लन्डनमा सम्मानित भए विश्व च्याम्पियनसीपका सहभागी नेपाली धावक

सम्मानपछि नेपाल एथलेटिक्स संघका महासचिव सुनिल राजवंशीका साथ धावक राई (दायां)

लन्डन । विश्व एथलेटिक्स च्याम्पियनसीप अन्तर्गत म्याराथनमा 
प्रतिष्पर्धा गर्न लन्डन आएका नेपाली धावक भूमिराज राईको कीर्तिमान राख्ने लक्ष्यमा बिराम लागेको छ । आइतबार फूल म्याराथन (४२.१९५ किमी) मा दौडने क्रममा घाइते भएपछि राईले बीचैमा दौड छाड्नु परेको हो ।

करिब ३७ किमी पार गरिरहंदा दुवै खुट्टामा फोका आएर हिंड्नै नसक्ने अवस्थामा पुगेपछि उनलाई स्वयंसेवकले हवीलचियरमा 
राखेर उपचार गराउन लैजानु परेको थियो ।

‘जुन उद्देश्य लिएर आएको थिएं, त्यो पुरा नपाउंदा निराश छु’, राईले भने, ‘भाग्यले साथ दिएको भए २ घण्टा १६ मिनेटमा दौड पार गर्ने स्थितिमा थिएं ।’ जुत्ता मोजाको खरावीले एक्कासी फोका उठेको उनले बताए । ‘धेरै पुरानो पनि होइन । हङकङ म्याराथनमा दौड्दा किनेको जुत्ता लगाएको थिएं’, उनले स्मरण गरे, ‘३ किमी पुगेपछि अलिअलि दुख्न थालेको महशुस भयो । पछि पीडा झन् बढ्दै गएर हिंड्नै नसक्ने स्थितिमा पुगें ।’

राईको व्यक्तिगत उत्कृष्ट समय २ घण्टा २० मिनेट ४४ सेकेन्ड छ । २ घण्टा १९ मिनेट मुनी रेकर्ड राख्न सकेको भए उनी ओलम्पिकमा प्रतिष्पर्धाका लागि योग्य हुने थिए ।

राईसंगै आएका नेपाल एथलेटिक्स संघका महासचिव सुनील राजवंशीले सहभागी विश्वका ९९ खेलाडी मध्ये २९ जनाले दौड बीचमै छाड्ने स्थिति आएको बताउंदै भने, ‘यस्तो आश्चर्यजनक घट्ना बिरलै हुने गर्छ । रुट पनि बांगो टिंगो रहेछ । भूमिलाई जुत्ताले पनि साथ दिएन ।’

नेपालमा पांच पटक राष्ट्रिय च्याम्पियन भइसकेका २८ वर्षीय राई ९ वर्षयता नेपाल पुलिस क्लवसंग आवद्ध छन् । राजनीतिक खिचातानीका कारण खेलाडीले सोचे जस्तो प्रदर्शन गर्न नपाएको उनको गुनासो छ । ‘एक साता अघिसम्म लन्डन आउने कि नआउने मेरो टुंगो थिएन । यसले पनि खेलमा राम्ररी फोकस हुन सकिन ।’

इन्टरनेशनल एसोसिएसन अफ एथलेटिक्स् फेडेरेसनको आयोजनामा लन्डन ओलम्पिक स्टेडियममा गत शुक्रबारदेखि शुरु १६ औं विश्व एथलेटिक्स च्याम्पियनसीप १३ अगष्टसम्म सञ्चालन हुनेछ ।

खेलाडी र अफिसियलको सम्मान

यसैबीच, धावक राई र राजवंशीको सम्मानमा लन्डनका युवाले एक कार्यक्रम आयोजना गरेका छन् । साउथ हयारोस्थित माया पबमा युवात्रय सिद्धार्थविक्रम क्षेत्री, सन्तोष राई र बीरेन खड्काले स्वागत तथा सम्मान गरेका हुन् ।

कार्यक्रममा तीनजना आयोजकसहित एनआरएनए आइसीसी सल्लाहकार मेजर रिटायर्ड डमर घले, नेपाली जनसम्पर्क समिति बेलायतका उपसभापति युवराज गुरुङ, यती कार्यवहाक अध्यक्ष शशीधर नेपाल, व्यवसायी प्रवेश केसी, ग्रयाण्ड मास्टर एनजे गुरुङ, पत्रकारहरु नवीन पोखरेल, चिरन शर्मा, आर के त्रिपाठी लगायतले खेलाडी र अफिसियललाई सम्मान गरे ।

उक्त अवसरमा धावक राईले विश्वमा पिछडिएका राष्ट्र पनि खेलकुदको माध्यमबाट चिनिएका उदाहरण प्रस्तुत गर्दै भने, ‘हाम्रो देशमा चाहिं खुट्टा तान्ने प्रवृत्ति छ, फोहोरी राजनीति हावी छ ।’

राजवंशीले म्याराथनका बेला नेपाली कोही नभएर आफूहरु टुहुरो जस्तो एक्लो महशुस गर्नुपरेको सुनाए ।

कार्यक्रम सञ्चालन गर्दै माया पबका एक सञ्चालक सिद्धार्थ विक्रम क्षेत्रीले खेलाडीको हौसलाका लागि आफूहरुले कार्यक्रम गरेको बताए ।

कार्यक्रमका वक्ताहरुले खेलाडी राष्ट्रका गौरव भएकाले उनीहरुको प्रोत्साहनका लागि राज्यले पनि हेर्नुपर्नेमा जोड दिए । केही 
सहभागीले धावक राईको खेल जीवनमा मद्दत गर्न आर्थिक सहयोगको चासो समेत देखाएका थिए ।

 

तस्विरः बीरेन्द्र श्रेष्ठ

प्रतिक्रिया

सम्बन्धित सामाग्री