनुसार ब्रिटेनले ईयू छाड्दा ३९ अर्ब पाउण्ड तिर्नुपर्ने, बेलायत र ईयू देशका 
नागरिकहरुको हक अधिकार सुनिश्चितता र भविष्यमा व्यापार सम्बन्धी वार्ता रोकिएपनि उत्तरी आयरल्याण्ड र आयरल्याण्ड बीचको सीमा नरोकिने कुरा उल्लेख छन् ।

बेलायतले आगामी २९ मार्च २०१९ मा ईयू छाड्ने तालिका छ ।

प्रधानमन्त्री टेरेजा मेले सर्वसाधारणका नाममा अपिल जारी गर्दै सम्झौतामा समर्थन गर्न र यो सबैभन्दा उचित एवं ब्रेक्जिट जनमत संग्रह परिणामको भावना अनुरुप भएको बताएकी छन् । ईयूले पनि ब्रिटिश सांसदहरुलाई पक्षमा मतदान गर्न आव्हान गर्दै यो डिलमात्र सम्भव हुने बताएको छ । ब्रसेल्समा शिखर सम्मेलनमा सहभागी हुने क्रममा ईयूका प्रमुख वार्ताकार मिसेल बार्नियरले सम्झौता अनुमोदन नभए त्यसले बेलायत ईयू भावी सम्बन्ध बिगार्न सक्ने चेतावनी दिएका छन् ।

इकान्तिपुर

प्रतिक्रिया

सम्बन्धित सामाग्री