म्यानचेस्टरमा आत्मघाती बिस्फोटमा २२ को मृत्यु, नेपाली परेका छैनन् (अपडेट)

लन्डन । कन्सर्ट समापनतिर बेलायतको म्यानचेस्टर एरिनामा सोमबार राती भएको आत्मघाती बिस्फोटमा मर्नेको संख्या २२ पुगेको छ । मारिनेमा बालबालिका बढि छन् । घट्नामा ५९ भन्दा बढि घाइते भएका छन् । घाइतेको शहरका ८ विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले घट्नालाई आतंकवादी हमला भन्दै आत्मघाती विस्फोट गराउने एक व्यक्ति पनि मरेको जनाएको छ । ग्रेटर म्यानचेस्टर पुलिसका चिफ कन्सटेबल इयान होपकिन्सले म्यानचेस्टरमा हालसम्मकै डरलाग्दो घट्ना भएको र आतंकवादी हमलाका रुपमा अनुसन्धान अगाडि बढाइएको जनाएका छन् ।

नेपाली परेका छैनन्
यसैबीच, लन्डनस्थित नेपाली दूतावासका प्रवक्ता तथा 
उपनियोग प्रमुख शरदराज आरणले उक्त घट्नामा नेपाली परेको खबर हालसम्म नआएको बताउंदै सुरक्षित रहन नेपालीलाई आग्रह गरेका छन् । म्यानचेस्टरमा क्रियाशिल नेपाली संस्था नेपलिज एसोसिएसन इन द यूके हिमालयन यतीका अध्यक्ष पुष्प श्रेष्ठले नेपालीबारे दुःखद खबर नभएको तर घट्नाबाट नेपाली त्रसित भने भएको बताए ।

गैर आवासीय नेपाली संघ, युरोप संयोजक कुल आचार्यले एक सन्देश जारी गरि बिस्फोटमा नेपाली परेको कुनै जानकारी नआएको उल्लेख गर्दै म्यानचेस्टरवासी नेपालीलाई सुरक्षित र सजग रहन आग्रह गरेका छन् ।

अमेरिकी पप गायिका आरियाना ग्रान्डेको कन्सर्ट सकिएर दर्शक घर फर्कंदै गर्दा राती १० बजेर ३३ मिनेटमा टिकट एरियामा बिस्फोट भएको हो । २१ हजार दर्शक क्षमताको उक्त एरिनामा युवा दर्शकको बाहुल्य थियो । गायिका आरियानाले घट्नाबाट आफू ज्यादै दुःखी भएको बताउंदै थप व्यक्त गर्ने शब्दहरु नभएको ट्वीट गरेकी छन् ।

बिस्फोटपछि दर्शकहरुबीच भागदौड मच्चिएको थियो । टिभी च्यानल र सामाजिक सञ्जालतिर मानिसहरु चिच्याउंदै दौडिरहेको र प्रहरी एवं एम्बुलेन्स गाडीहरु कुंदिरहेको देखिएको 
थियो ।

सन् २००५, जुलाई ७ मा ५६ जनाको ज्यान जाने गरि लन्डनमा भएको आतंकवादी आक्रमणपछिको यो दोश्रो भयानक हमला हो । स्कटल्याण्ड यार्डले घट्नापछि लन्डनमा अतिरिक्त प्रहरी परिचालन गरिएको जनाएको छ ।

विश्वभरबाट ऐक्यवद्धता
म्यानचेस्टर घट्नाको विश्वभरबाट निन्दा भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जर्मन चान्सलर एन्जेला मर्केलले आतंकवादविरुद्ध यूकेसंग कांधमा कांध मिलाउने ऐक्यवद्धता व्यक्त गरेका छन् ।

युरोपेली युनियन (ईयू) ले घट्नाको निन्दा 
गर्दै आफू बेलायतको साथमा रहेको ऐक्यवद्धता सन्देश पठाएको छ । युरोपियन कमिसनमा झण्डा आधा झुकाइएको छ ।

घट्नापछि मंगलबार बिहान बेलायत सरकारको उच्च 
सुरक्षा अधिकारी सम्मिलित आपतकालिन कोब्रा बैठक बसेको थियो ।

प्रधानमन्त्री टेरेजा मेले घट्नालाई डरलाग्दो आतंकवादी हमला बताउंदै पीडितप्रति सहानुभूति प्रकट गरेकी छन् । उनले आफ्नो सबै चुनावी अभियान स्थगित गरेकी छन् । प्रतिपक्षी लेबोर पार्टीसहित अन्यले पनि प्रचार प्रसार अभियान स्थगित गरेको जनाइएको छ । बेलायतमा ८ जुनमा संसदीय निर्वाचनको तयारी छ ।

घट्नापछि कन्सर्ट स्थल नजिक रहेको म्यानचेस्टर भिक्टोरिया रेल स्टेशन बन्द गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री