बुधबार, कार्तिक ५ २०७७ | Wed, October 21, 2020
नेपालको समय: १०:०७ | UK Time: 05:22

लण्डन आक्रमणमा नेपाली सुरक्षित

वीनेपाली
२०७३ चैत ९ गते २०:२८

तस्वीर बीबीसी

लण्डन । लण्डनको केन्द्र वेष्टमिन्स्टरमा बुधबार अपराह्न भएको आतंककारी घटनामा ५ जनाको मृत्यु भएको छ ।
दिउँसो करिब ३ बजे बेलायतको संसद भवनको गेटमा आतंककारीले कार ठोक्काउनुका साथै धारिलो हतियारले आक्रमण गरेका थिए ।
बीबीसीका अनुसार मृत्यु हुनेहरुमा आक्रमणकारी, एक प्रहरी र बाँकी सर्वसाधारण रहेको जनाइएको छ । जसमध्ये एक महिला पनि छन् । मृतकको नाम हालसम्म खुलाइएको छैन ।
गाडी ठोक्काउनुअघि आक्रमणकारीले वेष्टमिन्स्टर पुलमा पैदल यात्रुहरुमाथि जथाभावी गाडी कुदाउँदै आएको संचारमाध्यमहरुले जनाएका छन् । सो क्रममा आत्तिएर कतिपय थेम्स नदीमा हाम्फालेका थिए ।
प्रहरीले यस घटनालाई आतंकवादी आक्रमण भनेको छ र यसका बारेमा थप अनुसन्धान भइरहेको बताइएको छ ।
करिब ४० जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
सो घटनामा नेपालीहरु परेको हालसम्म जानकारी नभएको लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरनले बताए ।
पर्यटकहरुको घुइँचो लाग्ने र बेलायतको सरकारी अड्डाहरु रहेको अति सम्वेदनशील सो क्षेत्रमा भएको यस घटनापछि लण्डन आतंकित बन्न पुगेको छ । प्रधानमन्त्री थेरेसा मेले विशेष सुरक्षा समितिको बैठकको अध्यक्षता गरिरहेको बताइएको छ भने गृहमन्त्री एम्बर रुढले शान्त र पहरा गर्न आग्रह गरेकी छिन् ।
युरोपमा पटकपटक यस्ता आक्रमण भएपनि बेलायत भने शान्त रहँदै आएको थियो । प्रहरीले दर्जनौँ आक्रमणका प्रयासहरु विफल बनाउँदै आएको बताउँदै आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक