
चितवनको सौराहामा शुक्रबार राती महयात्रामा कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य आफ्नो प्रहसन देखाउँदै । तस्वीर ः नारायण ढुंगाना, रत्ननगर(चितवन), रासस
रत्ननगर (चितवन), २१ फागुन । सौराहाको थारू कल्चर हाउसको स्टेजमाथि सधैँ थारू युवाले मौलिक पोसाकमा परम्परागत नृत्य तथा गीत प्रस्तुत गर्थे ।
स्वदेशी र विदेशी पर्यटक टम्म भरिएका हुन्थे । थारू संस्कृतिमा पर्यटक रमाइरहेका हुन्थे । शुक्रबार राति यहाँ फरक दृश्य देखापरयो । सौरेलीको जमघटले कल्चर हाउस भरियो । नेपथ्यबाट राजाराम पौडेलको उद्घोषसँगै रातो जामा र सुरुवालमा मह (मदनकृष्ण र हरिवंश) जोडी निस्किए । तीखो राजनीतिक व्यङ्ग्य मिसिएको शब्द प्रयोग गरी लोकभाका मै ‘प्रार्थना गीत’मार्फत दर्शकलाई उचाले ।
ईश्वर तिमीले जगत् बनायौँ, चन्द्र बनायाँै, यति सुन्दर देश बनायाँै …
एउटा राम्रो नेता दिनलाई किन तिमीले टाउको कन्यायौँ …
ठाउँठाउँमा प्रस्तुत हुँदै आएको ‘नेवार बहादुर र बाहुन बहादुर’मा मह जोडीले जातीयता विरुद्ध प्रहार गर्दै सामाजिक सद्भाव कायम गर्न एक हुने सन्देश दिए । उनीहरुको शब्दान्तक्षरी कार्यक्रममा शब्द–शब्दबाटै घोचपेच गरिएको थियो भने मुक्तक आफैँमा जातीय विचलन विरुद्धको व्यङ्ग्य बनेको थियो ।
उनीहरुको हाउभाउ, प्रस्तुति, शैली तथा शब्द–शब्दमा सामाजिक चेतना छरिएको थियो । हरेक प्रस्तुतिमा हल खचाखच भएका पाँच सयभन्दा बढी दर्शक पेट मिचिमिची हाँसे । उनीहरुलाई साथ दिएका थिए वरिष्ठ कलाकार नरेन्द्र कंसाकार र हरिवंशका छोरा मोहितवंश आचार्यले । शुक्रबार साँझ करिब ५ बजेदेखि सुरु भएको प्रहसन राति ८ बजे सकिएको थियो ।
‘मह’को अन्तिम प्रस्तुति ‘म–डन’को फोटो स्टुडियो थियो । मदनकृष्ण श्रेष्ठ डन प्रवृत्तिको पात्र भएर उपस्थित भए । कपाल पालेका, कट्टु लगाएका, सर्टको फेरो छाडेका, हेदै डरलाग्दा भएर देखिए ।
जताततै ऋणमा डुबेपछि विदेश जाने तयारीमा रहेका हरिवंश आचार्य फोटो खिच्न स्टुडियो आइपुगे । नेपालमा देखिएको गुन्डा संस्कृतिको तीखो व्यङ्ग्य गरिएको उक्त प्रहसन प्रस्तुतिकै सबैभन्दा चाखलाग्दो र रमाइलो बन्यो ।
एउटा डन (गुन्डा)ले देशमा कस्तोसम्म गर्न सक्छ भन्ने सन्देश दिइएको उक्त प्रहसनमा अन्तत पैसाले मानिसलाई जता लैजान पनि सक्दो रहेछ भन्ने देखाइएको थियो । यहाँ विदेश जान लागेको नेपाली छोरा पैसाकै प्रलोभनमा फस्न पुगेका देखाइएको थियो । उनीहरुका हरेक प्रस्तुतिमा विसङ्गतिविरुद्ध सामाजिक चेतनाको बिम्ब झल्किएको थियो । दर्शक सूर्य अधिकारीले सामाजिक सचेतनाको उत्कृष्ट नमुना भएको बताए ।
बीचबीचमा गीतसङ्गीत र नृत्यले मह प्रहसनलाई थप आकर्षण पारेको थियो । उनीहरुको प्रहसनको थप आकर्षणमा शिवहरि पौडेल, किरण केसी र राजाराम पौडेलले ‘बोडर चेकपोस्ट’मार्फत भारतीयको मिचाइ र हेपाइको दुरुस्तै नक्कल गरेर दर्शकलाई मनोरञ्जन दिएका थिए ।
गायिका माण्डवी त्रिपाठीले महसँगको यात्रा सुवर्णयात्रा भएको प्रतिक्रिया दिइन् । उनले आफ्नो चर्चित गीतहरु ‘ढल्क्यो ढल्क्यो जोवन मेरो’, ‘वैँशको बेलैमा, मातलाग्यो मात लाग्यो,’ ‘यो गाउँकी छोरी’, ‘सिम्पल सिम्पल कान्छीको’ लगायत गाइन् ।
मदनकृष्णका छोरा यमनले ठट््यौली गीत ‘खासखुस खासखुस’ गाए भने कलाकार किरण केसी (राता मकै)ले पुराना चर्चित ‘लौन अब के गरौँ के गरौँ’ तथा ‘तँ त साह्रै नै बिग्रिस् बद्री’ ‘चलचित्रको ‘जेठीलाई आमैले रोजेको’ गीत गाए । बीचबीचमा रुविना अधिकारीको नृत्यले दर्शकलाई भरपुर मनोरञ्जन दियो ।
होटल सङ्घ नेपालको संयोजन र क्षेत्रीय होटल सङ्घ चितवनको सहकार्यमा सौराहाको थारू कल्चर हाउसमा ‘महयात्रा’ अन्तर्गत प्रहसन भएको हो । देशमा १० सहरमा हुने कार्यक्रम चितवनमा सातौँ हो । तीन घन्टासम्म महजोडीसहित नरेन्द्र कंसाकार, किरण केसी, शिवहरि पौडेल, मोहित आचार्य, योमन श्रेष्ठ, राजाराम पौडेल, माण्डवी त्रिपाठी र रुविना अधिकारीले प्रस्तुति दिएका थिए ।
उठेको रकम संरक्षण, छात्रवृत्ति, पुस्तकालय निर्माण, तालिम, व्यवसायीको क्षमता विकासमा खर्च गरिने सङ्घका अध्यक्ष सुमन घिमिरेले बताए ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक