मुलुकभर बाढीले वितण्डा, नदी किनारका बस्तीमा त्रास

वीरगन्जको रानीघाटमा मङगलबार बाढीमा जम्मा भएको पानीबाट तर्दै स्थानियवासी । तस्बिर – बिजय कुमार महतो, पर्सा, रासस

दार्चुला, १९ असार – लगातार तीन दिनदेखि पानी परिरहेको र महाकाली नदीमा पानीको बहाव बढेपछि महाकाली नदी किनारका बस्तीमा त्रास फैलिएको छ ।

२०७० सालको बाढीले त्रसित बनेका नदी किनारका बस्तीमा महाकालीमा पानीको बहाव बढेसँगै त्रास फैलिएको हो । पानी पर्ने क्रम नरोकिएकाले महाकालीमा पानीको बहाव अझै बढ्दै जाने अनुमान गरिएको छ । नदीमा पानीको बहाव सोमबार बिहान चारमिटर नौ सेन्टिमिटर रहेकामा बेलुका केही घटेर तीन मिटर ९० सेन्टिमिटर पुगेको जिल्ला आपत्कालीन सञ्चालन केन्द्रका प्रमुख राजकुमार घिमिरेले बताउनुभयो । तर फेरि पानी पर्न शुरु भएका कारण पानीको बहाव अझै बढेर जाने खतरा रहेको छ ।

महाकाली नदी किनारका सुन्सेरा, हुती, दत्तु लाली, उकुलगायतका बस्तीमा त्रास फैलिएको छ । महाकालीको डरले नदी किनारका नागरिक राति नसुतेरै बस्ने गरेका छन् । महाकालीको डरले रात भर जाग्राम बस्ने गरेको मालिकार्जुन गाउँपालिका–७ का निर्मला चन्दले बताउनुभयो ।

नदीमा पानीको बहाव बढेसँगै नदी किनार क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएका छन् । महाकाली नदी किनारमा पर्ने सीमावर्ती क्षेत्रका प्रहरी चौकीलगायत सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मबाट समेत सशस्त्र प्रहरीलाई खटाइएको छ । पानीको बहाव बढेसँगै तत्काल जानकारी गराउन तथा सुरक्षा सतर्कता अपनाउन निर्देशन दिई सशस्त्र प्रहरी परिचालन गरिएको गुल्मपति अम्बिकाप्रसमद जोशीले जानकारी दिनुभयो ।

लगातारको वर्षाले जनजीवन प्रभावित बने पनि अहिलेसम्म मानवीय क्षति वा ठूलो पहिरो र बाढीको घटना नभएको प्रहरीले जनाएको छ । लगातार पानी पर्ने क्रम जारी रहेका कारण महाकालीमा बाढी आउने आंशका गरिएको छ । भारतको खोतिला क्षेत्रमा गत वर्ष गएको सुख्खा पहिरो अहिले नेपालको बंगाबगड क्षेत्रमा असर गर्ने सम्भावना रहेको छ । खोतिला क्षेत्रमा खसेको पहिरो महाकाली नदीमा आएका कारण नेपालको बंगाबगड क्षेत्रमा जोखिम रहेको छ ।

नेपालतर्फको नदी किनारमा पक्की तटबन्ध निर्माण गरिएको भए पनि सो क्षेत्रमा खसेको पहिरोले गर्दा ठाउँ साँगुरो भएको तथा पानीको बेगले कटान गर्नसक्ने तथा महाकालीको पानी बंगाबगड बजारसम्म आउने खतरा रहेको छ ।

यसैबीच, लगातारको वर्षाले ठाउँठाउँमा सडक भत्किँदा दार्चुला— तिंरक सडकखण्ड अवरुद्ध भएको छ । दार्चुला—तिंकर सडकखण्डअन्तर्गत श्रीबगड, राताकाठा सडक खण्डको दुई-तीन स्थानमा माथिबाट पहिरो खस्दा मान्छे हिँड्न नमिल्ने गरी सडक भत्किएको छ ।

अवरुद्ध सडक स्थानीयले ट्र्याक्टर प्रयोग गरी खुलाएको भए पनि पुनः पहिरो खस्दा अवरुद्ध बनेको हो । भारी वर्षाका कारण ग्रामीण भेगका बाटो घाटोसमेत भत्किएका छन् ।

जिल्लाका अन्य क्षेत्रमा पनि वर्षा भइरहेको छ । पाँच वर्ष अघिको विनाशकारी बाढीबाट प्रभावित बनेका दार्चुलावासी यसपालिको वर्षात्मा पनि बाढी आउने भन्दै त्रसित बनेका छन् । महाकालीमा पानीको बहाव बढेपछि स्थानीयमा फेरि बाढी आउने त्रास बढेको हो ।

महाकाली पुलमा सवारीसाधनलाई रोक

कञ्चनपुर, १९ असार- महाकाली नदीमा पानीको बहाव बढेपछि चारपांग्रे सवारीसाधन सञ्चालनमा लगाइएको रोक आज पनि यथावत रहेको छ । नदीमा पानीको बहाव बढेपछि चारपांग्रे सवारीमा रोक लगाइएको हो ।

आज बिहान ८ बजेको मापनअनुसार महाकाली नदीमा पानीको बहाव एकलाख ४४ हजार ८७० क्युसेक पुगेको छ । नदीमा पानीको बहाव ८० हजार क्युसेकभन्दा बढी पुगेमा पुलमा चारपांग्रे सवारीसाधन सञ्चालनमा रोक लगाउने गरिएको छ ।

पुल पुरानो र जीर्ण भएका कारण भारतीय पक्षले पानीको बहाव बढेमा सवारीसाधन सञ्चालनमा रोक लगाउने गरेको छ । नदीमा पानीको बहाव घटने प्रतिक्षामा सवारीसाधन पुल वारी र पारी लाम लागेर बसेका छन् । पुलमा साइकल, मोटरसाइकल र पैदलयात्रुका लागि भने आवागमन खुला गरिएको छ ।

महोत्तरीका ५० भन्दा बढी गाउँ बाढीको उच्च जोखिममा

गौशाला, १९ असार – महोत्तरी जिल्लाका आठ नगरपालिका र दुई गाउँपालिकाका ५० भन्दा बढी गाउँ बाढीको उच्च जोखिममा परेका छन् ।

विगत तीन दिनदेखि परेको अबिरल वर्षाका कारण महोत्तरी जिल्लाको नदी तटीय जलेश्वर, बर्दिवास, औहरी, भंगहा, लोहारपट्टी, बलवा, गौशाला र मटिहानी नगरपालिका तथा पिपरा र सोनमा गाउँपालिकाका ५० भन्दा बढी गाउँ डुबानको उच्च जोखिममा रहेका छन् ।

ती विभिन्न नगरपालिका तथा गाउँपालिका भएर बग्ने रातु, मरहा, जंघा, विग्ही, कुटमेश्वरीलगायतका नदीमा बाढीको पानीको सतह तीव्ररुपमा बढिरहेका कारण कुनै पनि बेला नदीको पानी गाउँ बस्तीमा पसेर दर्जनौँ गाउँ डुबानमा पार्नसक्ने खतरा बढेको नगरपालिका तथा गाउँपालिकाका स्थानीय बासिन्दाले बताएका छन् ।

त्यस्तै, ती नगरपालिका र गाउँपालिकाका प्रमुखले समेत लगातारको वर्षाका कारण यसपालि पनि ठूलै बाढी आउन सक्ने संकेत देखिएकाले सर्वसाधारणलाई सतर्क रहन आग्रह गर्नुभएको छ ।

यता जिल्ला दैवीप्रकोप उद्धार समितिले पनि अहिलेसम्म जिल्लामा कुनै अप्रिय घटना नघटेको तर बाढीको खतरा रहेको जनाउँदै जिल्लावासीलाई सतर्क रहन आग्रह गरेको छ ।

कर्णाली तर्फका हवाई उडान बन्द, यात्रु अलपत्र

खजुरा, बाँके, १९ असार – निरन्तर भारी वर्षाका कारण नेपालगञ्जबाट कर्णालीका पहाडी जिल्लाका लागि हुने हवाई उडान सेवा ठप्प भएको छ ।

आइतबार साँझदेखि शुरु भएको वर्षाले नेपालगञ्जबाट कर्णाली क्षेत्रअन्तर्गतका जिल्लामा हुने सबै हवाई उडान सोमबारदेखि बन्द रहेको नागरिक उड्डयन कार्यालय, नेपालगञ्जका सूचना अधिकारी कृष्ण गौतमले बताउनुभयो ।

नेपालगञ्जबाट जुम्ला, हुम्ला, डोल्पा र मुगुमा दैनिक उडान हुने गरेका छन् । हुम्लाका लागि उडान नहुंदा ५०० भन्दा बढी भारतीय तीर्थयात्री यहाँका विभिन्न होटलमा अलपत्र परेका छन् ।

कर्णालीबाहेक काठमाडौँको उडान मात्र नियमित रहेको सो कार्यालयले जनाएको छ ।

वर्षासँगै पहिरोका कारण जनजीवन प्रभावित

रोल्पा, १९ असार – सोमबार परेको अविरल वर्षाका कारण रोल्पाको जनजीवन प्रभावित भएको छ ।

वर्षापछि आएको पहिरोका कारण जिल्लामा मानवीय तथा भौतिक क्षति भएको छ भने जिल्लाका भित्री सडकमा चल्ने यातायातका साधन आवतजावतमा समेत कठिनाइ हुँदै आएको छ ।

रोल्पा नगरपालिका–१० धवाङ सुनवाङमा रहेको एक विद्यालयको भवन पहिरोले पुरिँदा पठनपाठन प्रभावित भएको छ । गुरुदय आधारभूत विद्यालयका दुईवटा भवनमा पहिरोले असर पुरयाउँदा पठनपाठन प्रभावित भएको हो । दुईवटा भवनको सबै भागमा असर परेकाले सोमबार विद्यालय नै बन्द गरिएको बताइएको छ । विद्यालयका दुवै भवन क्षतिग्रस्त हुँदा पठनपाठनका लागि अन्य विकल्पसमेत नभएकाले विद्यालय बन्द गर्न बाध्य भएको विद्यालयले जनाएको छ ।

तुरुन्त उक्त भवन मर्मत नगरे वा मौसममा सुधार नआए विद्यालय अनिश्चितकालका लागि बन्द हुनसक्ने बताइएको छ । कक्षा १ देखि ३ सम्म पढाइ हुने उक्त विद्यालय भवनमा सोमबार बिहान पौने ११ बजे पहिरो खस्दा क्षति पुगेको स्थानीय शेरबहादुर थापाले जानकारी दिनुभयो ।

अविरल वर्षाकै कारण रोल्पा नगरपालिका–४ धाँसीखोला नजिक निर्माणाधीन सडकमा लगाइएको जालीसहित पहिरो खस्दा एक घरमा क्षति पुगेको छ । पहिरोका कारण रोल्पा नगरपालिका–४ का यज्ञविक्रम मल्लको घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय, रोल्पाका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँलले जानकारी दिनुभयो । पहिरोमा परी एक बाख्रा च्यापिएर मरेको भेटियो भने अन्य दुई बाख्रासमेत च्यापिएको हुनसक्ने स्थानीयले बताएका छन्, प्रहरी नायब उपरीक्षक फुयाँलले भन्नुभयो ।

साथै, अविरल वर्षाकै कारण दक्षिण रोल्पाको रुन्टीगढी–५ सैवाङमा घरमाथिबाट आएको पहिरोले घर पुरिँदा सुत्केरी महिलासहित तीन जनाको मृत्यु भएको छ भने अन्य स्थानमा भौतिक तथा आर्थिक क्षति भएको छ ।

रुन्टीगढी गाउँपालिका–५, सैबाङका राजकुमार विकको घर पहिरोले पुरिँदा घरभित्र आगो ताप्दै गरेकी २२ वर्षीया सुत्केरी कमला विकको मृत्यु भएको हो । सुत्केरी कमलासँगै १८ दिनको शिशु आयुषाल र छिमेकी १५ वर्षीया किशोरी चित्रा विकको समेत पहिरोका कारण मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुदर्शन पन्थीले जानकारी दिनुभयो ।

शिशु आयुषाल र चित्राको घटनास्थलमै मृत्यु भएको तथा सुत्केरी कमलाको प्राथमिक स्वास्थ्य केन्द्र होलेरी लैजाँदै गर्दा मृत्यु भएको पन्थीले जानकारी दिनुभयो । लामो समय भत्किएको घरभित्रै रहेकी कमलालाई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि स्वास्थ्य केन्द्र लैजाँदै गर्दा मृत्यु भएको हो ।

अघिल्लो दिनदेखि निरन्तर भइरहेको अविरल वर्षाका कारण घर भत्कनुअघि कसैले पनि जानकारी पाएनन् । “एक्कासि घर भत्किएपछि दुर्घटना हुन पुगेको हो ।” प्रहरी निरीक्षक पन्थीले भन्नुभयो । पहिरोका कारण राजकुमारको छिमेकीको घर पनि जोखिममा परेको प्रहरीले जनाएको छ ।

चार दिनदेखि तारा एयरको विमान लुक्लाबाट उड्न सकेन

सल्लेरी, सोलुखुम्बु, १९ असार – यहाँको तेन्जिङ हिलारी विमानस्थल लुक्लामा चार दिनदेखि एउटा विमान थन्किएर बसेको छ । मौसम प्रतिकूलताका कारण तारा एयरको विमान लुक्ला विमानस्थलमै थन्किएर बसेको हो ।

नाइनएनएकेके कल साइन भएको उक्त विमान अझै केहीदिन लुक्लाबाट काठमाडौं जानसक्ने सम्भावना नदेखिएको तारा एयर लुक्लाका प्रमुख फुनुरु शेर्पाले जानकारी दिनुभयो ।

शुक्रबार मौसम प्रतिकूल हुँदा पनि यहाँ अवतरण गरिएका दुई वटा विमानमध्ये समिट एयरको विमान यात्रु लिएर तत्काल फर्कन सफल भए पनि तारा एयरको विमान भने फर्किन नसकेको तारा एयर लुक्लाले जनाएको छ । विमान कम्पनीको नियमअनुसार ४८ घण्टाभन्दा बढी सोही विमानस्थलमा राख्नुपर्ने अवस्था आएमा प्राविधिकले निरीक्षण गरेपछि मात्र उडान गर्नुपर्ने हुन्छ । नियमअनुसार अब लुक्लामा प्राविधिक आएर विमानको अवस्थाबारे निरीक्षण गरेपछि मात्र उक्त विमानले उडान गर्ने बताइएको छ ।

अहिले जिल्लाको माथिल्लो क्षेत्रमा बाक्लो हुस्सु लागेको छ । हुस्सुका कारण जिल्लाको अर्को विमानस्थल फाप्लुमा समेत कुनै उडान हुनसकेको छैन । यहाँ हेलिकप्टरले समेत उडान भर्न सक्ने अवस्था नरहेको फाप्लु विमानस्थलले जनाएको छ ।

हेलिकप्टरले समेत उडान भर्न नसक्दा आकस्मिक बिरामीलाई काठमाडौं लैजान समस्या भएको सोलु हेल्थकेयर सेन्टर सल्लेरीका निर्देशक डा राजेन्द्र बस्नेतले बताउनुभयो । “सघन उपचार कक्ष ‘आइसियु’मा राखेर उपचार गर्नुपर्ने बिरामी छन् तर लैजान सकिएको छैन, मान्छेको ज्यान बचाउन मुस्किल परयो ।” उहाँले भन्नुभयो, “अक्सिजन छुटायो भने एक घण्टाभन्दा बढी बचाउन सक्ने अवस्था छैन, गाडीबाट लानसक्ने स्थिति हुने कुरै भएन, मौसम प्रतिकूलताका कारण हेलिकप्टरसमेत आउन सकेन ।”

गत असार १५ गते जिल्लाको सोलुदूधकुण्ड नगरपालिका–११ तिङ्लामा जीप दुर्घटनामा ज्यान गुमाएका दुईजना कर्मचारीको शव हेलिकप्टरबाट गृहजिल्ला लाने तयारी गरे पनि सफल हुन सकेन । दुई दिनसम्म हेलिकप्टरको पर्खाइमा बसे पनि सफल नभएपछि जीपमार्फत नै लगिएको सहायक प्रमुख जिल्ला अधिकारी टुक्ती शेर्पाले बताउनुभयो ।

लुक्ला विमानस्थलमा उडान हुन नसक्दा पर्यटक अलपत्र परेको तारा एयर लुक्लाका स्टेशन इन्चार्ज फुनुरु शेर्पाले बताउनुभयो । उहाँले भन्नुभयो, “यति नै यात्रु छन् भन्ने यकिन तथ्याङ्क छैन, केही यात्रु पैदल यात्रापछि सदरमुकाम सल्लेरीबाट जीपमार्फत गएको बुझिएको छ भने केही यात्रु एक घण्टाको पैदल यात्रापछि तल सुर्के पुगेर हेलिकप्टरमार्फत गइरहेका छन् ।” देशभर भएको अविरल वर्षाको प्रभाव सोलुखुम्बुमा पनि परेपनि कुनै पनि अप्रिय घटना भने नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

बबई नदी तटबन्धको काम तीव्र

गुलरिया, बर्दिया, १९ असार – बबई भादा औरही नदी व्यवस्थापन आयोजनाले बबई नदीले गर्ने कटान र डुबान नियन्त्रणका लागि शुरु गरेको तटबन्ध निर्माणको काम तीव्रगतिमा भएको छ ।

अठ्चालीस किलोमिटर दायाँ र ४६ किलोमिटर बायाँ तटबन्ध गर्दै बारवर्दिया गुलरिया जोखिमी क्षेत्रलाई पूर्णरुपमा सुरक्षित गरिँदै आएको छ । तीन वर्षभित्र बर्दियालाई पूर्णरुपमा सुरक्षित गर्ने गुरुयोजनानुसार कटान नियन्त्रण गर्न तटबन्धन हुँदैछ ।

गुरुयोजनानुसार रु तीन अर्ब ९२ करोड लागतमा २८ किलोमिटर तटबन्धन निर्माण हुने बबई औरही र मानखोला नदी नियन्त्रण तथा व्यवस्थापन आयोजना कार्यालय प्रमुख नारायाण सुवेदीले जानकारी दिनुभयो । बर्दियामा तटबन्ध राम्रो भए पनि बबई नदीमा दुईतर्फ तटबन्ध निर्माण हुनुपर्ने माग बर्दियावासीको छ । यसले बबई नदी क्षेत्रमा जग्गा कटान र डुबानको समस्याबाट जोगाउनुपर्ने बर्दिया नगरपालिकाका प्रमुख दुर्गाबहादुर थारुले बताउनुभयो ।

बबई नदी दीर्घकालीन रुपमा नियन्त्रण नहुंदा वर्षेनी बस्तीमा नदी पसेको छ । थारुले भन्नुभयो, “गुरुयोजना अनुसार नदी नियन्त्रण र तटबन्ध नियन्त्रणको प्रयास भएको देख्दा खुशी लागेको छ ।” बबई भादा औरहीको काम शुरुको चरणमा छ । तटबन्ध निर्माण पूर्णता नपाउँदा यस वर्ष पनि गुलरिया नगरसहित चार नगरपालिका बाढीको जोखिममा छन् । गुरुयोजनानुसार बन्ने एकतर्फी तटबन्धले भविष्यमा बबर्ईको भेल थेग्न सक्दैन । नदी किनारमा बसोवास गर्ने जनता सधैँ बाढीको त्रासमा रहिरहने स्थानीयवासीको गुनासो छ ।

बबई भादा नदी ओराही व्यवस्थापन आयोजनाले कतिपय ठेक्का सम्झौताको प्रक्रियामा भएकाले अर्को आर्थिक वर्षदेखि तटबन्धको काम शुरु हुन्छ । आयोजना प्रमुख नारायण सुवेदीले भन्नुभयो, “बबई नदी नियन्त्रणका लागि संशोधित गुरुयोजनामा रु १३ अर्ब माग गरिएको छ । यसबाट बबई नदीका दुवै किनारमा तटबन्ध निर्माण गर्न सकिन्छ ।”

विसं २०५५ मा बबई नियन्त्रणका लागि जाइकाले गरेको सर्भेअनुसार काम नभएकामा बर्दियाका बासिन्दा दुःखी छन् । बबई परेवा ओढारदेखि भारतको सीमासम्म बबर्ई नदी नियन्त्रणका लागि कार्ययोजना बनाइएको थियो । बर्दियाका चार नगर सुरक्षित गर्न २०५५ मा सर्भे गरेर काम थालेको जाइकालाई अर्को ठाउँमा लगिएकाले वर्षेनी यहाँका जनताले दुःख पाएका छन्, घरविहीन हुन बाध्य छन् ।

जाइकाले बाढी नियन्त्रण गर्ने र स्थानीयवासीलाई जीविकोपार्जन गर्ने विषय समेटिएर योजना बनाइएको थियो । एक स्थानीयवासी भन्छन्,“ जाइकालाई अर्को ठाउँमा लगियो, यहाँका नेताको पहुँच पुगेन, जाइकाले गरेको सर्भे राजनीतिक प्रभावका कारण पूर्व सारियो ।”

लट्कानीय गुरुवा गाउँ, रामपुर टापु, कुसुमडाँडा, घोरपित्ता, पडनाहा, पण्डितपुर, टरुवा, भैसाही, बालापुर, जब्दीघाट, बिक्री प्रयागपुर, कोठीया ठप्पुवा, पशुहाट बजार, भैसायी, गुलरिया र टडुवा नदी बस्ती पस्ने सम्भावना यस वर्ष टरेको स्थानीयवासीले बताएका छन् । तटबन्ध भएपछि एक हजार ९८५ घरधुरी प्रत्यक्ष लाभान्वित हुने छन् । बगनाहा, ढोढरी, सानोश्री बानिया भार, पडनाहा, धधबारमा गुरुयोजना अनुरुप काम अघि बढेको छ । अघिल्लो वर्ष बबईमा आएको बाढीले नगरपालिकाका अधिकांश बस्तीमा क्षति पुरयाएको थियो । बाढीले बगाउँदा ३४ जनाको ज्यान गएको तथ्यांक छ ।

नदीले कटान गर्न थालेको वर्षौं बितिसक्दा पनि दीर्घकालीन तटबन्धनको योजना बबई नदीमा नपरेको गुलरिया नगरपालिकाका बासिन्दा मोहनकुमारी फुयाँलले बताउनुभयो । बाढीलगत्तै जिल्लाका सबै तहतप्काका मानिस गम्भीर बन्दै गुलरिया बचाऔँ अभियानमा लाग्ने गरेका छन् । स्थानीयवासीले वर्षौंदेखि दुवैतर्फ तटबन्ध लगाउनुपर्ने माग गर्दै आए पनि सुनुवाइ हुन सकेको छैन ।

बबई नदी नियन्त्रण गर्न दुईतर्फ तटबन्धन गुरुयोजना स्वीकृत नहुँदा बर्खामा नगरवासी सुरक्षित महसुस गरेर बस्न सक्दैनन् । गाउँ र नगर सुरक्षित गर्न दुईतर्फ बजेट छुट्याउन जरुरी रहेको बताइन्छ ।

स्थानीयवासी प्रदेश सांसद तिलक शर्माले भन्नुभयो, “यहाँका थारु मात्र नभएर गुलरिया वारबर्दियावासी, ठाकुरबाबा, मधुवन नगरपालिकावासी पहिले राज्यको बेवास्ताले पुस्तेनी ठाउँ छाडेर अन्यत्र हिँड्न बाध्य भए । बबई नदी नियन्त्रण गर्न सके खेतीयोग्य पाँच हजार बिघा जमीन उकासिने र बर्दियाको सदरमुकाम सुरक्षित हुने छ ।”

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री