चुनावको मुखमा नर्दन आयरल्याण्डका नेपालीले वहिष्कार गरे एनआरएनए यूके

लन्डन । एनआरएनए यूके सेप्टेम्बर ९ मा चुनाव गर्ने माहोलमा जुटिरहेका बेला नर्दन आयरल्याण्डका नेपालीले संघको सदस्यता परित्यागका लागि सामूहिक निवेदन दिएका छन् । एनआरएनए यूके अध्यक्ष समक्ष २८ जनाले सदस्यता परित्यागका लागि निवेदन दिएका हुन् । उनीहरु सन् २००९ देखि संघको सदस्य थिए ।

परित्याग गर्न निवेदन दिनेमध्ये नर्दन आयरल्याण्डका अग्रज नारायण कंडेलले एनआरएनए यूके एम २५ भित्रमात्र सिमित रहेको जनाउंदै आफूहरुलाई भूमिकाविहीन बनाइएको र चुनावका बेला फोन गर्ने तर सकिएपछि अर्को पटकसम्म वास्ता नगर्ने गरिएकाले परित्यागको निष्कर्षमा पुगेको बताए ।

‘हामी आफैंप्रति इमान्दार हुन चाहन्छौं । हामीलाई उन्मुक्ति दिएमा नै सबैको कल्याण हुनेछ, हामीले केही चाहेर बार्गेनिंग गरेका पनि होइनौं’, कंडेलले भने ।

सदस्यता परित्याग गर्नेहरुमा नारायणदत्त कंडेल, शान्ति कंडेल घिमिरे, भूमिश्वर सापकोटा, बलबहादुर थापा, विजया कार्की, विष्णु बहादुर क्षेत्री, देवीलाल निउरे, धनकुमारी निउरे, खगराज कंडेल, जमुना कंडेल, लक्ष्मण निउरे, लक्ष्मी निउरे, टिकाराम कंडेल, सुमित्रा सापकोटा कंडेल, कुलराज कंडेल, पार्वती कंडेल, डिलप्रसाद गैरे, विष्णु गैरे, लक्ष्मण चिमोरिया, परशुराम पौडेल, गुरुप्रसाद आचार्य, बलराम कंडेल, लक्ष्मी सापकोटा कंडेल, अब्जन आचार्य, लक्ष्मी आचार्य, नारायण कुंवर, लिलाराम निउरे र भिमकुमारी निउरे छन् ।

नर्दन आयरल्याण्डमा नेपालीको कुल जनसंख्या करिब तीनसय रहेको अनुमान छ ।

साधारण सदस्यता परित्यागका लागि उनीहरुले दिएको निवेदन जस्ताको तस्तैः

मिति २० जुलाई २०१७

श्रीमान अध्यक्ष ज्यू
गैर आवासीय नेपाली संघ (एनआरएनए) यूके

विषयः सदस्यता परित्याग सम्वन्धमा

महोदय,

उपरोक्त विषयमा हामी नर्दन आयरल्याण्डमा बसोवास गर्ने एनआरएनए यूकेका सम्पूर्ण सदस्यहरु, निम्न लिखित कारणले गर्दा सदस्य भइरहनु अनुचित भएकाले ति कारणहरु तल प्रकरण प्रकरणमा खुलाई सदस्यता परित्याग गर्नका लागि निवेदन गर्दछौं ।

तपसिल

१) हामी यस परित्याग पत्रमा हस्ताक्षर गर्ने सबै जना नेपाली हौं । गैर आवासीय नेपाली संघको सदस्यताका लागि आवश्यक सर्त र योग्यता पुरा गरि यो महान संस्थाको सदस्यता लिएका थियौं ।

२) हामी नर्दन आयरल्याण्डमा बस्छौं । नदर्न आयरल्याण्ड संयुक्त अधिराज्य बेलायतभित्र पर्छ । तर, इंगल्याण्ड अझ भनौ लन्डन भित्र भने पर्दैन । लन्डनको शहरी चक्रपथ एम २५ र यसको वरीपरिका शहरहरुलाई मात्र एनआरएनए यूकेले आफ्नो गतिविधिको क्षेत्र बनाएको कुरा तथ्यगत रुपमा प्रमाणित भैसकेको छ । यो महान संस्थाको नेतृत्वलाई लण्डनको एम २५ भन्दा बाहिर आउन हामीले विनम्र अनुरोध बाहेक केही गर्न सकेनौं । यो नैतिक बलको प्रयोग गरि एनआरएनए यूकेलाई लण्डनबाट बाहिर तान्न नसके पछि हामी आफैंले हार स्वीकार गरी सामूहिकरुपमा सदस्यता परित्याग गर्ने निष्कर्षमा पुगेका हौं ।

३) एनआरएनए यूके, संसारभरिका एनआरएनए मध्ये सम्भवतः प्रभावकारी मध्यको एक हो । यसका भूतपूर्व तथा वर्तमान नेतृत्व पनि उत्तिकै वजस्पी छन् र मानिन्छ । उनीहरुले लण्डनमा दिनहु गर्ने भाषण र ओड्ने खादाहरुको तस्विर तथा श्रव्य दृष्य विभिन्न सामाजिक सन्जाल मार्फत हेरेर हामी नर्दन आयरल्याण्डका नेपालीहरु पनि हदै सम्म मख्ख पर्दै आएका छौं । उहांहरुलाइ नर्दन आयरल्याण्डको माटोमै नमस्कार टक्राउने अवसर भने हामीलाई आजसम्म कहिल्यै जुरेन । बैकुण्ठबासी भगवान विष्णुलाई धर्तीका भक्तहरुले धर्तीबाटै प्रणाम गरेजस्तो हामीले पनि आइरिस पानी पार बाटै हाम्रा दुर्लभ एनआरएन नेताहरुलाई नमस्कार गरि रहेका छौं । फरक प्रसंगमा एनआरएन यूकेका पूर्व अध्यक्ष श्री सूर्य गुरुङ बाहेक यस संस्थाको तर्फबाट आज सम्म कोही कसैले नर्दन आयरल्याण्डमा नटेक्नु भएको तथ्यलाई गहिरिएर विचार गरियो । सामूहिकरुपमा सदस्यता परित्याग गरि नेतृत्वलाई नर्दन आयरल्याण्डमा रहेका नेपालीहरुलाई सम्वन्धी झन्झटबाट मुक्त गर्ने निष्कर्षमा पुग्यौं ।

४) एनआरएनए यूकेको संगठन प्रजातान्त्रिक प्रकृयाको अवलम्वन गरि निर्माण हुने गरेको छ । कति पटक हामी पनि यो प्रकृयामा सहभागी भयौं । यो प्रकृयाबाट निर्वाचित नेतृत्व आफूलाई मात्र सिमेन्टेड पिलर बनाएर लण्डनमा मात्र उभिन थाल्यो । हामी नर्दन आयरल्याण्ड निवासी एनआरएन यूकेका सदस्यहरु पिलर उठाउन प्रयोग भएका पुराना काठ जस्तै केवल आफू जमेर बलियो नहुन्जेल प्रयोग गरिएका फाल्तु सामाग्री जस्तै बनाइएको हामीले महशुस गरयौं । यो संस्थाको नेता बन्ने, बनाउने वा सोही प्रयोजनका लागि दल बलको पहल गरिदिनेहरुले क्षेत्रीय आधारमा भेदभाव गरिने छैन्, यो संस्थालाई नर्दन आयरल्याण्डसम्म विस्तार गरिने छ भनेर पटक पटक दिएका वचनलाई विश्वास गरयौं । एनआरएनए यूकेको नेतृत्वको आफ्नो वचन धान्ने कमजोर क्षमताप्रति भित्रै देखि दया जाग्यो । अनि हामीलाई पटक पटक मुर्ख बनाइएको तथ्यलाई फर्केर हेर्दा हामी आफंैलाई लज्जा बोध भयो । नेपाल र नेपालीका लागि महान अभियानमा विश्व भर जगमगाएको एनआरएन यूकेका भदालमीहरुको लाज हामीले नहेरेरै जोगाइदिन चाहन्छौं । अत आखा थुनेर लाजसंग पनि लाज नमानेर बसिरहनु भन्दा बाहिर निस्कनु उपयुक्त ठान्यौं । त्यसैले सामूहिकरुपमा सदस्यता परित्याग गर्ने निष्कर्षमा पुग्यौं ।

५) हामी कमसेकम आफैंप्रति इमान्दार हुने प्रयासमा छौं । एनआरएनए यूकेको सदस्यता लिंदा लिंदै हामीले मन बचन र कर्मले आफनो अधिकार र कर्तब्यलाई सदुपयोग गर्ने मनमनै शपथ लिएका थियौ । तर, विडम्बना न त हामीले अधिकारको अभ्यास नै गर्न पायौं नत कर्तब्यमा घोटिने मौका नै । एनआर एनको महान यात्राको अंग बन्ने चलायमान सपनालाई साक्षी मान्दै कर्तब्य पालनाको कसम खाएर लिएको सदस्यताको प्रमाण पत्र केवल खोस्टो भएको हेर्न सकेनौं । त्यसैले त्याग्न उपयुक्त ठान्यौं ।

६) फेरी पनि हाम्रो गुनासो सुनियोस भनेर हामीले यो कदम उठाएका होइनौं । हाम्रो कसैप्रति केही गुनासो छैन । आन्तरिक रुपमा नेपालको राजनीतिक पाठशालाले सिकाएका खेलहरुमा एम २५ भित्र जमेका विचराहरुलाई पगाल्न र यूके भरी फैलाउन सकिंदैन भन्ने हामीले अब थप बुझ्न नपर्ने गरी भोगिसकेका छौं । बुझिसकेका छौं । यो निवेदनको स्वीकृत गर्ने बाहेक अन्य केही पहल कदमी गरिरहन नपर्ने कुरा समेत जनाकारी गराउछौं ।

७) अन्तमा भारी मनका साथ सामूहिक सदस्यता परित्यागका लागि चढाएको यो निबेदन स्वीकार गरिदिनुहुन अनुरोध 
गर्दछौं ।

निबेदक
सम्पूर्ण नर्दन आयरल्याण्डका एनआरएनका सदस्यहरु

नारायणदत्त कंडेल, शान्ति कंडेल घिमिरे, भूमिश्वर सापकोटा, बलबहादुर थापा, विजया कार्की, विष्णु बहादुर क्षेत्री, देवीलाल निउरे, धनकुमारी निउरे, खगराज कंडेल, जमुना कंडेल, लक्ष्मण निउरे, लक्ष्मी निउरे, टिकाराम कंडेल, सुमित्रा सापकोटा कंडेल, कुलराज कंडेल, पार्वती कंडेल, डिलप्रसाद गैरे, विष्णु गैरे, लक्ष्मण चिमोरिया, परशुराम पौडेल, गुरुप्रसाद आचार्य, बलराम कंडेल, लक्ष्मी सापकोटा कंडेल, अब्जन आचार्य, लक्ष्मी आचार्य, नारायण कुंवर, लिलाराम निउरे र भिमकुमारी निउरे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री