आइतबार, कार्तिक ९ २०७७ | Sun, October 25, 2020
नेपालको समय: १४:१३ | UK Time: 08:28

नेपालमा आधुनिक उर्जाको इतिहास

वीनेपाली
२०७३ चैत १९ गते १७:१७

नेपालमा हाइड्रो पावरबाट बिजुली निकालेको इतिहासले एकसय छ वर्ष नाघेको छ । जतिबेला यसप्रकारको बिजुली साउथ एसिया र चाइनासम्म बलिसकेको थिएन । यो प्रोजेक्ट पुरै एसियामा दोश्रो मानिन्थ्यो । सन् १९११ मा बेलायती सरकारको आर्थिक र 
प्राविधिक सहयोगमा ५०० किलो वाटको चन्द्रज्योति हाइड्रो इलेक्ट्रिक पावर स्टेसनको नाममा उक्त जलाबिद्युत आयोजना सम्पन्न भएको थियो । यो कार्यका लागि बेलायती सरकारले तात्कालिक ०.७१३ मिलियन नेपाली रुपैयाँंअनुदान प्रदान गरेको थियो । यसको समुदघाटन २२ मे १९११ सोमबारका दिन तात्कालिक राजा पृथ्वी वीर विक्रम शाहदेवबाट टुंडिखेलमा सांझ ६ः ३० मा बिजुली बत्तिको स्वीच अन गरेर भएको थियो । मान्छेहरु त्यो अद्भुत बिजुलीको चम्किलो बत्ति देखेर धेरै दिनसम्म गफिएका थिए । त्यो गौरवशाली ऐतिहासिक क्षण नेपालको आधुनिक उर्जाको सुरुवातको कोशेढुंगा थियो । यतिखेर हामी बेलायत र नेपालको दौत्य सम्बन्ध स्थापनाको २०० औं वर्षगांठ समापन बेलायतको मुटु मानिने लन्डनको केन्जिङ्गटन प्यालेस अवस्थित नेपाली राजदूतावासमा विभिन्न कार्यक्रमसहित एक हप्तासम्म धुमधामसंग मनाएको धेरै भएको छैन् । मलाई इतिहासको त्यो फ्ल्यास ब्याकको सम्झना आइरहेको छ । नेपालको विकास र प्रगातिका लागि एक शताब्दीभन्दा पनि अगाडि बेलायतले शुरु गरेको यो एउटा नमुना प्रयोग थियो । तात्कालिक राणाहरुको दरवार मानिने सिंहदरवारसम्म त्यो बिजुली पुरयाइएको थियो ।

बिद्युत विभागले यसको नाम राणा प्रधानमन्त्री चन्द्र शम्शेरबाट भएको देख्न सकेन होला र त यो ऐतिहासिक विरासतलाई मात्र फर्पिङ्ग हाइड्रो पावर स्टेसन भनेर परिवर्तन गरयो । संसारका हरेक ठाउंमा परिवर्तन पछि पुराना दरवार, पुराना शाषकहरु नयां क्रान्तिकारीहरुको निशाना बन्ने गर्छन् । तिनका शालिकहरु ढलाइन्छ । तिनका इतिहासलाई नामेट पार्ने कुचेष्टा गरिन्छ । समयले तिनका क्रान्तिकारी आवेगको मुल्यांकन कालान्तरमा गर्दछ । यद्यपि राजनैतिक विश्लेषण यो आलेखको अभिस्ट होइन । प्रसंगमा जोडिएको एउटा सानो भावुकता मात्र हो । यो पावर स्टेसन काठमाण्डौंबाट १२ किमी दक्षिणमा पर्दछ । नजिकैका सातमुले र शेषनारायण खोलाका पानीलाई प्रयोग गरि बिद्युत निकालिएको हो । २५० किलो वाटका दुईवटा टर्वाइनहरुबाट ५०० किलोवाट बिजुली निकालिएको हो । यो प्रोजेक्टमा चार वर्ष ९ लाख ५० हजार मान्छेले काम गरेका थिए । यो प्रोजेक्टलाई जनरल पदम शम्शेर जबराले सुपरभिजन र मोनिटरिङ्ग गरेका थिए भने अर्का जनरल मोहन शमशेर र केशव शमशेरले आवश्यक उपकरणको ढुवानी व्यवस्था, लेप्टेनेन्ट देबी बहादुर र सुबेदार हर्ष बहादुरले ओभरहेड ट्रान्समिसन लाइनको निर्माण कार्य गरेका थिए । इन्जिनियरहरु कर्नेल किशोर नरसिंह राना र कर्नेल कुमार नरसिंह रानाले प्रोजेक्टको आयोजना डिजाइन र निर्माणको कार्य गरेका थिए । इलेक्ट्रिकल इन्जिनियर बरनाउ पुवानतेले यो हाइड्रो पावर स्टेसनको निर्माण गरेका थिए । जेनेरल इलेक्ट्रिकलका बेलायती प्रतिनिधि मिस्टर लिंजले उक्त हाइड्रो पावरको जडान र सुसञ्चालन गरेका थिए । इतिहासको एउटा रोमाञ्चक धरोहर बनेको देशको यो एउटा गर्व गर्न लायक सुरुवाती प्रोजेक्ट अहिले सञ्चालनमा छैन् । यसलाई उर्जाको विकास क्रमको ठूलो बिरासत ठानेर म्यूजियममा परिवर्तन गरिएको छ । त्यतिमात्र नभएर यो ठाउंलाई उर्जाको अनुसन्धान र विज्ञानको प्रयोगशालाका रुपमा नमुना पावर स्टेसनका रुपमा उब्याइएको छ । जलस्रोत मात्र नभएर सोलार, वायु, बायोग्यांस लगायतका नवीकरणीय उर्जाकै प्रयोगशालाका रुपमा एउटा सम्मानित उर्जाकै तीर्थस्थलका रुपमा सरकारले उभ्याएको छ । नेपालको इतिहासमा बिजुली बत्ती बलेको त्यो जेठ ९ गतेलाई राष्ट्रिय उर्जा दिवसको रुपमा मनाउंदै आइएको छ ।

देशको यो उर्जाको सुरुवाती प्रवेगलाई नेपालले विगत १०६ वर्षसम्म राम्रोसंग बढाउन हुर्काउन नसक्नु नै देश विकासको एउटा ठूलो अवरोध बन्यो भन्नु किमार्थ गल्ती हुने छैन् । यत्रा वर्षमा खोइ हामीले कटाउन सकेको १ हजार मेघावाट उत्पादन ? हरेक पटक सरकार बदलिएसंगै देशको उर्जा संकट समाधान गर्ने नाममा कति वटा आयोग बने ? कतिपटक यो मुलुकलाई उर्जा संकटकाल घोषणा गरियो ? तिनले उर्जाको विकासमा कस्तो भूमिका खेल्यो इतिहासले कुनै दिन मुल्यांकन गर्ने छ । देश विकासको एउटा मेरुदण्ड उर्जा हो, त्यो नै कमजोर भएपछि कसरी बन्छ देश विकासको ठूलो महल ? भाषण त हामीले धेरै सुन्यौं । दश बर्षमा १० हजार मेघावाट, बीस वर्षमा २० हजार मेघावाट, बिजुलीको छेलो खेलो, जलश्रोतको धनी देश बिजुली बेचेर सम्पन्नताको सगरमाथा चढ्नु चड्यौं । यथार्थमा हामी अझै छिमेकीले दिएको भिक्ष्याटनरुपी लगभग ४०० मेगावाटको बिजुली बांडेर लोडसेडिङ्ग समाप्त पारेको जस लिन ढ्यांग्रो पिटिरहेका छौं । नेपालका एकजना नेताले आफू प्रधानमन्त्री हुंदा हावाबाट बिजुली निकाल्ने कुरा गरे । सबैले ओलीको बोलीलाई हावामै उडांइदिए । ग्यांसको पाइप लाइन जोडेर घर घरमा पुरयाउने सपना सुनाए तर कसैले पत्याएनन् । तिनै नेताका एउटा उर्जा मन्त्री गोकर्ण बिस्टले आफू मन्त्री हुंदा एउटा ठूलो उत्साहका साथ राम्रा कामको थालनी गरे । नेपाल बिद्युत प्राधिकरणको बांकी बक्यौता नतिर्नेका विरुद्ध आफ लाइन काट्दै हिंडे । जनताको आशा भरोसाका महान पात्र बने । राम्रो काम गर्ने ती मन्त्रिलाई अर्को पटक हटाइयो र राधा ज्ञवाली नामकी सजिली पात्रलाई ओलीको छांयाका रुपमा स्थापित गरियो । उनको कार्यक्षमता र उनले गरेका कामबारे हामी सबैलाई थाहा छ । यो देश बनाउने हो भने नेताहरु भाषण होइन हामीलाई गोकर्ण बिस्ट, जनार्दन शर्मा, गगन थापा र नवीन्द्रराज जोशीहरु चाहिन्छन् ।

नेपालीले खोलेको बेलायतको सुके कम्पनीलाई हावाको काम 
गर्ने जिम्मेवारी दिने कामले ती सबै कार्यको एउटा पाटो छर्लंग 
पार्दैन र ? हामी पढे लेखेका मान्छेहरु बेलायतसम्म पनि नेताका गुलामी गर्न छाड्दैनौं । आफ्ना नेताले जे भने पनि, जे गरे पनि चुंइक्क बोल्दैनौं र गल्ती र अब्जस जति अरुलाई पन्छाएर आफू महान दार्शनिक भएको नाटक गर्छौं । तिनै नेतालाई एअरपोर्टदेखि नै भिड जम्मा गरेर खादा र मालाले पुर्छौ । कक्टेल डिनरले टन्न पारेर आफ्नो अभिष्ट पूरा गराउने प्रपन्च मिलाउंछौं । खोइ हामीले सिकेको दसकौं बेलायत बसेर ? नेताहरुलाई विदेशको राम्रो कुरा देखाउं बुझाउं, अन्तरक्रिया गरौं देश बन्ने बनाउने । पार्टीको पुंग न पुच्छरको दलालीले केही गर्दैन । हामी विदेशिनु परेको यिनै नेताहरुको अकर्मण्यताले हो, असक्षमताले हो । यिनलाई कृपया नबोकौं । हामी कछुवाका चालमा हिड्यौं तर संसार रकेट झैं उड्यो । हामी हिजोको इतिहास हेरेर त्यही गतिमा बढ्न सकेनौं । संसार धेरै माथि पुगिसक्यो उर्जाका सम्पूर्ण अवसरहरुलाई उनीहरुले प्रयोग गरे ।

नेपालमा आधुनिक उर्जाको विकास क्रम (१९११ – १९८५)

प्लान्टको नाम श्रोत जडित क्षमता (किलो वाट) कार्य पूरा भएको वर्ष
फर्पिङ्ग जलश्रोत ५०० १९११
सुन्दरीजल जलश्रोत ६०० १९३४
पनौती जलश्रोत २४०० १९६३
तिनाउ जलश्रोत १३०० १९६९
पोखरा जलश्रोत १००० १९६९
त्रिशुली जलश्रोत २१०० १९६९
सुनकोशी जलश्रोत १०,००० १९७०
गण्डक जलश्रोत १५,००० १९७९
कुलेखानी – १ जलश्रोत ६०,००० १९८२
सेती (पोखरा) जलश्रोत १,५०० १९८४
देभघाट जलश्रोत १४, ८०० १९८४
कुल क्षमता १४२,२०० १९८५

श्रोतः नेपाल बिद्युत प्राधिकरण

विगतका कमी कमजोरीहरुबाट सिक्दै देश विकासका लागि नवीकरणीय उर्जाका माध्यमले इनर्जी मिक्सको सत्यलाई चिन्दै नेपालले आफूसंग भएका प्रचुर जलबिद्युत, सौर्य, वायु, बायोग्यांस सबैलाई संसारका विकसित राष्ट्रहरुले अपनाउंदै गरेको अन्तर्राष्ट्रिय ट्रेन्डलाई स्वीकार्दै अगाडि बढ्नु पर्ने देखिन्छ । लघु जलबिद्युत, उन्नत पानी घट्ट, अफ ग्रिड सोलार, वायु, बायोग्यांस सबैलाई राष्ट्रिय आवश्यकताअनुसार आफ्नो इनर्जी मिक्समा मिसाउंदै नेपालले अघि बढे गन्तव्य टाढा छैन् ।

‘हिड्छन् हेर हिंडि रहेर कमिला हज्जार कोशौं पर

पुग्दैनन् न उडी गरुढ पनि त तेइ पांच बित्तै पर’

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक