सोमबार, असोज १२ २०७७ | Mon, September 28, 2020
नेपालको समय: ०७:२० | UK Time: 02:35

बेलायतमा साकेला शिली रमझम

रोशन मेवाहाङ
२०७५ वैशाख २३ गते २:३५


लन्डन । बेलायतवासी किरांत राईहरुले ग्याम्बल्स लेन, रिप्ले अवस्थित माङखीम तथा साकेला स्थल (किरांत राई घर) मा उभौली यलेदोङ ५०७८ (वि. स.२०७५) साकेला पर्व भव्य रुपमा मनाएका छन् । बेलायतमा हरेक वर्ष साकेला पर्व तथा उभौली शिली प्रतियोगिता धुमधामसंग मनाउने चलन छ ।

किरांती धामी (नाछोङ) ले टाउकामा सेतो फेटा लगाई सुम्निमा पारुहाङको तस्विर, ढोल र झ्याम्टा सहित सेउलीको थानमा उभौली भूमिपूजा गरी थान वरिपरी नाचेर विधि अनुरुप कार्यक्रम सुरुवात गरिएको थियो ।

किरांत राई यायोक्खा बेलायतका अध्यक्ष पदमबहादुर राईको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी थिए भने बेलायतमा क्रियाशील विभिन्न संघसंस्थाका प्रतिनिधि र दर्शकहरुको बाक्लो उपस्थिति थियो ।

‘सिमली सेउली गाडेर देवी र देउता भाकेर
पुर्खाको रीति शाकेला मनाऔं शिली नाचेर
सोई सोइला हो सोई सोइला

पृष्ठभूमिमा सहभागी यस्तो भाकाको गीतमा रोमाञ्चित बनिरहेका थिए ।

यस्ता भाकाका गीतहरु यो महिना स्वदेश तथा विदेशी किरांती गाउं वस्तीहरुमा कान कानमा गुन्जायमान 
भइरहेको सुनिन्छ । साकेला पर्व राईहरुको महान चाड हो । यो वर्षमा दुई पटक उभौली (वैशाख पूर्णिमा) र उधौली (मङसीर पूर्णिमा ) मा धुमधामले मनाइन्छ । साकेला नाच राजधानी काठमाडौं लगायत नेपालको पूर्वी जिल्लाहरु विशेष गरेर इलाम, झापा, मोरङ कानेपोखरी, सुनसरी, भोजपुर, खोटाङ, सोलुखुम्बु, उदयपुर, धनकुटा र संखुवासभा आदि जिल्लाको किरांत वस्तीहरुमा बढि मात्रामा प्रचलित र लोकप्रिय छ । त्यसैगरि अन्तर्राष्ट्रिय स्तरमा किरांती जनघनत्व भएका देशहरु भारत, सिक्किम, दार्जिलिङ, अमेरिका, बेलायत, हङकङ, जापान, कोरिया मलेसिया, कतार, अष्टेलिया र ब्रुनाइमा समेत अहिले भव्यरुपमा साकेला पर्व मनाउने प्रचलन बढेको देखिन्छ ।

साकेला खासमा के हो ?

वसन्त ऋतुको आगमनसंगै यस धर्तीमा बोटविरुवाहरुले पालुवा फेर्न थाल्छन् । बन जंगलमा चराचुरुङ्गीहरुले आ-आफ्नो भाका फेर्न थाल्छन् । नयां वर्षको आगमनसंगै वैशाख पूर्णिमा देखि औंसीसम्म किरांती गाउंघरका बूढापाका साथै केटाकेटीहरु ढोल झयाम्टा निकालेर झन्डै १५ दिनसम्म यसमा रमाउंछन् । वास्तवमा यो पर्व किरांतीहरुले खेतीपाती लगाउने समयमा अन्नवाली वा उब्जनी बढोस्, आंधीवेरी, असिना नपरिदियोस्, अन्नबालीमा रोग नलागोस् भनि सुम्निमा र पारुहाङसंग बल र शक्तिको आर्शीवाद माग्दै कुखुराको भाले बलिदिएर भूमी पुज्ने चलन चलाउंदै आएको पाइन्छ । बालबालिका, बृद्ध सबै आपसमा गोलो घेरा लगाएर विभिन्न जनावर, चराचुरुङ्गीहरुको नक्कल गर्दै साकेला शिली नाच्ने गरिन्छ । विशेष गरि चौंरीको पुच्छर (पोमी) र छिर्लिङ (सिलिमा) नाचको मुल्की (सिलीमोपा) प्रयोग गर्ने प्रचलन छ ।

भेषभूषा
नाचमा सहभागी पुरुषहरुले खाडीको दौरा सुरुवाल, कोट र ढाका टोपी लगाई बिनायो, मुर्चुङगा, लिम्चिङबुङ, मयूर र लुईचेको प्वाख लगाउने प्रचलन छ भने महिलाले छिटको गुन्यु, ढाकाको पछ्यौरी, मखमल वा ढाकाको चोलो र सेतो पटुकी लगाई ढुङग्री, मुन्द्री, बुलाकी, हार, सिक्काको माला जस्ता गरगहना लगाउने चलन छ ।

साकेला उभौली बाली लगाउने बेलामा बैशाख पूर्णिमाको दिन र उधौली बाली उठाउने बेला मंङसीर पूर्णिमाको छेकमा मनाउने गरिन्छ । किरातहरुको मुन्धुम अनुसार १ वर्षलाई दुई भागमा बांडिन्छ (उभौली र उधौली) । यसैको रुपमा यो चाड मनाउने परम्परा चलिआएको पाइन्छ । उभौली र उधौली किरांत समुदायको मुख्य चाड हो । याक्खाले चासुवा, सुनुवारले फोलफ्यादर, लिम्बुले चासोक तङनाम र राईहरुले उभौलीलाई साकेला र उधौलीलाई छौवा भन्ने गर्छन् ।

यसै सन्दर्भमा अभिभावक र बुद्धिजिवीहरु प्रवासमा रहे पनि आफ्नो धर्म, संस्कृति, संस्कार, परम्परा र चाड मनाउंदै भावी सन्ततिहरुलाई सिकाउंदै लैजानु पर्नेमा जोड 
दिन्छन् । स्वदेशबाट टाढाको वस्ती अर्थात विरानो देशमा रहेपनि आफ्नो संस्कार, संस्कृति र पहिचानलाई जीवित राख्नका निमित्त पनि साकेला पर्व मनाउंदै आएको देखिन्छ ।

प्रतियोगिता बन्यो रोचक पक्ष
बेलायतवासी किरात राईहरुको १४७ रोपनी जग्गा रहेको आफ्नै भूमि माङखिम तथा साकेला स्थलमा वि.स. २०७३ सालबाट साकेला थालनी गरिएको हो । माङखीम मुलघर (पूजाघर) निर्माण कार्य चांडै सुरुवात गरिने अध्यक्ष पदम राईले जानकारी दिए । बेलायत निवासी हजारौं किरात राई तथा अन्य नेपाली समुदायको उपस्थिति रहेको यसपटकको साकेलामा
९ प्रारम्भिक कार्यसमितिले फरक फरक प्रतियोगितात्मक साकेला सिली प्रदर्शन गरेका थिए । कार्यक्रमको अन्तिम चरणमा साकेला शिली संयोजक रिटायर्ड मेजर भूपजित राईले प्रतिष्पर्धीहरु मध्ये प्रथम स्थान मेडस्टोन केन्ट, द्वितीय ग्रेटर रसमोर र फोक्सटन केन्ट प्रारम्भिक कार्यसमिति तृतीय स्थानमा विजयी भएको घोषणा गरेका थिए ।

उक्त घोषणापछि अध्यक्ष राईले प्रथम स्थान मेडस्टोन केन्टका प्राकास अध्यक्ष पत्रकार देवेन्द्र खेरेसलाई नेपाली रुपैंया नगद ५० हजार, द्वितीय टिम ग्रेटर रसमोरलाई नगद ४० हजार र तृतीय स्थान हात पार्न सफल फोक्सटन केन्ट प्रारम्भिक कार्यसमितिलाई २५ हजार र शिल्ड पुरस्कार दिंदै वधाइ दिएका थिए ।

प्रतियोगिताको भेषभूषामा केन्टवरी प्रारम्भिक कार्यसमिति चयन भयो भने उत्कृष्ट ढोलेको उपाधि ग्रेटर रसमोर प्रारम्भिक कार्यसमितिका महेन्द्र राईले पाए ।

हजारौं दर्शक उपस्थित रहेको उक्त साकेला कार्यक्रमको सम्पूर्ण संयोजन रिटायर्ड मेजर सुमन चन्द्रराईले गरेका थिए भने संघका उपसचिव चन्द्रवती राईले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक