निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी डा. पोखरेललाई

प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित बिदाइ समारोहमा सहभागी हुँदै महानिरीक्षक उपेन्द्रकान्त अर्याललगायत अन्य प्रहरीहरु । तस्बिर ः रत्न श्रेष्ठ, रासस ।

काठमाडौँ, २ फागुन । सरकारले नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक डा दिनेशचन्द्र पोखरेललाई आज निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले डा पोखरेललाई निमित्त प्रहरी महानिरीक्षक बनाएको ऊर्जामन्त्री जनार्दन शर्माले राससलाई जानकारी दिनुभयो । डा पोखरेल प्रहरी अस्पतालका प्रमुख हुनुहुन्छ । महानिरीक्षक नियुक्तिका विषयमा सर्वोच्च अदालतले दिएको आदेश तथा आजै प्रहरी प्रमुख छान्नुपर्ने अवस्थाका कारण सरकारले डा पोखरेललाई सो जिम्मेवारी दिएको हो ।

सरकारले जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक बनाए पनि सर्वोच्च अदालतले उहाँको नियुक्तिको प्रक्रिया तत्काल अगाडि नबढाउन आदेश दिएको छ ।

महानिरीक्षक अर्यालसहित पन्ध्र जना सेवानिवृत्त 

महानिरीक्षक उपेन्द्रकान्त अर्यालसहित नेपाल प्रहरीको माथिल्लो तहको ठूलो जनशक्ति आज एकै पटक सेवानिवृत्त भएको छ । सेवानिवृत्त हुनेमा प्रहरी अतिरिक्त महानिरीक्षक राजेन्द्रसिंह भण्डारी, सुरेन्द्रबहादुर शाह, विज्ञानराज शर्मा, प्रतापसिंह थापा, वीरेन्द्रबाबु श्रेष्ठ, रमेशशेखर वज्राचार्य, केदार साउद, यादव अधिकारी, परशुराम खत्री, विश्वराजसिंह शाही र सुशीलवरसिंह थापा हुनुहुन्छ । त्यस्तै प्रहरी नायब महानिरीक्षक श्यामबहादुर खड्का, रामकुमार खनाल र मनोहरप्रसाद रिमाल पनि आजैदेखि सेवानिवृत्त हुनुभएको छ ।

प्रहरी प्रधान कार्यालयमा आज साँझ आयोजित समारोहमा अवकाश पाउने सबै वरिष्ठ प्रहरी अधिकृतलाई तत्कालीन प्रहरी अतिरिक्त महानिरीक्षक डा दिनेशचन्द्र पोखरेलले मायाको चिनो प्रदान गरेर बिदाइ गर्नुभयो ।

नेपाल प्रहरीमा नोकरी सेवा अवधि ३० वर्ष कायम छ । उहाँहरु सबै विसं २०४३ फागुन ३ गते प्रहरी निरीक्षकमा प्रहरी सङ्गठनमा प्रवेश गर्नुभएको थियो । बिदाइ समारोहलाई सम्बोधन गर्दै सेवानिवृत्त हुन लाग्नुभएका प्रहरी महानिरीक्षक अर्यालले नागरिकको विश्वास नै प्रहरी सङ्गठनको सबैभन्दा ठूलो पुँजी हो भन्ने पक्षलाई हेक्कामा राखेर काम गर्न सकल दर्जालाई निर्देशन दिनुभयो ।

श्री अर्याल विसं २०७० मङ्सिर १ गते नेपाल प्रहरीको महानिरीक्षकमा बढुवा हुनुभएको थियो । उहाँको नेतृत्वमा प्रहरी सङ्गठनले दोस्रो संविधानसभाको निर्वाचन, भूकम्पपछिको खोजी, उद्धार र राहत, १८ आँै सार्क सम्मेलनजस्ता कार्यमा शान्ति सुव्यवस्था कायम गरी सफलतापूर्वक सम्पन्न गरेको थियो ।

तत्कालीन प्रहरी अतिरिक्त महानिरीक्षक डा दिनेशचन्द्र पोखरेलले सेवानिवृत्त हुन लागेको प्रहरी जनशक्तिबाट सङ्गठनको विकासमा पुरयाएको योगदानलाई इतिहासले मूल्याङ्कन गर्ने विश्वास गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री