बिस्केटको लिङ्गो ढालियो

भक्तपुरको बिस्का जात्राको पाँचौ दिन आज यसीं ख्योमा ५५ हाते लामो लिङ्गो ढाल्दै । पुरानो वर्षको बिदाई र नयाँ वर्षको आगमनको अघिल्लो दिनमा ठडयाइने लिङ्गो बैशाख १ गते ढाल्ने प्रचलन छ । तस्बिर – लक्ष्मी गारु रासस,

भक्तपुर, १ वैशाख – भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको प्रमुख मानिने लिङ्गो आज साँझ ६ बजेर २० मिनेटमा ढालिएको छ ।

तान्त्रिक विधिअनुरूप पूजाअर्चना गरी लिङ्गो ढालिएर यो जात्रा सम्पन्न गरिएको हो । बिस्केट जात्राको चौथो दिन शुक्रबार साँझ ६ बजेर ३३ मिनेटमा भेलुखेलस्थित ल्यासिंखेलमा उठाइएको लिङ्गो आज ढालिएको हो ।

पचपन्न हात लामो लिङ्गो तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी ढालिएको थियो । लिङ्गो ठड्याउनुअघि लिङ्गोको कोखा (टुप्पो) मा नाग र नागिनीको प्रतीकस्वरूप दुई वटा ध्वजा बाँधेर अष्टमातृकाका प्रतीक आठ वटा डोरीले तानेर उक्त लिङ्गो ठड्याइने प्रचलन रहेको छ । त्यही आठ वटा डोरीले आठ कुनामा बसेर लिङ्गो ढालिएको थियो ।

लिङ्गोको कोखामा झुण्ड्याइएका दुई वटा ध्वजालाई वीरध्वजा, विश्वध्वजा र आकाशभैरवका ध्वजासमेत भनिन्छ । भक्तपुरको प्रसिद्ध बिस्केटको लिङ्गो जात्रा हेर्नाले सुख, समृद्धि, सहकाल आउनाका साथै शत्रु नाश हन्छन् भन्ने धार्मिक मान्यता रहेकाले यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भन्ने गरिएको छ ।

लिङ्गो उभ्याइने र ढाल्ने जात्रा नै बिस्केटको प्रमुख जात्रा हो । मल्ल राजाहरूले भैरवनाथ र भद्रकालीको रथ जात्रा समावेश गरी तान्त्रिक पूजा विधि विधानसमेत थप गरी आठ रात नौ दिनसम्म जात्रा मनाउने प्रचलन थालिएको बताइन्छ ।

लिङ्गो ढालेपछि ल्योसिङखेलबाट भैरवनाथको रथ गःहिटीमा ल्याएर भैरवनाथ र भद्रकालीको रथ जुधाइएको छ । भैरव र भद्रकाली देवदेवीको समागम जात्रा भनेर चिनिने सो रथ जुधाउने कार्यलाई स्थानीय भाषामा द्यो ल्वाकिगु भनिन्छ ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री