स्थानीय तह निर्वाचनमा चौध हजार महिला चुनिने

 

काठमाडौँ, १० चैत । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा नगरपालिका, गाउँपालिका र वडाका विभिन्न पदमा करिब १४ हजार महिला उम्मेदवार निर्वाचित हुने भएका छन् ।

सरकारले मुलुकभर निर्धारण गरेका चार महानगरपालिका, १३ उपमहानगरपालिका, दुई सय ४६ नगरपालिका, चार सय ८१ गाउँपालिका र तिनका कुल छ हजार ६८० वडाका विभिन्न पदका लागि निर्वाचन हुँदैछ । यसअघि प्रजातन्त्र पुनःस्थापनापछि विसं २०४९ र २०५४मा दुई पटक स्थानीय निकायको निर्वाचन भई विसं २०५९मा सो निकाय जनप्रतिनिधिविहीन भएको थियो । करिब २० वर्षपछि हुन लागेको स्थानीय निकायको निर्वाचनको प्रारम्भ भने विसं २०१०मा काठमाडौँ, वीरगन्जलगायत नगरको निर्वाचनबाट सुरु भएको इतिहास छ ।

स्थानीय तह निर्वाचन ऐनानुसार नगरपालिका र गाउँपालिकाका क्रमशः प्रमुख-उपप्रमुख तथा अध्यक्ष-उपाध्यक्षमा राजनीतिक दलले उम्मेदवारी दिँदा एक महिला उम्मेदवार अनिवार्य हुनुपर्ने प्रावधान छ । यसका आधारमा दुई सय ६३ नगरपालिका र चार सय ८१ गाउँपालिकामा प्रमुख÷उपप्रमुख तथा अध्यक्ष-उपाध्यक्षमध्ये एक पदमा महिला निर्वाचित हुने सम्भावना छ ।

त्यसैगरी छ हजार छ सय ८० वडामध्ये प्रतिवडामा चार वडा सदस्यको निर्वाचन हुनेछ । वडाका ती सदस्यमध्ये दुई महिला सदस्य अनिवार्य हुनुपर्ने संवैधानिक व्यवस्था छ । सो व्यवस्थाअनुसार निर्वाचनबाट प्रतिवडामा दुई जनाका दर(छ सय ८० गुणा २) ले १३ हजार तीन सय ६० महिला वडा सदस्य निर्वाचित हुनेछन् ।

सात हजार दलित 

दुई महिला वडा सदस्यमध्ये एक दलित महिला सदस्य अनिवार्य गरिएकाले त्यसमध्ये छ हजार छ सय ८० दलित महिलाको प्रतिनिधित्व हुने निश्चित भएको छ । उम्मेदवारका रुपमा महिला सहभागिता अत्यन्त बढी हुनुपर्ने जनाउँदै आयोगले महिला मतदाता मात्र नभई महिला उम्मेदवारलाई परिलक्षित गरेर विशेष मतदाता शिक्षा कार्यक्रमसमेत ल्याएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

आयोगले स्थानीय तह निर्वाचनमा सात सय ४४ स्थानीय तहका लागि ३६ हजार छ सय ३९ पदमा निर्वाचन गराउने तयारी बढाएको छ । निर्वाचनमा करिब एक करोड ४० लाख मतदाता सङ्ख्या हुने आयोगको अनुमान छ । स्थानीय तह निर्वाचनमा २०७३ फागुन ९ गते १८ वर्ष पूरा भई मतदाता नामावलीमा नाम दर्ता गराएका मतदाताले मात्रै मताधिकार प्रयोग गर्न पाउने छन ।

निर्वाचनबाट ४० प्रतिशतभन्दा बढी महिला निर्वाचित हुने र दलित तथा अल्पङ्ख्यक सहितको समावेशीस्वरूपको स्थानीय सरकार बन्नेछ । स्थानीय तह निर्वाचनमा विसं २०७४ वैशाख ३१ गते आइतबार बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री