भूपू गोर्खा आन्दोलनमा ओएनएफको ऐक्यवद्धता

लन्डन । भूतपूर्व गोर्खाहरुको न्यायिक आन्दोलनमा प्रवासी नेपाली मञ्च बेलायत (ओएनएफ यूके) ले ऐक्यवद्धता जनाएको छ । मञ्चका अध्यक्ष रामशरण सिम्खडाले बिहीबार एक विज्ञप्ति जारी गरि आन्दोलन सफलताका लागि भूतपूर्व गोर्खा संगठनबीच एकता र सहकार्यमा जोड दिंदै एनआरएनए यूके र अन्य राजनीतिक संगठनहरुलाई समेत साथ दिन अपिल गरेका छन् ।

विज्ञप्ति जस्ताको तस्तैः

विगत लामो समय देखि विभेदमा पारिएका पूर्व गोर्खा सैनिकहरुको बारेमा बेलायत सरकार, नेपाल सरकार र भूपू गोर्खा प्रतिनिधि सम्मिलित त्रिपक्षीय वार्ता प्रथम चरणमा सौहार्दपूर्णरुपमा सम्पन्न भइ प्राविधिक समितिको पहिलो बैठक समेत बसेको सन्दर्भमा लामो समयदेखि विभेदपूर्ण ब्यवहार खेपिरहेका भूतपूर्व गोर्खाहरुले न्याय र सम्मान समान रुपमा प्राप्त गर्ने आशा पलाएको छ । खासगरी पूर्व गोर्खाजहरुको संगठन विभक्त रही छुट्टाछुट्टै आन्दोलनहरु गरे । एकताबाट नै शक्ति प्राप्त हुने महशुष गरि विशेषतः गत महिना भूतपूर्व सैनिक संगठन (गेसो) र सत्याग्रह आन्दोलन संयोजन समिति बीचको समझदारी र सहकार्य तथा नेपाली दूतावास बेलायतको सुझबुझपूर्ण कुटनैतिक प्रयासले यो आन्दोलन तार्किक निष्कर्षमा पुग्ने विश्वास आम नेपालीहरुमा जागृत भएको छ ।

प्रवासी नेपाली मञ्च यूके विगत देखिनै पूर्ब गोर्खाजहरुको एकतामा विश्वास राख्दै विभिन्न फोरमहरुमा एकताको लागि पैरबी गर्दै आफ्नो ठाउंबाट सक्दो सहयोग समेत गरेकै हो । यसले नेपालमा आफू निकटको राजनैतिक पार्टीलाई समेत यस बारेमा सुसूचित गराउंदै सांसदज्यूहरुको सर्बपक्षीय राजनैतिक संयन्त्रमा गोर्खा सम्बद्ध माननीयज्यूहरु रहन र यसको समायोचित निकासका लागि अपिल समेत गर्दै आएको हो ।

हाल सम्म भएका विभेद र बेलायत सरकारले गोर्खाजहरुलाई गरेका ऐतिहासिक भूल लगायत एकमुष्ट उपदान, विधवा र हवाइ काण्डमा परेका १२२ जनालाई उचित क्षतिपूर्ति, पेन्सन सिंधै नेपाल राष्ट्र बैंकमा जानु पर्ने, गोर्खा सेवाको बैधता, सन् १९६५ यता जन्मिएका वयस्क सन्तान सबैलाई आवासीय अधिकारसहित ज्याकी डोयल प्राइस प्रतिवेदनले ऐतिहासिक अन्याय ठहर गर्दै सरकारलाई दिन सिफारिस गरेका १७ भन्दा बढि जायज मुद्दा सम्वोधन गरिनुपर्ने मागहरुलाई सम्बोधन गर्न सबै पूर्ब गोर्खाजहरुको एकता र सहकार्य, राजनैतिक पार्टीका भातृ संगठनहरु, एनआरएनए यूके, अन्य जातिय तथा सामाजिक संघ संस्था, नागरिक समाज, पत्रकार तथा प्रबुद्ध वर्गलाई सचेतता पूर्बक यस ‘भद्र न्यायिक आन्दोलन’ मा साथ र सहयोगका लागी हार्दिक अपिल गर्दै प्रवासी नेपाली मञ्च यूके यस अभियानको सबै मोर्चामा ऐक्यवद्धता जाहेर गर्दै यि मागहरु पूरा गर्न सम्वन्धित पक्षसंग जोडदार माग समेत गर्दछ ।

सफलताको हार्दिक शुभेक्षा, शुभकामना र सहकार्यका लागि धन्यबाद साथै ‘भद्र न्यायिक आन्दोलन’ मा पुनः दर्बिलो ऐक्यवद्धता सहित,
रामशरण सिम्खडा
अध्यक्ष
प्रवासी नेपाली मञ्च यूके

प्रतिक्रिया

सम्बन्धित सामाग्री