बेलायतको पिआर छाडेर मेयर लड्न नेपाल

Manoj Mehta

लन्डन । बेलायतमा उनका केही विजनेश चालु छन् । साथमा घर, गाडी, परिवार र पैसा मनग्गे छ । ओसन सर्भिसेस लिमिटेडका निर्देशक मनोज मेहताले यहां करिब सयजनालाई रोजगारी दिइरहेका छन् । क्याम्डेन र अल्पर्टन मःम हाउसमा लगानी छ । युवा उद्यमी मनोज झण्डै १८ वर्षपछि परिवारसहित बेलायतको सारा सुविधा त्यागेर नेपाल फर्कंदैछन् ।

फिर्ती उद्देश्य अरु केही नभएर मेयर लड्न । मनोज इनरुवा नगरपालिकाबाट मेयर लड्न यही साता नेपाल फर्कने तयारीमा छन् । ‘आफ्नो गाउं ठाउं र देश विकास भएमात्र हाम्रो इज्जत रहने हो’, 
कुराकानीका क्रममा उनले सुनाए, ‘स्वदेशले परिवर्तन चाहिरहेको छ र त्यो युवा पिंढीले मात्र सक्छ भन्ने आत्मविश्वास लिएर फर्कंदै छु ।’

मनोजको पारिवारिक पृष्ठभूमि राजनीतिक छ । बुबा पूर्व राज्यमन्त्री लक्ष्मण मेहता । आफ्नो बाबुको विरासत थाम्दै मनोजले स्थानीय राजनीति शुरु गर्दैछन् । नेपाल लोकतान्त्रिक फोरमका तर्फबाट उनले इनरुवा नगरपालिकाको मेयरमा उम्मेदवारी दिन लागेका हुन् ।

‘मलाई बेलायतमा नपुग्दो केही थिएन’, मनोजले भने, ‘आफ्नो मातृभूमिलाई केही गर्न म सबै छोडेर फर्कंदैछु ।’

स्मार्ट सिटीको परिकल्पना उनको दिमागमा छ । आफ्नो नगरपालिकामा भ्रष्टाचार, लुटतन्त्र हटाउने र शिक्षा स्वास्थ्य क्षेत्रमा सुधार गर्ने उनको अठोट छ । भ्रष्टाचार नियन्त्रण बिना विकास सम्भव छैन् भन्ने उनलाई ज्ञात छ । गाउंलेहरु हेल्थ पोष्ट समेत नहुंदा स्वास्थ्य सेवाबाट वञ्चित छन् । स्कुले वालवालिकालाई पढ्न जांदा लगाउने एक सरो लुगा छैन् । मेयर जितेर यी अभाव हटाउने संकल्प उनले सुनाए । मेयर जिते आफ्नो पारिश्रमिक एक रुपैयां पनि नलिइ त्यो तलब विद्यार्थीको युनिफर्ममा खर्च गरिदिने उनको सोच छ ।

पैसा, पावर बिना मेयर जित्न सहज नभएको मनोजले राम्ररी बुझेका छन् । चुनावताका पैसाको खोलो बगाउंछन् केन्द्र र स्थानीय नेताहरु । तर, मनोज पैसा भन्दा प्रतिष्ठा र भिजन आवश्यक देख्छन् जित्न ।

नेपालमा राजनीतिलाई पेशा बनाइएको उनको बुझाइ छ । ‘तर, मेरो राजनीति पैसा कमाउन होइन गाउंको विकास गर्न हुनेछ’, उनको प्रतिवद्धता छ, ‘जन विश्वास जितेर देशका लागि काम गर्ने सपना सांचेर जांदैछु । आशा छ मलाई स्थानीय जनताले साथ दिनेछन् ।’ उनले नगरपालिकावासी ६५ हजारको भाग्य आफ्नो जितमा निर्भर रहेको पनि दावी गरे ।

इमान्दारी अनि व्यक्ति भन्दा देशको हित सोचिने बेलायती राजनीतिक संस्कार नेपालमा लागू गर्ने धोको उनलाई छ ।

सन् १९९९ अक्टोबरमा विद्यार्थीका रुपमा बेलायत टेकेका मनोजले सन् २००३ देखि नै व्यवसाय थाले । शुरुतिर उनी प्रोपर्टी व्यवसायमा थिए । मनोजको अनुपस्थितिमा लन्डनको बिजनेश रवि थपलिया, राजेश ओझा र आनन्द श्रेष्ठले सम्हाल्दैछन् । राजेश र आनन्द इनरुवावासी नै हुन् । मनोजको नेपालमा पण्डित निर्माण सेवा र बराह कन्सट्रक्सन कम्पनी पनि सञ्चालनमा छन् । काठमाण्डौं कोटेश्वरमा होटल तपोवन छ । रुपेश यादवले नेपालको विजनेश हेरेका छन् ।

विजनेश अरुले हेरिदिएकाले आफू पूर्णकालिन समय राजनीतिमै लाग्ने मनोजको सोच छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री