सगुन हांक्ने गिरीको महत्वकांक्षा कि पागलपन ?

गोविन्द गिरी

लन्डन । विश्वव्यापी बजारलाई सोसिएल मिडियामा जोड्न सफल फेसबुकका मालिक मार्क जुकेरवर्ग, इन्सटाग्रामका केभिन सिस्ट्रोम र माइक क्रिगर अनि टुइटरका संस्थापक ज्याक डोरसीलाई चुनौती दिन मैदानमा उत्रिएका छन् एक जना नेपाली ।

सामाजिक सञ्जालहरुमा अनुत्पादक कुरा धेरै भएको र नकारात्मकतर्फ उन्मुख गराएको बुझाइकै बीच अर्काे सामाजिक सञ्जाल लिएर विश्व बजारमा उनी उदाउन खोज्दैछन् सगुन डटकममार्फत । सामाजिक 
सञ्जालकै सहारामा विश्व बजारमा उभिएका फाउन्डर गोविन्द गिरी अहिले साताभर बेलायतस्थित विभिन्न शहरमा नेपाली माझ पुगिरहेका छन् ।

आफ्नो ज्ञानलाई विश्व बजारमा चिनाउन बुद्धिसंगै आर्थिक स्रोतको जरुरत पनि छ । त्यही जरुरत पुरा गर्न बेलायतका नेपाली माझ अमेरिका र क्यानाडाको टोली सदस्य लिएर लन्डनमा यसै साता झरेका हुन् उनी ।

अमेरिकाको पेन्टागनमा काम गरेको अनुभवलाई बेलायती नेपालीबीच साटासाट गर्न र समाजका अगुवासंग परिचयमै व्यस्त छन् उनी र टिम । विश्व बजारमा अर्बौं पैसा बोकेर हिंडिरहेका व्यापारीसंग पैसा नलिई किन उनी बेलायत आए ? यो प्रश्न मैले उनीसंग गरे । सामान्य पहिरनमा देखिएका गिरीले वीनेपालीसंग भने, ‘मसंग भएको ज्ञानलाई मैले आफ्नै तरिकाले उपयोग गर्न खोजेको छु । त्यही भएर नेपाली माझ लगानीका लागि अपिल गर्दै हिंडेको छु, हेरौं कहांसम्म पुग्छु ।’

सगुन डटकमका संस्थापक गिरीका कुरा सुन्दा सन् २०२० भित्रै एक नेपालीले विश्वबजारमा चमत्कार ल्याउने छन् । त्यो दिन आउन अब तीन वर्षमात्र बांकी छ ।

संस्थापक गिरीका कुरा सुन्दा लाग्छ, जोखिम बिना यत्रो ठूलो काम हुन सक्दैन् । तर, गिरीकै ज्ञानमा नेपालीले नै पाउण्ड दाउमा लगाउने वा नलगाउने त्यो भने सोचेर निर्णय लिन जरुरी छ । गिरीसहितको टिमको ज्ञान-बुद्धिमा बेलायतवासी नेपालीको पाउण्ड कत्तिको लाग्ला त्यो हेर्न केही समय कुर्नै पर्छ । करिव तीन घण्टाको कार्यक्रममा संस्थापक गिरी र उनको टिमलाई सुन्ने सबैले योजना धेरै महत्वकांक्षी भएको बताएका थिए ।

बेलायतमा आयोजित कार्यक्रमहरुमा उनले वीर गोर्खालीको नाम बेस्सरी बेचेका छन् । बेलायत, 
हङकङमा त गोर्खाको व्यापार चल्ला, तर अमेरिका, क्यानाडा, अष्ट्रेलिया र युरोपका मुलुकमा भने वीर गोर्खालीको गाथा गाएर लगानी जुटाउन सहज छैन् ।

सगुन डटकमका सस्थापक गिरीसंगको भेटघाटपछि एउटा कुरा चाहिं पक्का भयो- तत्काल यसले नेपाललाई केही फाइदा दिंदैन । दीर्घकालिन रुपमा नेपाल र नेपालीले फाइदा लिने कुरा भने समयले बताउला ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री