ओझेल छन् लोक गायक राजु परियार

सात वर्षको उमेरदेखि गीत गाएर नेपाली लोकगीत पारखी माझ ख्याति कमाएका राजु परियार । तस्बिर ः रोशन सापकोटा, रासस

 

काठमाडौँ, २७ माघ । धोका दिनेलाई के भनौँ र खै तिमी हाँस भो मै बाँचौला रोइ । हङकङ मलाया मायाले मै टाढा भएनी चिठी चलाए । लालुपाते नुग्यो भुइँतिर कि लाउँ माया मै तिर कि लाउ उहीतिर, निर नलाउँ दुईतिर ।

यी र यस्तै असङ्ख्य लोकगीत गाएर नेपाली लोकगीत पारखी माझ ख्याति कमाएका राजु परियार अचेल भने साङ्गीतिक संसारमा त्यति सारो देखिदैनन् । विसं २०३७ असार १५ गते लमजुङको गाउँ सहर गाविस–९ मा जन्मेका राजु सात वर्षको उमेरदेखि नै जानेर नजानेर गीत गाउन थालेका हुन् ।

साङ्गीतिक र शिक्षा क्षेत्रका गुरु जीवन घिमिरेको प्रेरणाबाट सात वर्षको उमेरदेखि गीत गाउन थाले । बालककालदेखि कै मोहले साङ्गीतिक क्षेत्रमा होमिएका राजुले पहिलोपटक १९ वर्षको उमेरमा लालिचढेछ भन्ने गीति एल्बमका लागि ‘किसिमकोटमा लालिचढेछ’ भन्ने गीतमा स्वर रेकर्ड गरे ।

उनले आफ्नै रचनाका सय बढी गाएका छन् । हजार बढी अरुका शब्दमा स्वर दिएका छन् । उनी भन्छन्, “मैले कति गीत गाए भन्नेबारेमा अहिले मानिस लगाएर खोजी गरिरहेको छु ।”

उनको गीतले धेरैको मन र मुटु छोएको छ । धेरै प्रशंसक कमाएको पनि छ । धेरैले उनको स्वर र गीत मन पनि पराएका छन् । तर उनी आफैँलाई भने सुनपानीले छर्क मायालु, रुमाल धोको छु, वनमा काँडा छ, मौरी फूलमाथि, दरौँ सिरुबारी, जानेलाई जानदेउ मायाँ, मिर्मिरेको घाम, हङकङ मलाया, धोका दिनेलाई के भनौँ र खै र लमजुङ जाने दाइ जस्ता बढी मनपर्छ ।

झन्डै दुई दशकको गायन क्रियाशीलताले उनलाई केवल प्रशंसक मात्र हैन पुरस्कार पनि दिलाएको छ । पूर्व राष्ट्रपति डा रामवरण यादवको हातबाट प्रवल जनसेवा श्री चौँथो विभूषण, भारतको पुनाबाट प्राप्त डा अम्बेडकर पुरस्कार र नातिकाजी युवा प्रतिभासहित रेडियो, एफएम स्वदेश र विदेशका विभिन्न सङ्घ संस्थामार्फत थुप्रै सम्मान र पुरस्कार पाइसकेका छन् ।

परियार पहिले र अहिलेको गीतमा फरक पाउनुहुन्छ । उनी भन्छन्, “पहिले मौलिक खालको शब्द, गीत र शैली थियो तर अहिले गायनको पूरै ढर्रा परिवर्तन भएका छन्, सायद सर्जक टाठाबाठा भएर हो कि ।”

उनको गीत नेपालकै हिमाल, पहाड र तराईमा मात्र गुञ्जिएको छैन । भारत, चीन, बेलायत, जापान, इजरायल, साउदी अरब, दुवई, कतार, बहराइन, मलेसिया, सिङ्गापुर, हङकङ, कोरिया र युरोपेली मुलुकमा पुगेर गीत गाइसकेका छन् ।

अहिलेसम्मको बुझाइमा लोकभाका गाउने तर लोकगायक बन्न गाह्रो हुने राजुको अनुभव छ । शब्द चयन, गायनप्रतिको समर्पण र निरन्तर साङ्गीतिक अभ्यास बिना साङ्गीतिक क्षेत्रमा टिक्न गाह्रो हुन्छ । अग्रज र गुरुले स्वरमा निखार ल्याउन दिनुभएको निर्देशन र मेरो गीतप्रतिको आफ्नै रुचीले मलाई एउटा सफल गायकका रुपमा उभ्याए जस्तो लाग्छ ।

नयाँ पुस्तालाई मेहनत, परिश्रम र गीतसङ्गीतको मर्मअनुसार प्रतिस्पर्धा गर्नसक्ने गरी यो क्षेत्रमा लाग्न सुझाव दिने उनी आफैँ भने गीत गाएर अझै थोकेका छैनन् । उनको नयाँ लोकगीत छिट्टै बजारमा आउँदैछ । जसको शब्द छ, “बग्यो कालीगण्डकी, बल्लबल्ल दियाँै प्रभु, नयाँ साथी नयाँ जिन्दगी ।”

प्रतिक्रिया

सम्बन्धित सामाग्री