धादिङ बस दुर्घटनाप्रति राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

राष्ट्रपति विद्यादेवी भण्डारी । तस्बिर – रत्न श्रेष्ठ, रासस

काठमाडौँ, ११ कात्तिक (रासस) – राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी–६, घाटबेँसीस्थित त्रिशुली नदीमा आज विहान भएको यात्रु बस दुर्घटनामा परी जीवन गुमाएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले मृतकका शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दै दुर्घटनामा परी घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको राष्ट्रपतिको कार्यालयद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

दुर्घटनामा परी बेपत्ता हुनेहरुको छिटो खोजी कार्य गर्नसमेत सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै राष्ट्रपति भण्डारीले उद्धार कार्यमा संलग्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल रेडक्रस सोसाइटी तथा स्थानीयजनप्रति धन्यवाद व्यक्त गर्नुभएको छ ।

सप्तरीको राजविराजबाट काठमाडौँ आउँदै गरेको ना ६ ख १४६७ नं को यात्रुबस आज बिहान त्रिशूली नदीमा खस्दा दर्जनौँ यात्रुको मृत्यु भएको थियो ।

उपराष्ट्रपति पुनद्वारा दुःख व्यक्त

उपराष्ट्रपति नन्दबहादुर पुन धादिङको गजुरी गाउँपालिका–५, बांगेमोडमा आज भएको बस दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।

उपराष्ट्रपति पुनले आज एक शोक वक्तव्य प्रकाशित गर्दै त्रिशूली नदीमा बस खसेर दुर्घटना हुँदा भएको ठूलो मानवीय क्षतिप्रति दुःख व्यक्त गर्नुभएको हो ।

उहाँले उक्त दुर्घटनामा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै मृतकका शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ । उहाँले दुर्घटनामा परी घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

बस दुर्घटना हुँदा बेपत्ता हुनु भएकाको खोजी कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउनुभएको छ ।

उहाँले बढ्दो सवारी दुर्घटना र त्यसबाट भइरहेको मानवीय क्षतिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सडक सुरक्षालाई प्रभावकारी बनाई दुर्घटना न्यूनीकरणमा ध्यान दिन सरकार र सरोकारवाला पक्षको ध्यानाकर्षण गराउनु भएको उपराष्ट्रपतिका प्रेस संयाजक मनोज घर्तीले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

प्रधानमन्त्री शेरबहादुर देउवाले धादिङ बस दुर्घटनामा परी धेरै जनाले ज्यान गुमाएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले दुर्घटनामा धेरै यात्रुले ज्यान गुमाएको समाचारले आफूलाई अत्यन्तै मर्माहत र दुःखी बनाएको बताउनुभएको छ ।

प्रधानमन्त्री देउवाले एक शोक सन्देश दिनुहुँदै सो घटनामा ज्यान गुमाउन पुगेका सबै यात्रुप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।

उहाँले शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दै दुर्घटनामा घाइते यात्रुको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

प्रधानमन्त्रीले उद्धार कार्यमा संलग्न स्थानीय प्रशासन, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बललाई थप प्रभावकारी खोज कार्य गर्दै हराइरहेका यात्रुको खोजी गर्न निर्देशनसमेत दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री