लन्डन । लन्डनबाट करिब १३३ किमी लामो दुरीमा अवस्थित विश्वप्रसिद्ध साहित्यकार विलियम शेक्सपियरको जन्मस्थल ‘स्ट्राटफोर्ड अपन एभन’ भीडले घेरिन थालिसकेको छ । ब्रिटिस समरमा विश्वभरका पर्यटक ओइरिन्छन् त्यहां । त्यही भीडमा देखिए साझा प्रकाशनका अध्यक्ष तथा महाप्रवन्धक डोलिन्द्रप्रसाद शर्मा । शर्मासंगै थिए अन्तर्राष्ट्रिय नेपाली वाङ्मय प्रतिष्ठान बेलायतका अध्यक्ष विकलचन्द्र आचार्य र महिला श्रष्टा जया राई । शेक्सपियरको जन्मथलो एक चक्कर लगाइ सकेपछि शर्माले भने, ‘यदि इच्छाशक्ति भए नेपालमा पनि मुर्धन्य साहित्यकारहरुको जन्मस्थान र ऐतिहासिक सांस्कृतिक धरोहर संरक्षण गरेर वैभव थप्न सकिन्छ, पर्यटक बढाउन सकिन्छ र समृद्धिमा योगदान दिन सकिन्छ भन्ने लाग्यो ।’
शेक्सपियरको जन्मस्थानबाट केही ऐतिहासिक पत्थर लिएका उनले त्यसलाई साझा प्रकाशन परिसरमा राख्ने बताए ।
सन् १५६४ मा २३ अप्रिलमा जन्मिएर २३ अप्रिल १६१६ मा निधन भएका शेक्सपियरको जन्मस्थान अहिलेसम्म सुरक्षितमात्र छैन्, यो विश्व पर्यटनको एउटा आकर्षक गन्तव्य पनि बनेको छ । विश्व साहित्यका शिखर व्यक्तित्व शेक्सपियरको जन्मघर हेर्न टिकट काउन्टरमा लाम बसेका विदेशी पर्यटकको हुलले दर्शाइरहेको थियो ४ सय वर्ष अघि परलोक भइसकेका शेक्सपियरको लोकप्रियता अहिले झन् बढि छ । शेक्सपियरको इतिहास देखि उनको बस्ने कोठा, भान्छा, सुत्ने कोठा र पलङ, कृति लगायत त्यस बेलाको इतिहास जीवन्त बनाएर राखिएको दृश्यले सबैलाई तानेको छ ।
बाहिर पटांगिनीमा शेक्सपियरको नाटकमा अभिनय गर्ने पात्रहरुले इतिहास स्मरण गराइरहेछन् । हयाम्लेट नाटकका पात्रको भेषमा सजिएका कर्मचारीसंग फोटो खिच्नेको उस्तै भीड छ । प्रत्येक वर्ष करिब दश लाख मानिस यहां घुम्न आउने विश्वास गरिन्छ । शेक्सपियर बर्थ प्लेस ट्रष्टको तथ्यांकमा सन् २०१५ मा ८ लाख २५ हजारले जन्मघर भ्रमण गरेका थिए । यसले स्थानीय अर्थतन्त्रमा वार्षिक ६ सय मिलियन पाउण्ड र ११ हजार रोजगारी दिएको छ ।
जन्मघर अवलोकन, साहित्यिक जमघट होस् वा नयां कृति विमोचन । यही थलो रोजाइमा पर्ने गरेको छ नेपाली साहित्यकारमाझ । बेलायत आउने हरेक साहित्यिक मनहरुलाई शेक्सपियरको जन्मस्थलले तानेकै हुन्छ ।
साहित्य चौतारी यूकेले आफ्नो छैठौं श्रृंखला अन्तर्गत शेक्सपियरको जन्मथलोमा काव्ययात्रा गरेको धेरै बितेको छैन् । गत साता राजदूत डा. दुर्गाबहादुर सुवेदी दूतावास परिवारका साथ त्यहां पुगे ।
नेपालका प्रायः साहित्यकारलाई शेक्सपियरको जन्मथलो घुमाउन जिम्मा लिइरहने विकलचन्द्र आचार्य भन्छन्, ‘कला, साहित्य र संस्कृति संरक्षणमा राज्यको पनि दायित्व छ । शेक्सपियरको जन्मघरले साहित्यिक धरोहर विकास गर्न सके पर्यटकीय दृष्टिकोणले पनि लाभदायक हुन्छ भन्ने उदाहरण दिइरहेको छ ।’
शेक्सपियर जन्मघरको बगैंचा छेउमा भारतका महान साहित्यकार रविन्द्रनाथ टेगोरको मुर्ती देखाउंदै आचार्यले नेपालका महाकवि देवकोटाको मुर्ती पनि यहीं ल्याएर राख्न सके नेपाली साहित्य अझ उचाईंमा पुग्ने विश्वास व्यक्त गरे ।
नेपालमा कुनै पनि साहित्यकारको जन्मघरलाई शेक्सपियरको जस्तो संरक्षण नगरिएको बताउंछिन् ‘भर्जिनिया उल्फ र आंसुका फूल’ कृतिकी लेखिका जया राई । उनले भनिन्, ‘नेपाली साहित्यकारको स्मृतिमा नेपालमा पनि यसरी नै साहित्यिकस्थल विकास गर्न सके पर्यटक आगमन वृद्धि र नेपाली साहित्यले थप उचाईं लिन सक्थ्यो ।’
गोरखा सैनिकहरुले बनाए साझा अजेण्डा
बेलायतलगायत देश र ठूला अन्तर्राष्ट्रिय कम्पनी सम्मिलित लिफ कोलियसन सम्झौतामा नेपालले गर्यो हस्ताक्षर
सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय
गोरखामा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको उम्मेदवारी फिर्ता
कैलाली-१ का रेशम चौधरीको उम्मेदवारी खारेज
अमेरिकामा मौसमी फ्लुको प्रभाव कायमै, अस्पताल भर्ना दुई लाख ३० हजार
नेपाल आदिवासी जनजाति महासङ्घको ११ औँ राष्ट्रिय महाधिवेशन २२ जनवरीदेखि
युरोपेली सङ्घसँग सम्बन्ध सुधार्न बेलायतको लेबर तयार
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पोखराबाट पक्राउ
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन सर्यो, अब १४-१६ मार्चमा हुने [विज्ञप्तिसहित]