मंगलबार, कार्तिक ११ २०७७ | Tue, October 27, 2020
नेपालको समय: २०:३० | UK Time: 14:45

युवतीलाई जिस्क्याउँदा ख्याल ख्यालैमा ज्यान गएको खुलासा

रासस
२०७४ माघ ४ गते १३:४६

भक्तपुर-महानगरीय प्रहरी परिसर भक्तपुरले माटो व्यवसायीको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका दुईजनालाई बिहीबार सार्वजनिक गरेको छ ।

सार्वजनिक हुनेमा हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ परेका ओखलढुङ्गा घर भएकी रीता राई र हत्याका प्रत्यक्षदर्शी काभ्रे देउपुर मण्डन घर भई ब्रम्हायणी मन्दिरमा विगत आठ वर्षदेखि बस्दै आएका ७० वर्षीय रामबाबु लामा रहेका छन् ।

माटो व्यावसायी चाँगुनारायण नगरपालिका–९ ताथलीका सिताराम सैंजुको भक्तपुर नगरपालिका–९ ब्रम्हायणीमा बुधबार बिहान घोप्टो परेको अवस्थामा शव भेटिएको थियो ।

प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईका अनुसार ताथलीको माटो खानी सञ्चालक सैजु मंगलबार राति १०.३० बजे ब्रम्हायणी मन्दिरमा गएका थिए । जात्रा हेर्न गएका सैजू मन्दिर पुगेपछि लामासँग बसेर कुरा गर्दै गर्दा राई पनि राति करिब ११ बजे आइपुगिन् । मदिरा पिएका तीनजना सँगै बसेर कुरा गर्दै गर्दा सैंजूले राईलाई जिस्क्याउँदै जवर्जस्ती गर्न खोजे । राईले रिसाउँदै इँटाले सैँजुको टाउकोमा हान्दा ढलेको र उनलाई छाडेर राई हिडेपछि लामाले सैजुलाई पानी खुवाएर आफू पनि सुते ।

बिहान ५ बजे मात्रै सैजू मृत भेटिए । मदिराले मातिएका तीनजनाले ख्याल ख्याल गरेकै भरमा ज्यान गएको छ । घाइते भए लगत्तै अस्पताल लैजान सकेको भए सैजूको ज्यान बच्न सक्ने प्रहरीको निष्कर्ष छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक