
लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले अबदेखि संस्थाको सदस्यता अनलाइनबाटै वितरण गर्ने भएको छ । आइतबार लण्डनमा एक कार्यक्रम गरि अनलाइन सदस्यता वितरणको औपचारिक शुभारम्भ गरिएको हो ।
एनआरएनए यूकेलाई डिजिटल बनाउने अभियानको पहिलो चरणमा सदस्यता वितरण सुरु गरिएको बताइएको छ । भविष्यमा अनलाइन मतदानसहितका अन्य कार्यक्रमहरु पनि थप गर्दै जाने योजना समेत सार्वजनिक गरिएको छ ।
कार्यक्रममा एनआरएनए यूके उपमहासचिव तथा अनलाइन सदस्यता वितरण कार्यक्रमका संयोजक विनय अधिकारीले अनलाइनबाट सदस्यताको फारम बुझाउने विधि र प्रक्रियाहरुबारे भिडियो तथा ‘पावरपोइन्ट प्रिजेन्टेसन’ प्रस्तुत गरेका थिए ।
अनलाइन सिस्टमले सदस्यता आवेदन ब्यवस्थापन देखि स्वीकृति र परिचयपत्र वितरण लगायतका कार्यहरु सहज र छरितो बन्ने विश्वास अधिकारीको छ ।
अब एनआरएनए यूकेको सदस्यता लिनका लागि संस्थाको वेबसाइटमार्फत अनलाइन फारम भरेर शुल्क बुझाउन सकिनेछ । सदस्यता शुल्क बुझाउन डेबिट, क्रेडिट कार्डको साथै पेपालको प्रयोग गर्न सकिने सुविधा पनि उपलब्ध गराइएको छ ।
एनआरएनए यूके अध्यक्ष योगकुमार फगामीले अनलाइनबाट छिटो छरितो र सहज ढंगले सस्तो शुल्कमा सदस्यता पाउन सम्भव बनेकाले अब सदस्यहरुको संख्या समेत बृद्धि हुने आशा व्यक्त गरे ।
नयां व्यवस्थाअन्तर्गत एनआरएन यूकेका सदस्यहरुको परिचयपत्र बेलायतबाटै जारी हुने भएकोले विगतमा आइसिसीबाटै सदस्यता कार्डहरु जारी हुने क्रममा देखिएका समस्याहरुको पनि हल हुने अपेक्षा छ ।
अनलाइन सदस्यता वितरण सुरु गरिएपनि यसअघिजस्तै कागजी आवेदनहरु पनि लिइने जनाइएको छ ।
अनलाइन सदस्यता वितरणको औपचारिक शुभारम्भ कार्यक्रममा एनआरएन यूकेका उपाध्यक्ष शेरबहादुर सुनार, प्रवक्ता रमेश सरांगकोटी, कोषाध्यक्ष सचिन श्रेष्ठ लगायतले पनि नयां व्यवस्थाबारे विभिन्न जानकारी गराएका थिए ।
तस्बिर- शिव भण्डारी
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
अब नेपालको राजनीतिजस्तै एनआरएनलाई पनि फरक किसिमले अगाडि बढाउनुपर्छ : अध्यक्ष डा हेमराज शर्मा [अन्तर्वार्ता]
एनआरएनए नेतृत्वद्वारा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट