लन्डन । वाल्यकाल देखि नै पढाइमा अब्बल थिइन् उनी । दिमाग तीक्ष्ण र अतिरिक्त क्रियाकलाप (नृत्य) मा उस्तै पारंगत । टिनएज बित्दै थियो, अचानक आंखाले राम्ररी देख्न छाडे । चिकित्सकको शरण पुग्दा निको हुनुको सट्टा उल्टो डाक्टरको प्रिसक्रिप्सनले दृष्टि झन् गुम्दै गयो र अन्तिममा पुरै दृष्टि गुमाइन् उनले ।
अन्धो भएपछि नेपाली समाजले हेर्ने दृष्टिकोण नबदलिने कुरै भएन । अपहेलना, हेय, असहयोग आदि इत्यादि । तर, हरेस खाइनन् । बरु, यसलाई एउटा शक्तिका रुपमा बदलेर वाधा, व्यवधान पन्छाउंदै अगाडि बढिन् उनी । आफू जस्ता धेरैको प्रेरणाश्रोत र सहयोगी बनिन् । राष्ट्रिय अन्तर्राष्ट्रिय प्लेटफर्ममा उनी नै छाइन् । दुवै आंखा देख्ने आम मानिस भन्दा झन् बढि सक्षम भएर समाजमा एउटा उदाहरण बनिरहिन् सृष्टि केसी ।
दृष्टिविहीनहरुको हक अधिकार सुनिश्चित गर्न क्रियाशिल संस्था ब्लाइन्ड रक्सकी संस्थापक सृष्टिकै वास्तविक जीवनमा बनेको फिल्म (बायोपिक) ‘ब्लाइन्ड रक्स’ को शनिबार अल्डरसटस्थित प्रिन्सेस हलमा रेड कार्पेट ग्रयाण्ड प्रिमियर शो भइरहंदा धेरैका आंखा रसाए । भावुक बने दर्शक ।
प्रिमियर शोमा आमासंगै पुगेकी सृष्टिले सयौं दर्शक र फिल्म निर्माण टिमबीच भनिन्, ‘आजबाट सृष्टिले दृष्टि पाउनेछिन्, उनको सपनामा हजारौं आंखा थपिएका छन् ।’ ताली गडगडाहट नरोकिंदै सृष्टि थप्दै थिइन्, ‘यस फिल्मले मेरो वास्तविक जीवन चित्रण गरेको छ । मलाई आशा छ यसले दृष्टिविहीन र अपांगता भएकालाई हेर्ने दृष्टिकोणमा आमुल परिवर्तन ल्याउने छ ।’
प्रिमियर शोका प्रमुख अतिथी राजदूत दुर्गाबहादुर सुवेदीले दृष्टि गुमाएकी सृष्टि अनाथ, दृष्टिविहीन र असहायका लागि संसारकै राजदूत हुन् भन्दै प्रशंसा गरे । ‘सृष्टि चेतनाकी दृष्टि, सृजना, भावना र सम्भावनाकी प्रतिक हुन्’, राजदूतले थपे, ‘सृष्टि संकल्प, संघर्ष, प्रतिज्ञा र सफलताको प्रतिबिम्ब हुन् ।’
सञ्चारकर्मी नरेश भट्टराईले सञ्चालन गरेको कार्यक्रममा निर्देशक मिलन चाम्स र निर्माता निकेश लिम्बुले ‘बायोपिक’ फिल्म व्यवसायिक र चर्चाको हिसावले जोखिमयुक्त भएपनि आफूहरुले समाज परिवर्तनको उद्देश्य राखेर त्यो जोखिम ग्रहण गरेको बताए ।
चाम्स इन्टरटेनमेन्ट एण्ड एन फिल्मस एण्ड क्रियसनको ब्यानरमा बनेको उक्त फिल्म प्रेरणादायी रहेको दर्शक प्रतिक्रिया थियो । दृष्टिविहीन समाजका वाधक वा घृणाका पात्र होइनन्, बरु अवसर र हौसला पाए उनीहरु जहां पनि सक्षम छन् त्यसकारण सम्मान गरौं भन्ने सन्देश फिल्ममा छ । बेनिसा हमालले सृष्टिको भूमिकामा न्याय गरिदिएकी छन् । गौरी मल्ल, बैंकर अनिल शाह, अर्पण थापा, नजिर हुसेन लगायत कलाकारको अभिनय पनि तारिफयोग्य छ ।
उक्त कार्यक्रममा निर्माण पक्षले सृष्टि केसी, उनकी आमा, फिल्म निर्माणका सहयोगीलाई सम्मान एवं वरिष्ठ सञ्चारकर्मी खगेन्द्र नेपालीलाई अभिनन्दन गरेको थियो ।
बेलायतवासी राईसहित दश विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
पूर्वमन्त्री एवं राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डेसहित दुई जना पक्राउ