अकल्याण्ड (न्यूजिल्याण्ड) । नेपथ्यले शुक्रबार पहिलोपटक न्यूजिल्याण्डमा आफूलाई प्रस्तुत गरेको छ । अनौठो प्राणी किवीको घर अर्थात् यो प्रशान्त महासागरको सामूद्रिक टापुमा बसोबास गर्दैआएका नेपालीहरुको निम्ति यस किसिमको यो पहिलो अनुभव थियो । सर्वाधिक ब्यस्त शहर अकल्याण्डस्थित ‘स्काइ सिटी थिएटर’ मा नेपाली लोक–रक भाका सुन्न आएका श्रोता दर्शकले कार्यक्रमपछि स्वदेशको स्वाद बोकेर ल्याइदिएकामा ब्याण्डलाई धन्यवाद दिए ।
‘नेपाली सांगीतिक टोलीको यो पहिलो यात्रासँगै यहाँ एउटा नयाँ इतिहासको निर्माण भएको छ,’ आयोजक समूहका राज महर्जनले भने, ‘नेपथ्यले खोलेको बाटोले अब भावी दिनमा अन्य समूह र कलाकारका निम्ति पनि यो नयाँ गन्तब्य बन्न पुगेको छ ।’
असाध्यै थोरै नेपालीको बसोबास रहेपनि जे जति दर्शकहरु कन्सर्ट हेर्नका निम्ति भेला भए, त्यसले नेपथ्यले जोड्दै आएको नेपालीहरु बीच एकताको प्रदर्शन पनि गरेको आयोजक महर्जनको भनाइ थियो ।
अकल्याण्डको यो प्रस्तुतीसँगै नेपथ्यले यस वर्ष सुरुगरेको पृथ्वीकै दक्षिणी गोलाद्र्धको सांगीतिक यात्रा पनि सम्पन्न भएको छ । यस भेगमा पहिलो कार्यक्रम छिमेकी अष्ट्रेलियाको मेलबर्न सहरबाट भएको थियो । त्यसपछि एडिलेड र सिड्नीको भब्य शो सम्पन्न गरेर ब्याण्ड न्यूजिल्याण्डतर्फ आएको थियो ।
‘यसपाला हाम्रो स्थापनाको रजत वर्ष मनाउने क्रममा विदेशको पहिलो श्रृंखलावद्ध कार्यक्रम यसरी सफलताका साथ सम्पन्न भएकामा म असाध्यै खुशी छु,’ ब्याण्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङले भने, ‘यसमा सहयोग पुरयाउने आयोजकलगायत सम्पूर्ण दर्शक र नेपथ्यका शुभचिन्तकहरु प्रति आभार प्रकट गर्दछु ।’
टोली अब स्वदेश फर्कने जानकारीसहित गुरुङले नेपाल पुग्नेबित्तिकै नयाँ गीत रिलिज गर्ने तयारीमा रहेको रहस्योद्घाटन समेत गरेका छन् ।
मुलुककै सर्वाधिक जनसंख्या ओगट्ने अकल्याण्ड शहरमा नेपालीहरु भने अन्दाजी पाँच हजारको संख्यामा रहेको अनुमान छ । अर्को सहर क्राइस्टचर्चमा पनि उल्लेख्य संख्यामा नेपाली बसोबास गर्दैआएका छन् । यसरी पर आइपुगेका नेपालीहरुलाई यहाँको न्यूजिल्याण्डेली समाजसँग जोड्ने सबैभन्दा बलियो सुत्र भने सर एडमन्ड हिलारी नै हुन् । सगरमाथाको पहिलो आरोहण गर्ने र बाँचुन्जेल खुम्बु क्षेत्रको विकासमा आफूलाई समर्पित गर्ने हिलारीका कारण यहाँ दुवै समाजको बीच हार्दिकताको सम्बन्ध पाइन्छ । पछिल्लो समय भने नेपाल र क्राइस्टचर्चले भोगेको ठूलो भुइँचालोको अनुभवले पनि यी दुवैलाई एक लहरमा उभ्याएको छ ।
पहिलोपटक न्यूजिल्याण्डमा कन्सर्टका निम्ति पुगेका अमृतले यस मुलुकसँगका थप आत्मीयता पनि सम्झना गरेका थिए ।
न्यूजिल्याण्ड पुग्नेबित्तिकै अमृतले उनको फेसबुकमा लेखेका थिए–‘सन् १९५७ मा करीब महिना दिन पानीजहाजमा चढेर (संस्कृतिविद्) सत्यमोहन जोशीदाइ, सर एडमण्ड हिलारी र हाम्रो हेड सरको देस न्यूजिल्याण्ड आउनु भाथ्यो रे, सांस्कृतिक अध्ययन भ्रमणमा । झण्डै ६० वर्षपछि हामी पनि अहिले सांगीतिक कार्यक्रम गर्न आइपुगेका छौं’ ।
४ जुलाइबाट सुरुभएको यसपालाको अष्ट्रेलिया र न्यूजिल्याण्ड यात्रा लगभग महिना दिन लामो भ्रमण र विविधताले भरिएका अनुभवसहित सम्पन्न भएको छ ।
अन्य तीन शहरमा जस्तै अकल्याण्डमा पनि अमृतलाई सदाझैँ ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले साथ दिएका थिए ।
नेपथ्य १ अगस्टका दिन सिल्क एअरको विमानद्वारा स्वदेश फर्कने कार्यक्रम छ ।
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
नेपालका राष्ट्रपति पौडेलद्वारा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीलाई शपथ
ठगीमा परेका ५१ नेपालीको कम्बोडियाबाट उद्धार
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
नेपाली कांग्रेसको १५औँ महाधिवेशन भदौ आगामी २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
कसरी भयो बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च ?
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री
एनआरएनए नेतृत्वद्वारा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु