भिजा भिजिट, उद्देश्य गायन

लन्डन । २१ मे सांझ बेलायतस्थित नेपाली पत्रकारहरु आपतकालिन कोषका लागि एउटा च्यारिटीमा व्यस्त थिए । कार्यक्रममा नेपालबाट लोकगायक खड्ग गर्बुजा आउने तय थियो । तर, दुर्भाग्य च्यारिटीको अघिल्लो दिन हिथ्रो ओर्लिएपछि अध्यागमनको केरकारमा परे गर्बुजा । गर्बुजा व्यक्तिगत स्पोन्सरसीपमा भिजिट भिजा लिएर चौंथोपटक यूके आउंदै थिए ।

विगत २७ वर्षदेखि नेपाली लोक संगीतमा लागेर ९ सय 
हाराहारी गीत गाइसकेका गर्बुजालाई बेलायत अध्यागमनले विमानस्थलमै रोकिदियो । ‘विगतमा भिजिट भिजामा आएर अर्थ आर्जन गरेको आरोप लगाए’, नेपाल फर्किएपछि गर्बुजाले भने, ‘नियमतः इन्टरटेनर वा वर्क परमिट भिजा लिनुपर्ने हो । हामीले उनीहरुलाई कन्भिन्स गर्न सकिएन ।’

यसअघि गायिका दुर्गा परियारलाई पनि बेलायत अध्यागमनले फर्काइदिएको थियो । यी त केही उदाहरण हुन् । भिजिट भिजा लिएर बेलायत छिर्ने अनि गाउने क्रम बढेपछि बेलायत सरकारले निगरानी बढाउन थालेको सरोकारवाला बताउंछन् । भिजाको क्याटेगोरी विपरित र कर नतिरी गाउनु यहां गैर कानुनी मानिन्छ ।

इमिडिया हब लि. यूकेले अहिले गायिका मेलिना राई र गायक रेवत 
राई झिकाएर बेलायतमा ‘एभरेष्ट म्यूजिकल ब्लास्ट’ कार्यक्रम गरिरहेको छ । उक्त कम्पनीका हेड अफ इन्टरटेन्मेन्ट किसन राईका अनुसार ‘शिरैमा शिरबन्दी’, ‘कम्मरमाथि पटुकी’ लगायत चर्चित गीतकी गायिका मेलिना र रेवतले बेलायतमा झण्डै ८ शहरमा कार्यक्रम गर्दैछन् । मेलिना र रेवत पनि भिजिट भिजामा आएको जनाउंदै किसनले भने, ‘सिडी बोकेर आउंदा इमिग्रेसनले अप्ठेरो पार्न सक्छ । तर, आफ्नो कला संस्कृति जगेर्नाका लागि पैसा नलिइ गाउने गेष्ट आर्टिस्ट हुं भने फरक पर्दैन ।’ मेलिना, रेवतको लटमा नृत्यांगना माला लिम्बुको भने भिजा लागेन ।
कलाकारहरु च्यारिटी र कमर्शियल शोका लागि बेलायत आउंछन् । छोटो समयका लागि इन्टरटेनर र वर्ष दिनसम्मको टियर ५ (टेम्पोररी वर्कर क्रियटिभ एण्ड स्पोर्टिङ) भिजा लिन सकिन्छ । इन्टरटेनर भिजा दिने नदिने कलाकारको प्रोफाइल, बैंक स्टेटमेन्ट र झिकाउने कम्पनीको प्रतिष्ठामा निर्भर हुन्छ भने टियर फाइभ भिजा कम्पनीको प्रायोजन क्षमता मुल्यांकनले मात्र दिइने सोलिसिटर राजु थापा बताउंछन् ।

नेपालबाट करिब ७० जना कलाकार बेलायत झिकाइसकेका सपन इन्टरटेनमेन्ट लि. का प्रवन्ध निर्देशक सपनकुमार राईले टियर फाइभ स्पोन्सरसीप लाइसेन्स बहाक आफ्नो एकमात्र निजी कम्पनी भएको दावी गर्दै भिजिट भिजामा आएर कार्यक्रम गर्नु गैर कानुनी भएको बताए । ‘व्यक्तिगत सम्वन्धका आधारमा भिजिट भिजा लिएर यूके आउने क्रम बढ्दो छ’, राईले भने, ‘तर, इमिग्रेसनले सोधखोज गर्दा कुरा बाझियो भने फर्कनु पर्ने मात्र होइन, यसले देश र कलाकारकै पनि इज्जत बिग्रन सक्छ ।’

बेलायत आइसकेपछि कतिपय कलाकारले दोहोरी देखि सामान्य रेष्टुरेन्ट र व्यक्तिगत भोज भतेरमा समेत गएर गाइदिने क्रम बढेपछि अग्रज कलाकार असन्तुष्ट देखिएका छन् । त्यसो त सिडी किनबेच हराउन थालेपछि कलाकारलाई देश विदेशमा स्टेज परफर्म नै एकमात्र बांच्ने आधार बनेको छ ।

दमन रुपाखेती, पारबन राई, कला राई र विष्णु चेम्जोङ बोलाएर हालैमात्र बेलायतमा १४ वटा शो गरेको च्यारिटेबल संस्था पिस इन्टरटेनमेन्टका सुमन अधिकारीले ८० प्रतिशत कलाकार भिजिट भिजामा आउने जिकिर गरे । ‘रातो पासपोर्ट हुनेले रिलेशनको भरमा बोलाउंछन्, भिजा पनि दिन्छ तर पत्ता लगायो भने पछि आउने बाटो नै बन्द गरिदिन्छ’, उनी भन्छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री