काठमाडौँमा शुक्रबार भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङगालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनको समापन समारोहमा बिम्स्टेकका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली ७नतसीलङकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनालाई बिम्स्टेकको अध्यक्षता हस्तान्तरण गर्दै । तस्बिर – प्रदीपराज वन्त, रासस
काठमाडौँ, १५ भदौ – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को अध्यक्षता श्रीलङ्कामा हस्तान्तरण भएको छ ।
राजधानीमा भएको चौथो शिखर सम्मेलन समापन समारोहमा केही बेरअघि बिम्स्टेकका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बिम्स्टेकको अध्यक्षता श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनालाई हस्तान्तरण गर्नुभएको हो ।
प्रधानमन्त्री ओलीले नेपालले बिम्स्टेकको अध्यक्षता ग्रहण गरेयता बितेका साढे चार वर्षमा सबै सदस्य राष्ट्रबाट निरन्तर सहायता प्राप्त भएकामा हार्दिक आभार प्रकट गर्नुभयो । साथै उहाँले नयाँ अध्यक्ष राष्ट्र श्रीलङ्कालाई सफल कार्यकालको शुभकामनासमेत व्यक्त गर्नुभयो ।
काठमाडौँमा शुक्रबार भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङगालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनको समापन समारोहमा बिम्स्टेकका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनालाई बिम्स्टेकको अध्यक्षता हस्तान्तरण गर्दै । तस्बिर – प्रदीपराज वन्त, रासस
म्यान्मामा बिम्स्टेकको कृषिसम्बन्धी मन्त्रिपरिषद् बैठक गरिने
म्यान्माका राष्ट्रपति विन मिन्तले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)का धेरै सदस्य मुलुकको राष्ट्रिय अर्थतन्त्रको प्रमुख हिस्सा कृषिको विकासमा जोड दिनुपर्ने बताउनुभएको छ ।
राष्ट्रपति विनले बिम्स्टेकमा कृषि क्षेत्रको नेतृत्वकर्ता मुलुक म्यान्मा रहेको बताउँदै आगामी वर्ष बिम्स्टेकको कृषिसम्बन्धी पहिलो मन्त्रिपरिषद् बैठक हुने जानकारी दिनुभयो ।
चार वर्षअघि म्यान्माको नेपिटमा सम्पन्न तेस्रो शिखर सम्मेलनपछि बिम्स्टेकको स्थायी सचिवालय ढाकामा स्थापना गर्नमा उल्लेख्य प्रगति गरिएको बताउँदै आफ्नो १२ मिनेटको मन्तव्यमा उहाँले शान्त, समृद्ध र दिगो विकासतर्फ उन्मुख बिम्स्टेकलाई हरसम्भव सहयोग गर्न आफू पूर्ण प्रतिबद्ध रहेको बताउनुभयो ।
आर्थिक उन्नयनमा सघाउन थाइल्याण्ड तयार
थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चाले बिम्स्टेक क्षेत्रमा आर्थिक विकासका लागि थाइल्याण्डले सक्दो सहयोग गर्ने बताउनुभएको छ ।
बिम्स्टेक शिखर सम्मेलनमा उद्घाटन मन्तव्य दिँदै उहाँले आर्थिक उन्नयनमा सघाउन थाई अनुभव र नीति यस क्षेत्रको विकास योजनामा सहयोगी हुने बताउनुभयो ।
उहाँले यस क्षेत्रको सामाजिक असमानता अन्त्यमा आफ्नो देशले हासिल गरेको प्रगति सबैलाई सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।
बिम्स्टेकका सहायताका १४ क्षेत्रलाई सङ्ख्यात्मकभन्दा गुणात्मकतामा जोड दिनुपर्ने बताउँदै उहाँले सदस्य राष्ट्रबीच सम्पर्क र सञ्जाल विस्तार, व्यापार तथा लगानी, जनस्तरको सम्पर्क अभिवृद्धि, सुरक्षा र विज्ञान तथा प्रविधिका क्षेत्रमा बिम्स्टेक केन्द्रित हुनुपर्ने कुरा आफ्नो १३ मिनेटको मन्तव्यमा बताउनुभयो ।
सम्मेलन उद्घाटनका अवसरमा श्रीलङ्काली राष्ट्रपति मैत्रीपाला सिरिसेनाले पनि आफ्नो मातृभाषामा १४ मिनेट मन्तव्य दिनुभएको थियो ।
बिम्स्टेकको रिट्रिट
बिम्स्टेकका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र सदस्य मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग रिट्रिटस्थल सोल्टी होटल ताहाचलमा भलाकुसारी गर्दै । तस्वीर -रासस
बिम्स्टेकका राष्ट्राध्यक्ष-सरकार प्रमुखको अनौपचारिक राजनीतिक संवाद (रिट्रिट) प्रारम्भ भएको छ ।
सदस्य मुलुकका राष्ट्राध्यक्ष-सरकार प्रमुखलाई आवासको व्यवस्था गरिएको स्थानीय ताहाचलस्थित सोल्टी होटलको पौडी पोखरी परिसरमा आयोजना गरिएको रिट्रिटमा सबै देशका राष्ट्राध्यक्ष-सरकार प्रमुख तथा उहाँहरूका जीवनसाथी पनि सहभागी हुनुहुन्छ ।
रिट्रिटमा बिहानको खाजाको प्रबन्ध गरिएको छ । सदस्य देशका राष्ट्राध्यक्ष-सरकार प्रमुखका निम्ति एउटा मुख्य टेबल र सोही टेबल नजिक उहाँहरूका श्रीमती-श्रीमान्लाई बेग्लै टेबलको व्यवस्था गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । आफ्नै भाषामा अभिव्यक्त गर्न चाहने राष्ट्राध्यक्ष-सरकार प्रमुखका लागि दोभाषेको पनि व्यवस्था गरिएको छ ।
बिम्स्टेकका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली तथा उहाँकी धर्मपत्नी राधिका शाक्यले रिट्रिटस्थलमा सदस्य मुलुकका राष्ट्राध्यक्ष-सरकार प्रमुख तथा उहाँहरूका जीवनसाथीलाई स्वागत गर्नुभयो । त्यसअघि पञ्चकन्याले पनि उहाँहरुलाई पुष्पगुच्छासहित स्वागत गरेका थिए ।
रिट्रिटमा बिम्स्टेक राष्ट्रका बाह्य मामिला-विदेशमन्त्री-राज्यमन्त्री पनि सहभागी हुनुहुन्थ्यो । उहाँहरूलाई परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले स्वागत गर्नुभएको थियो । त्यसैगरी उक्त एकान्त भेटमा सहभागी बाह्य मामिला-विदेश मन्त्रालयका सचिवलाई परराष्ट्र सचिव शङ्करदास वैरागीले स्वागत गर्नुभएको थियो ।
नितान्त निजी एवं ऐकान्तिक भेटका निम्ति रिट्रिटस्थलमा सदस्य देशका विशिष्ट अतिथि र उच्चपदस्थ अन्य पाहुना आउँदा पृष्ठभूमिमा सबै देशका राष्ट्रिय धुन मन्द र मधुर ध्वनिमा बजाइएको थियो । रिट्रिटका क्रममा बिहानी खाजाको कार्यक्रम पूरा भएपछि राष्ट्राध्यक्ष-सरकार प्रमुखका लागि केही समय व्यक्तिगत कुराकानीका निम्ति छुट्याइएको र रिट्रिटको उत्तरार्धमा सामूहिक तस्बीर खिचाउने कार्यक्रम रहेको शिष्टाचार महापाल दीपक अधिकारीले बताउनुभयो ।
औपचारिक रूपमा अभिव्यक्त गर्न नसकिने विषय उठाउने उपयुक्त अवसरका रूपमा यस्ता भेटवार्ता उपयोगी हुने पूर्व पराष्ट्र सचिव तथा पूर्वराजदूत मधुरमण आचार्यले अभिमत प्रकट गर्नुभयो । रिट्रिटलाई अनौपचारिक राजनीतिक परामर्श गर्ने माध्यमका रुपमा प्रष्ट्याउँदै उहाँले मनका कुरासमेत गर्न पाइने स्थल नै रिट्रिट हो भन्नुभयो ।
बिम्स्टेकका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली तथा उहाँकी धर्मपत्नी राधिका शाक्यले रिट्रिटस्थल सोल्टी होटल ताहाचलमा बिम्स्टेका सदस्य मुलुक भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवं प्रधानन्यायाधीश ल्योन्पो छिरिङ वाङचुकलाई स्वागत गर्दै । तस्वीर – प्रदीपराज वन्त, रासस
दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मा पनि राजनीतिक संवादका निम्ति रिट्रिटको प्रावधान रहेको स्मरण गराउँदै उहाँले औपचारिक ‘एजेण्डा’मा छलफल नै नहुने विषय रिट्रिटम विचारविमर्श हुने गरेको बताउनुभयो ।
रिट्रिटमा द्विपक्षीय, बहुपक्षीय मामिलाका साथै क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका विषय मात्र होइन जारी सम्मेलन-बैठकमा आफ्नो प्रस्तावको विरोध वा समर्थन के हुनसक्छ भन्ने बुझ्न र आफ्नो पक्षमा समर्थन जुटाउन प्रयास हुने पूर्व राजदूत आचार्यले उल्लेख गर्नुभयो ।
पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।