संयुक्त सैनिक अभ्यासप्रति सांसदहरुको ध्यानाकर्षण

प्रतिनिधिसभाको बुधबार बसेको बैठकको शून्य समयमा भाग लिँदै सांसद । तस्वीर – रासस

काठमाडौँ, २० भदौ – प्रतिनिधिसभामा सांसदहरुले भारतको पुनामा हुन लागेको बिम्स्टेक राष्ट्रका सैनिकको अभ्यासदेखि बाँदर आतङ्क, बलात्कार, बाढीपहिरोलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा पहिलो वक्ताको रुपमा भाग लिँदै सांसद भीमबहादुर रावलले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) शिखर सम्मेलन भव्यताका साथ सम्पन्न गर्नु स्वागतयोग्य कार्य भएको बताउनुभयो । उहाँले भन्नुभयो, “भारतको पुनामा बिम्स्टेक मुलुकका प्रधानसेनापतिसँगको बैठक र संयुक्त सैन्य अभ्यासका विषयमा कुरा सुनिएको छ, आर्थिक विकासका लागि गठन भएको क्षेत्रीय सङ्गठनमा सैन्य अभ्यासका कुरा आउनु हुँदैनथ्यो, यस्ता कदम मुलुकको हित विपरीत हुन जान्छ ।”

“क्षेत्रीय सङ्गठनको भन्दा हामीले हाम्रो मुलुकको हित र सार्वभौमसत्ताको विषयलाई हेक्का राख्नुपर्छ, आफ्नो देशको सम्बेदनशीलतालाई बिर्सिएर सार्क वा बिम्स्टेक सदस्य मुलुकका एजेण्डामा बहकिनु हुँदैन, सैन्य अभ्यास ठीक होइन” सांसद रावलले भन्नुभयो ।

सांसद् प्रेम सुवालले बिम्स्टेक सदस्य मुलुकका सेनाको संयुक्त अभ्यासबाट मुलुकको कदापी हित हुन नसक्ने धारणा व्यक्त गर्नुभयो ।

सांसद अमरेशकुमार सिंह विरोधस्वरुप सरकारका मन्त्रीलाई कालो झण्डा देखाउँदा मृत्युवरणसम्मको सजाय भोग्नुपर्ने परिस्थितिले लोकतन्त्रको सबलीकरणमा योगदान पुग्न नसक्ने धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,“संविधान कार्यान्वयनको भूमिकामा रहेका सरकारका प्रतिनिधिबाटै संविधान उलङ्घन गर्ने काम भएको छ ।”

सांसद लक्ष्मणलाल कर्णले बर्दियाका राममनोहर यादवलाई कालो झण्डा देखाएकै आरोपमा पक्राउ गरी निर्मम ढङ्गबाट कुटपिट गर्दा उनको मृत्यु भएको बताउँदै यस विषयमा गृहमन्त्रीबाट जवाफ आउनुपर्ने र छानबिनका लागि संसदीय समिति गठन गर्न माग गर्नुभयो ।

सांसदद्वय अग्निप्रसाद सापकोटा र यज्ञराज सुनुवारले सिन्धुपाल्चोक र ओखलढुङ्गामा वर्षायाम शुरु भएयता बाढीपहिरोका घटनाबाट भएको जनधनको क्षतिको विवरण प्रस्तुत गर्दै पीडित परिवारलाई क्षतिपूर्तिको माग गर्नुभयो ।

सांसद भरत शाहले प्रर्याप्त वर्षा भएका कारण धान उब्जनीका लागि उपयुक्त मौसम भए पनि समयमा मलखाद उपलब्ध हुन नसक्दा किसान मारमा परेको हुँदा तत्काल मलखादको व्यवस्था गर्न माग गर्नुभयो ।

सांसद यमकुमारी छन्त्यालले बागलुङ जिल्लाबाट इञ्जिनीयरिङ पढ्न आएका छात्रको विभत्स तरिकाबाट हत्या भएको अवस्थामा स्वयम्भू क्षेत्रमा शव बरामद भएको हुंदा घटनाको छिटो छानबिन होस् भन्नुभयो । सांसद दुर्गा पौडेलले बजेट खर्च नहुने ढङ्गबाट विकास निर्माणका आयोजना छनोट गर्नुपर्ने तथा उखु किसानलाई परेको मर्काका विषयमा सरकारको गम्भीर ध्यान जानुपर्ने बताउनुभयो ।

सांसद अतहर कमाल मुसलमानले सङ्घीय सरकारले प्रदेश र स्थानीय तहका प्रमुखलाई थाहै नदिई रातारात कर्मचारीको सरुवा गर्दा स्थानीय तहमा कार्यसम्पादन गर्न कठिनाई भएको धारणा व्यक्त गर्नुभयो ।

सांसद इन्द्रकुमारी शर्माले मुलुकका विभिन्न भागमा बालिकादेखि वृद्धासम्म बलात्कृत भएका घटनाले समाजलाई नै विक्षिप्त तुल्याएको बताउँदै यस्ता अपराधका क्रियाकलापमा संलग्न आपराधीलाई कानूनी दायरामा ल्याउन र पीडितलाई न्याय दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद नवराज सिलवालले पशुपति क्षेत्र, हेटौँडा, रामेछाप, दोलखा, पर्वत जिल्लामा बाँदरबाट भएको आतङ्क र क्षतिको विवरण प्रस्तुत गर्दै सरकारबाट स्थायी रुपमा बाँदर आतङ्क रोक्न आवश्यक कदम चाल्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

सांसद महेश बस्नेतले पूर्ण प्रेस स्वतन्त्रताको विषय संविधानको प्रस्तावनामै उल्लेख भएकाले अहिलेको आन्दोलन प्रधानमन्त्री र गृहमन्त्रीमाथि लाञ्छना लगाउने ढङ्गबाट मात्र आएको टिप्पणी गर्नुभयो ।

सांसद अमनलाल मोदीले सत्तापक्षले राम्रो काम गरेपनि प्रतिपक्षले नकारात्मक टिप्पणी गर्ने तथा प्रतिपक्षले गरेको सामान्य आलोचनालाई सत्तापक्षले भिन्न ढङ्गले हेर्ने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिँदै विकास र समृद्धिको मार्गमा लैजाने सरकारबाट भइरहेको प्रयासलाई अन्यथा रुपमा नबुझ्न प्रतिपक्षलाई आग्रह दिनुभयो ।

पोल्याण्डद्वारा सैन्य सहकार्यको प्रस्ताव

पोल्याण्डको औपचारिक भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग आज त्यहाँका रक्षामन्त्री मारिउस्ट व्यास्टाकले नेपाली सेनाको क्षमता अभिवृद्धिका लागि संयुक्त अभ्यास र सहकार्यको प्रस्ताव गर्नुभएको छ ।

जवाफमा उपप्रधानमन्त्री पोखरेलले नेपाली सेनाले सञ्चालन गर्ने स्टाफ कमाण्डो तालीम, माउन्टेन वारफेर तालीम र प्यारा वेसिक तालीम पोलिस सेनालाई उपलब्ध गराउन नेपाल सरकार र नेपाली सेना तयार रहेको बताउनुभएको थियो ।

भूकम्पको समयमा पोल्याण्डका तर्फबाट नेपाली जनतालाई गरेको सहयोगका निम्ति धन्यवाद व्यक्त गर्दै उहाँले नेपालीका लागि प्रवेशाज्ञा (भिसा) आवेदन प्रक्रिया सहज बनाउन आग्रह गर्नुभएको उपप्रधानमन्त्रीका प्रेस संयोजक लोकेन्द्र केसीले जानकारी दिनुभयो । उपप्रधानमन्त्री पोखरेलले पोल्याण्ड सरकारले नेपाली विद्यार्थीलाई एमबिबिएस अध्ययनका लागि यसअघि पोल्याण्ड सरकारले दिँदै आएको छात्रवृत्ति पुनःसञ्चालन गर्न आग्रह गर्नुभएको थियो ।

दुईपक्षीय भेटवार्ता र छलफलमा पोल्याण्डका रक्षामन्त्री व्यास्टाकले आफ्नो मुलुकले नेपाली सेनाको क्षमता अभिवृद्धि गर्न सैन्य छात्रवृत्ति र सामग्री उपलब्ध गराउन इच्छुक रहेको दोहोरयाएको थियो । “नेपाली सेनाको क्षमता अभिवृद्धि गर्न सैन्य छात्रवृत्ति र सामग्री उपलब्ध गराउन हामी इच्छुक छौँ”, रक्षामन्त्री व्यास्टाकले भन्नुभयो, “हाम्रो मुलुक तपाईहरूसँग संयुक्त अभ्यास र सहकार्यको प्रस्ताव गर्छौं ।”

हालसम्म चीन, भारत, अमेरिका, बेलायत र पाकिस्तानलगायतका मुलुकसँग मात्रै नेपाली सेनाले संयुक्त अभ्यास गर्दै आएको छ । यस वर्षदेखि श्रीलङ्का पनि थपिएको संयुक्त सैन्य अभ्यास गर्ने मुलुकमा थपिएको छ । सन् १९९३ भन्दाअघि पोल्याण्डले चिकित्सक अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको थियो ।

बिम्स्टेक मुलुकबीच सैन्य अभ्यासको निर्णय भएको छैन- मन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौंथो सम्मेलनको कुनै पनि संयन्त्रमा आपसी सैन्य अभ्यास गर्ने भन्ने विषय समावेश नभएको बताउनुभएको छ ।

प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सम्मेलनबाट पारित विषयबारे जानकारी गराउँदै मन्त्री ज्ञवालीले बाहिर सञ्चारमाध्यममा आएजस्तो बिम्स्टेक मुलुकका सैनिकबीच संयुक्त अभ्यास गर्ने भनी सम्मेलनमा छलफल नभएको स्पष्ट गर्नुभयो । यही भदौ १४ र १५ गते काठमाडौँमा सो सम्मेलन भएको थियो ।

नेपालको परराष्ट्र नीतिअनुसार मुलुकको स्वाधीनतालाई प्रतिकूल असर पर्ने गरी कुनै निर्णय र सहमति शिखर सम्मेलनमा नभएको जनाउँदै उहाँले भन्नुभयो, “बिम्स्टेकको वरिष्ठ अधिकृतको बैठक, मन्त्रीस्तरीय बैठक र शीर्ष बैठकमा संयुक्त सैन्य अभ्यासबारे कुनै छलफल भएको छैन ।’’ प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यसबारे मङ्गलबारको संसद्को बैठकमा स्पष्ट पारिसक्नुभएको छ ।

समितिका सदस्य भीमबहादुर रावलले सम्मेलनको उद्घाटन सत्रमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यसै महीनाको अन्तिम साता भारतमा संयुक्त सैन्य अभ्यासका लागि आफूले स्वागत गर्ने भनी मन्तव्य दिएको र नेपालको सम्बन्धित निकायले पनि त्यहाँ सैन्य टोली जाने तयारी गरेको आफ्नो जानकारीमा आएको जिकिर गर्दै त्यस्तो अभ्यास बिम्स्टेकको अवधारणा प्रतिकूल हुने बताउनुभयो ।

समितिका सदस्य डा नारायण खड्काले बिम्स्टेक सम्मेलनका विषयमा समितिमा विस्तृत छलफल गर्नुपर्ने भएकाले अर्को बैठकको माग गर्नुभयो ।

परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीले बिम्स्टेकका सदस्य मुलुकका राष्ट्राध्यक्ष वा सरकार प्रमुखले सम्बोधनका क्रममा व्यक्त गरेका सबै धारणा साझा हुन नसक्ने जानकारी दिनुभयो । बैठकमा राहदानीसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७५ माथि छलफल प्रारम्भ भएको छ ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री